प्रचण्ड आउने चर्चा चलिरहेका बेला थवाङ गाउँपालिका अध्यक्ष वियोगको अपहरण
रोल्पा, ३१ भदौ . नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पाको थवाङ पुगेका छन् । थवाङ गाउँपालिकाको सभामा सहभागी हुने कार्यतालिकासहित त्यता पुग्ने कार्यक्रम रहेपछि गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरण भएपछि गाउँसभा अनिश्चित बनेको छ ।

प्रचण्ड भने रोल्पा र रुकुमका विभिन्न ठाउँमा आयोजना हुने सभामा सहभागी हुनेछन् । प्रचण्ड शनिबार दिउँसो थवाङ पुगेका हुन् । थवाङको गाउँसभामा प्रचण्ड आउने चर्चा चलिरहेका बेला गाउँपालिका अध्यक्ष वियोगको बिहीवार राति अपहरण भएको थियो । वियोगको अपहरण नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष वियोगको खोजीका लागि सुरक्षाकर्मीको उच्चस्तरीय टोली परिचालन गरिए पनि उनको अवस्था सार्वजनिक हुन सकेको छैन । वियोगको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, केन्द्रीय अनुसन्धान विभागको छुट्टा छुट्टै टोली परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।


