भारतीय जनता पार्टीका नेताले बेलायत पुगेर ‘जय नेपाल’को नारा लगाएपछि…

भारतीय जनता पार्टीका पूर्व विदेश विभागप्रमुख एवम् प्रभावशाली नेता विजय जोलीले बेलायतमा आयोजित एक कार्यक्रमको आफ्नो भाषण ‘जय नेपाल’ बाट सुरू गरे।

नेपाल र नेपालीप्रति माया र श्रद्धा रहेको बताउँदै नेपाली माटोलाई शीरमा लगाउने बताए। केही शब्द नेपालीमैं बोल्दै उनले आफू पूर्व जन्ममा शायद नेपालमैं जन्मिएको बताए।

चर्चित नेपाली व्यवसायी अजेयराज सुमार्गी र उनकी पत्नी अस्मिता सुमार्गीका केही कृतिहरूको विमोचन गर्न जोली लण्डन आएका थिए। गत बुधबार नेपालका सांसद, पूर्वमन्त्री, एनआरएन नेताहरू तथा बेलायती भारतीय नेताहरूको व्यापक उपस्थितिबीच एउटा भव्य कार्यक्रममा सुमार्गीले आफ्ना कृतिहरू विमोचन गरेका हुन्।

जोली, बिजेपी या भारतीय सत्ता पक्षले साँच्चिकै नेपाललाई सम्मान र माया गर्छन् या गर्दैनन् त्यो मैले नाप्न सक्ने विषय भएन। यो लेखमा मेरो चासो त्यो होइन। उनी वर्तमान भारतीय सत्तापक्षको नेपाल हेर्ने केही आँखामध्ये एक हुन् भन्ने तथ्य भने धेरैलाई थाहा छ।

एउटा नेपाली मित्रले निम्त्याएको र अधिकांश नेपाली दर्शक उपस्थित कार्यक्रममा जय नेपालको नारा घन्काउनु सामान्य शिष्टाचार र स्वाभाविक कूटनीति हुनुपर्छ। कैयौं पटक जय नेपाल भन्दै गर्दा जोलीको भारत प्रेम कम भएन होला, स्वाभिमान झुकेन होला, लम्पसारिता भएन होला। भारतमा पुत्ला पनि जलाइएन होला। नेपालीहरूको कार्यक्रममा जय नेपालको साटो जय हिन्दको नारा घन्काएर जोलीको भारतप्रेम बढ्ने होइन, न भारतकै जय हुने हो। परिवेश, समय र स्थान हेरेर दिइने यस्ता भावनात्मक मन्तव्यमा प्रायः कसैले राष्ट्रियता खोज्दैनन्। कुनै स्वदेशी या विदेशी भूमि या समुदायको कार्यक्रममा स्थानीय भाषामा भाषण गर्नसक्नुलाई विश्वमा एउटा थप खुबीका रूपमा लिइन्छ।

तर कल्पना गरेँ, जोलीको ठाउँमा ओली हुँदा हुन् र भारतीय दर्शकका अगाडि यस्तै शिष्टाचार प्रकट गर्दै जय हिन्द भन्दा हुन् त हाम्रो प्रतिक्रिया कस्तो हुँदो हो। सिङ्गो प्रतिपक्ष त खनिने नै थियो, आफ्नै दलबाट राजीनामा मागिने थियो। यो देउबा, प्रचण्ड या उपेन्द्र यादव सबैमा लागू हुन्छ। जोलीले झैँ ओलीले भारतीय माटोलाई प्रणाम गर्छु भन्ने हो भने हाम्रो खून उम्लिँदो हो। हाम्रा नेताले छिमेकी देशलाई एउटा राम्रो शब्द प्रयोग गरेर सम्बोधन गर्दा हाम्रो राष्ट्रियता लम्पसार पर्छ।

राजनीति अलग कुरो हो। हरेकले आफ्नो देशको स्वार्थ पहिले हेर्छ नै। दक्ष र सबल नेतृत्व भयो भने त्यसले द्विपक्षीय नेगोसिएशनमा आफ्नो पक्ष माथि पार्न सक्छ। जोलीले त्यस्तो टेबलमा भारतीय स्वार्थकै लागि लड्छन्। उनी आफ्ना जनताबाट त्यसकै लागि अनुमोदित छन्। सकेसम्म भारतीय स्वार्थको पक्षमा दृश्य-अदृश्य रूपमा लाग्नु उनको धर्म हो। उनी नेपालका पक्षमा लड्दैनन्। यसमा कुनै शङ्का छैन। नेपाली पक्षबाट लड्ने नेतृत्व पनि उत्तिकै योग्य, अनुभवी, शिक्षित र आत्मविश्वासी भयो भने बल्ल त्यस्ता नेगोशिएशनमा नेपाली स्वार्थको रक्षा हुने हो। जोलीलाई गाली गरेर होइन, आफूले सक्षम नेतृत्व चुनेर मात्रै राष्ट्रिय स्वार्थको विजय हुने हो। राजनीतिमा भावनाको ठूलो स्थान हुँदैन। तर भारतीय स्वार्थका निम्ति लड्ने नेता अन्य राष्ट्रको मित्र हुन सक्दैन भन्ने हाम्रो गलत बुझाइ छ।

तर कोर राजनैतिक टेबलबाहिर पनि जीवन छ। हामी सधैं टेबलमा बसेर हिसाबकिताब गरिरहेका हुँदैनौं। त्यति बेला हामी छिमेकी हुन्छौं, मित्र हुन्छौं र शुभचिन्तक हुन्छौं। आमभारतीय नागरिकहरू नेपालका दुश्मन हुँदैनन्। तिनलाई हिसाबकिताब बारे ज्ञान, चासो र सूचना हुँदैन। ती असल छिमेकीका रूपमा हामीप्रति सद्भाव र प्रेम राख्छन्। यो म धेरै वर्ष भारत बस्दाको वैयक्तिक अनुभवका आधारमा पनि म यसो भन्न सक्छु। धर्म, संस्कृति, भाषा, भौगोलिक निकटता, ऐतिहासिक सान्निध्य र सम्बन्धजस्ता विविध तत्त्व र योजकले दुबैतिरका नागरिकलाई एकआपसमा जोडेका छन्। जोलीमा पनि एउटा भारतीय नागरिकका रूपमा नेपालप्रति आदर र सम्मान छ। कट्टर हिन्दू भएकाले पशुपतिनाथ र नेपालप्रति सम्मान हुनु स्वाभाविक छ। टेबलबाहिर व्यक्ति भावनामा चल्छ र दुबैतिरका जनता हुन् या नेता, भावनात्मक रूपमा नजिक छन्। मित्र छन्। जोलीले नेपालमा बढ्दो धर्मान्तरणबारे चासो राखेपछि र त्यसलाई रोक्नुपर्ने बताएपछि सभाहलको माहोल केहीबेर बिग्रियो। केहीले यसलाई नेपालमाथि भारतीय हस्तक्षेपका रूपमा समेत व्याख्या गरे। धर्मको कुनै राजनैतिक सीमा नहुने हुनाले एउटा हिन्दूका रूपमा जोलीले नेपाली हिन्दूको अवस्थाबारे बोल्नु हस्तक्षेप होइन। म अमेरिकी हिन्दूबारे बोल्न सक्छु।

भारत र नेपाललाई जोड्ने हजार सूत्रहरू छन्। तोड्ने एउटामात्रै तत्त्व छ र त्यो राजनीति नै हो। राजनैतिक तहमा थुप्रै समस्या छन् र हामी सधैँ थिचिएका छौं। हामीले राजनैतिक स्तरमा आफ्नो स्वार्थका निम्ति लड्नसक्ने नेतृत्व कहिल्यै प्राप्त गरेनौं र जहिल्यै द्विपक्षीय लेनदेनमा हाम्रो स्वार्थ तल पऱ्यो। कमजोरी हाम्रै हो। सामान्य तथ्याङ्क र विषयगत ज्ञान समेत नभएका व्यक्ति द्विपक्षीय वार्तामा सहभागी हुने गरेको तीतो सत्य हामीसँग छ। अन्तर्राष्ट्रिय कानुन, सन्धिसम्झौताहरू र विषयगत दक्षता भएको व्यक्तिले वार्तामा आफ्नो पक्ष तल पर्न शायदै दिँदो हो। बेलायतजस्तो उन्नत राजनैतिक प्रणाली र नेतृत्व भएको देशले समेत ब्रेग्जिटजस्तो द्विपक्षीय या बहुपक्षीय नेगोशिएशनहरूमा आफूसँग पर्याप्त दक्ष जनशक्ति नभएको स्वीकार गर्छ तर हामी सबै कुरोमा आफै निपुण छौं।

राजनैतिक समस्याको उपचार राजनैतिक नै हुनुपर्छ।

मेरो चासो हाम्रो गैरराजनैतिक तहमा समेत विस्तार हुँदै गएको विद्वेष र विषाक्तताप्रति हो। हाम्रा केही प्रबुद्ध राजनैतिक व्यक्तिहरू नै जानअनजानवश जनस्तरमैं सम्बन्ध धमिल्याउन लागेका हुन् कि भन्ने देखिन्छ। हामीमा सामान्य शिष्टाचार र कूटनैतिक मर्यादा पनि हराउँदै गएको छ। एकप्रकारको हीनताबोध यसले विकास गरेको छ। नेपाल र भारतका प्रधानमन्त्री एउटा मन्चमा उभिएर ‘हामी एक हौं’ भ

ने भने हाम्रो लागि त्यो ठूलै राष्ट्रघात हुनेछ। नेपाल भारतलाई बुझाउने सम्झौताका रूपमा हामी त्यसलाई अर्थ्याउनेछौं। यसरी जनस्तरमैं बढ्दो नकारात्मकताले अन्ततः हामीलाई नै कमजोर बनाउनेछ। हाम्रो आत्मविश्वास त घट्नेछ नै जनस्वीकार्यता पनि नहुने भएकाले सक्षम र दक्ष व्यक्तिहरू समेत नेगोसिएशनका निम्ति डराउनेछन्।

जोलीलाई प्रत्यक्ष सुनेपछि मलाई लाग्यो, देशमा यस्तो बलियो र योग्य नेतृत्व चुन्नु जरूरी छ जसले भारतमा हुने कार्यक्रममा हिन्दीमैं भाषण गरेर किन नहोस् भारतीयको मन जितोस् तर द्विपक्षीय राजनैतिक वार्ताहरूमा कड़ा रूपमा राष्ट्रिय स्वार्थका निम्ति लडोस्। उसको राष्ट्रियता चियापसलमा पोखिने खालको नभई टेबलमा चट्टानजस्तै अड़ानयुक्त होस्। उसले साम-दाम-दण्ड-भेद सबै प्रयोग गर्ने क्षमता राखोस् र त्यो रुन्चे बनेर होइन, छाती खोलेर देशका निम्ति लागिपरोस्। सर्प पनि मारोस् र लठ्ठी पनि नभाँचोस् !

– एनआरएन युकेका सचिव नारायण गाउँलेको लेख सेतोपाटीबाट लिइएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।