चुनावको मुखमै २ नम्बर प्रदेशमा राजपाका कार्यकर्ताले यसरी गरे हतियार प्रदर्शन !
काठमाडौं । सोमबार हुने स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टी राजपाका उम्मेदवार सतिषकुमार सिंहले हतियार प्रदर्शन गरेका छन् ।

उनले आफूसँग भएका अध्याधुनिक हतियारसहितको तस्बिर चुनावी प्रचार प्रसार चलिरहँदा फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
स्थानीय प्रशासनले चुनावको अवधिभर आफूसँग भएका इजाजत प्राप्त हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको भए पनि त्यसलाई अटेरी गर्दै सिंहले हतियार समेत बुझाएका छैनन् । आफूसँग भएका हतियार प्रशासनमा बुझाउनु पर्नेमा उनले ती हतियार चलाइरहेका तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन् । मतदानको दिन नजिकिँदै गर्दा अध्यक्षका उम्मेदवारले नै हतियारसहितको तस्बिर सार्वजनिक गरेपछि अन्य उम्मेदवार त्रसित बनेका छन् । हतियारसहितको तस्बिर सार्वजनिक गर्ने उम्मेदवार सिंह राजपाका जिल्ला उपाध्यक्ष शेखरकुमार सिंहका छोरा हुन् ।
सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले ३ सय ८० वटा हतियार अनुमति लिएर विभिन्न व्यक्तिले राखेको तर चुनावका बेला बुझाउन प्रशासनले गरेको आग्रह बमोजिम २ थान भरुवा बन्दुक र ५ थान १२ बोरको बन्दुक मात्रै प्रहरी कार्यालयमा बुझाइएको छ । अरु हतियार राख्नेहरुले प्रशासनको निर्देशनलाई अटेरी गर्दै ती हतियार आफैंले राखेका छन् । सप्तरीमा इजाजत प्राप्त नभएका अवैध हतियारसमेत रहेको आशंका छ । प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका अन्तरगतको जिरिया हटियावाट केहि दिअघि मात्र ३ जनालाई हतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका सकरपुराका २४ वर्षे इश्वर मुखिया, महेश मुखिया र उपेन्द्र मुखियाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


