भारतीय राजदूत मन्जीवसिंह पुरीले भने,- भारतको तीव्र आर्थिक वृद्धिको फाइदा नेपालले लिनसक्नु पर्छ
नेपालगन्ज, १ जेठ । भारतीय राजदूत मन्जीवसिंह पुरीले भारतमा भएको तीव्र आर्थिक वृद्धिदरको फाइदा नेपालले पनि उठाउन सक्नु पर्ने बताएका छन् ।
आइतबार नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेको नेपालगन्जमा आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भारत नेपालको असल छिमेकी भएको नाताले पनि नेपालको विकास र उन्नती भएको हेर्न चाहने मुलुक भएको बताउँदै भने, ‘भारत यतिबेला दुनियाकै सबैभन्दा छिटो बढी आर्थिक वृद्धि गर्न सफल मुलुक भएको छ । यसको फाइदा दुबै देशले उठाउन सक्नु पर्छ । नेपालको विकासमा नै भारतको पनि हित छ ।’
उनले भारतको आर्थिक वृद्धि दर ७ दशमलव ५ प्रतिशत पुगेको बताउदै त्यसको फाइदा नेपालले पनि उठाउन सक्नु पर्ने धारणा राखे ।
भारतले नेपालमा शान्ति, स्थायित्व र विकास हुनुपर्छ भन्ने मुलुक भएकाले पनि शान्ति र स्थायित्वले व्यावसाय र लगानी बृद्धि हुने र दुबैलाई वीन-वीन अर्थात विजयको अवस्था आउन सक्ने धेरै सम्भावना र अवसरहरु भएको दाबी गरे । उनले भने, ‘दुबै साथ-साथ हिँड्न सक्दा दुबैलाई फाइदा हुने धेरै ठाउँहरु छन् ।’
पहिलोपटक नेपालगन्ज आउदा आफूलाई यहाँको सडक सञ्जालमा भएको विकास र भारतमा पनि यस्तैखालको चार लेन सडक सञ्जाल सीमा क्षेत्रमा जोडिदा दुबै मुलुकको व्यापार र व्यवसायमा सहजता हुने र फाइदा दुबैले पाउने उनको दावी छ ।


