नेपाली सेनाले गर्यो करोडौ जनतालाई खुसी पार्ने यस्तो कार्य…

काठमाडौं, करिडोरमा पर्ने गुल्मी खण्डका गौदीगौमती गंगा र पालुङ खोला, बागलुङको जैमुनी नगरपालिकोको जैमुनीघाट र बेलबगरको चौरी खोलामा चारवटा बेलिब्रिज निर्माण भएपछि आठ घण्टाको यात्रा चार घण्टामा छोट्टिएको छ ।

यी पुल नेपाली सेनाले झण्डै १२ करोडको लागतमा निर्माण भएको जनाएको छ । सुनौली र कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक खुलेलगत्तै बीचमा पर्ने खोलामा पुल निर्माण कार्यलाई तीव्रता दिइएको छ । बागलुङकै बेलबगरको लोहाखोलामा पुल जडान बाँकी भएकाले तत्कालका लागि खोला डाइर्भसन गरेर यातायात संचालन गरिएको छ ।

गुल्मी र बागलुङ खण्डका चार पक्की पुलको निर्माणसँगै कालीगण्डकीको यी क्षेत्रमा नियमित यातायात चल्न थालेको नेपाली सेनाका करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराईले बताए । ‘अब बुटवलबाट पाल्पा, पोखराहुँदै बाग्लुङ पुग्न लाग्ने ८ घण्टा छोटिएर बढीमा ४ घण्टामा झरेको छ,’ उनले भने ‘दसैंका सबै यात्रु करिडोर हुँदै ४ घण्टामै सजिलै बागलुङ पुग्न सक्छन् ।’ सेनाले अप्ठ्यारा भीरका चट्टान फुटाउँदै ५ देखि ८ मिटरसम्मको ट्रयाक खोल्ने काम सकेर पुल निर्माणलाई तीब्र पारेको हो ।

करिडोरको गुल्मी–बागलुङ खण्डमा निर्माण गरेका बेलिब्रिज २४ टन भारबहन क्षमताका छन् । पुलको लागत प्रतिपुल ३ करोड रुपैंया छ । २७ देखि ३० मिटरका फलामले मात्र जोडेर निर्माण गरिएका पुललाई नियमित मर्मत गर्न सके ६० वर्षका लागि यातायात सहज हुन्छ । करिडोरको गुल्मी–बागलुङ खण्डको ८५ किमी लम्बाईमा सातवटा पक्की पुल आवश्यक छन् । तत्कालका लागि सेनाले दुइ काठजडित र चार पक्की पुल निर्माण सम्पन्न गरेको छ । बागलुङको बेलबगरको लोहा खोलामा पुल निर्माण बाँकी छ । सडक निर्माण र पुल जडान कार्य सकिएपनि मर्मतका लागि नियमित बजेट नआएकाले यसपटक वर्षामा खसेका केही ठूलो पहिरो मर्मत गर्न समस्या छ ।

४ सय ३५ किमी लम्बाइको करिडोरको पाल्पाको राम्दीदेखि गुल्मीको रिडी खण्डमा ट्रयाक खुलेपनि नियमित यातायात चल्न सकेका छैनन् । करिडोर निर्माणले चीनलाई गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भारतीयको मुक्तिनाथ धामयात्रा सहज र छोटो बनाउने देखिएको छ ।

प्राचिन र धार्मिक महत्वसँगै करिडोर निर्माणले तीन अञ्चल र छ जिल्लाका १० लाख ३० हजार सर्वसाधरणलाई सिधा सडक सञ्जालमा पनि जोड्नेछ । कालीगण्डकी तटीय क्षेत्र हुँदै निर्माण भइरहेकाले कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले महत्व राख्ने करिडोरका योजनाकार राप्रपा नेता भरतबहादुर चन्दले बताए । ‘करिडोर यो क्षेत्रकै आर्थिक सम्बृद्धिको बाटो हो’, उनले भने, ‘कालीगण्डकी तटमा पर्ने बेंसीका कृषियोग्य फाँटको कृषि उत्पादन, जडीबुटी, वनजन्य उत्पादनसागै मुस्ताङको स्याउ र भेडा–च्यांग्रा भारत निकासीमा सहज हुनेछ ।’

करिडोरले गुल्मी, पर्वत र स्याङजाको संगमस्थलमा रहेको एशियाकै ठूलो शीला शालिग्राम, मुक्तिनाथ, कागबेनी, जोमसोम, मुस्ताङको तातोपानी, बागलुङ कालिका, रिडीको ऋषिकेशव, मुलुककै ठूलो जलविद्युत कालीगण्डकी ‘ए’ परियोजनाको जलाशय क्षेत्र, पाल्पाको रानीमहल दरबार, देवघाटजस्ता पर्यटकीय स्थललाई सोझो स्थलमार्गबाट जोडेको छ । हिमालको काखबाट बग्दै आएको कालीगण्डकीको तटीय क्षेत्रको प्राकृतिक सौन्दर्य, झरना र धार्मिक सम्पदा, संस्कृतिक पर्यटनको प्रचार–प्रसार र विकासमा समेत करिडोरले महत्व राख्ने करिडोर सरोकार समितिका प्रवक्ता टिकाराम ढकालले बताए ।

बागलुङको जैमुनी नगरपालिकाका उपमेयर लीला रानाले करिडोरको ट्रयाक खुलेपछि भारतबाट आउने बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाहरु सुनौली नारायणघाट पोखरा हुँदै आउने झन्झटको अन्त्य भएको बताए । ‘अब पाल्पा, गुल्मी हुँदै सजिलै बागलुङ आइपुगिन्छ,’ उनले भने, ‘एक दिन बिताउनुपर्ने यात्रा अब चार घण्टामै छोटियो ।’ यात्रा छोटिनुका साथै यस क्षेत्रको विकास र ब्यापारले बागलुङको बिकट मानिएको दक्षिण क्षेत्रको पुरै सुगम बनेको उनले बताए । – कान्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।