रोल्पा पुगेका प्रचण्डले भने,- युद्धकालको ‘जनसरकार’ नै अहिलेको स्थानीय सरकार
रोल्पा, भदौ ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा चलाइएको जनसत्ता नै अहिलेको स्थानीय सरकार भएको बताउनुभएको छ ।

रोल्पाको थबाङमा शनिबार थबाङ गाउँपालिकाको पहिलो गाउँसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । थबाङबाटै जनसरकारको घोषणा गरेर जनसत्ता सञ्चालन गरेको स्मरण गर्दै माओवादी अध्यक्ष प्रचण्डले अहिलेको स्थानीय सरकार पनि जनसरकार नै भएको बताउनुभयो । ‘हिजो पनि हामीले जनसरकार चलाएका थियौं, तर त्यसबेला राष्ट्रिय रुपमा मान्यता पाएको थिएन’ प्रचण्डले भन्नुभयो, ‘अहिले जे बनेको छ यो पनि जनसरकार नै हो ।’ उहाँले माओवादी जनयुद्ध तथा थबाङवासी जनताकै कारण मुलुकले काँचुली फेरेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रोल्पाको विकासमा आफू सदैव प्रतिवद्ध रहेको दोहोर्याउनुभयो । ‘पहिलोपटक प्रधानमन्त्री बन्दा मैले सहिदमार्गको बाटो निर्माणका लागि पहल गरेको हुँ’ प्रचण्डले भन्नुभयोे, ‘थबाङ गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन पहल गर्नेछु ।’ पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुई थबाङ क्षेत्रबाट निर्वाचित प्रचण्डले थबाङमा तटबन्ध निर्माण, १५ शैयाको अस्पताल निर्माण लगायतका कार्यलाई अगाडि बढाउन आफूले पहल गरेको जानकारी दिनुभयो ।
यस्तै पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले माओवादी केन्द्रको पहलकै कारण थबाङ गाउँपालिका बनेको दावी गर्नुभयो । आवश्यक मापदण्ड नपुग्दा पनि संरक्षित गाउँपालिकाको रुपमा खडा गर्नेमा माओवादीकै योगदान रहेको अनन्तले बताउनुभयो । आफ्नै घरदैलोमा आएको अधिकारलाई भरपुर प्रयोग गरेर आर्थिक समृद्धि, राजनीतिक, सामाजिक रुपान्तरणका लागि सबैले हातेमालो गरी अगाडि बढ्न समेत अनन्तले आग्रह गर्नुभयो ।
पहिलो संविधानसभाको निर्वाचन पश्चात दश वर्षपछि बल्ल अहिले प्रचण्ड थबाङ आउनुभएको हो । क्रान्तिलाई धोका दिएको भन्दै थबाङमा प्रचण्डलाई आउन नदिने भन्दै आक्रोसित बनेका नेकपाका नेता कार्यकर्ताहरुले बिहीबार राति थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई अपहरण गरेका थिए । अध्यक्षको अवस्था अज्ञात बनाएपछि थबाङ गाउँपालिकाको प्रथम गाउँसभा अध्यक्षको उपस्थितिविना नै सम्पन्न भएको छ ।
उपाध्यक्ष रामकिरणी रोकामगरको अध्यक्षतामा आयोजित गाउँसभामा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । अपहरित अध्यक्षलाई भने अझैसम्म छोडिएको छैन । उनको खोजीका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने नेकपाका राप्ती इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’लाई शुक्रबार नै प्रहरीले पक्राउ गरेको छ ।
प्रचण्डले विप्लव नेतृत्वको नेकपाले आफ्नै थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई अपहरण गरी कायरता देखाएको आरोप लगाउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले जन्माएको बच्चा भएको भन्दै प्रचण्डले विप्लवलाई प्रश्न गर्दै भन्नुभयो ‘के आफैले जन्माएको बच्चालाई मेरो होइन भन्दै लत्याउने काम राम्रो हो ?’ यसलाई हुर्काउने भन्दा पनि मार्न खोजेर नेकपाले अमानवीय कार्य गरेको उहाँले बताउनुभयो ।
– माधवकुमार ओली/ उज्यालो ।


