उपत्यकामा विद्युतीय सवारी सञ्चालन गर्न गगन थापाको प्रस्ताव, यस्तो छ सङ्कल्प प्रस्ताव
काठमाडौं । सांसद गगनकुमार थापाले काठमाडौ उपत्यकामा वायू प्रदुषण कम गर्न विद्युतीय सवारी साधन संचालन गर्नुपर्ने विकल्पसहितको संकल्प प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराएका छन् ।
प्रस्तावमा सांसदहरु रामेश्वर फुयाल, दीपक प्रसाद कुईकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन रहेको छ । काठमाडौं उपत्यकाको वायू प्रदुषणको प्रमुख कारणको रुपमा रहेकोकाले पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधनलाई प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने सांसद थापाको प्रस्ताव छ । थापाले “व्यबस्थापिका संसदले आगामी दश बर्षभित्र अर्थात् सन् २०२७ सम्म काठमाडौं उपत्यका र सन् २०३१ सम्म नेपालभर नै पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण सवारी साधनको विक्रि तथा वितरणमा पूर्ण रुपमा रोक लगाई विद्युतिय सवारी साधनको मात्र प्रयोग गर्ने गराउने घोषणा र संकल्प गर्नुपर्ने,” प्रस्ताव गरेका छन् ।
संसदको घोषणा र संकल्प कार्यान्वयनका लागि कार्यतालिका सहितको कार्ययोजना बनाउन र नीतिगत, व्यबस्थापकीय, वित्तिय र संरचनागत व्यवस्था गरि कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ ।
सांसद थापाले विद्युतिय गाडीहरुको प्रयोग बढाउन आवश्यक प्रोत्साहनको लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नुपर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्ने प्रस्ताव गरेका छन् ।
पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधन पुर्णरुपमा रोक नलगाउने बेलासम्मको लागि पेट्रोलियम सवारी साधनको प्रभावकारी जाँच तथा अनुगमन गर्न र मापडदण्ड नपुगेका सावारी साधन बन्द गर्ने संकल्प संसदले गर्नु पर्ने सांसद थापाको जोड छ ।
काठमाडौं उपत्यकाको भौगोलिक अवस्थिति र स्वरुपले गर्दा यसको वायुमण्डलीय अवस्थिति अत्यन्त प्रतिकुल छ । काठमाडौं उपत्यकाको काठमाडौंमा प्रदुषण द्रुततर गतिमा वढिरहेको छ, सन २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले यसलाई ‘जनस्वास्थ्य संकटकाल’को रुपमा लिएको छ । वायुमण्डलीय प्रदुषणमा करिब ६० प्रतिशत हिस्सा गाडीहरूको धुवाँका कारणले भएको देखिन्छ । यो अवस्थालाई तुरुन्तै नरोक्ने हो भने काठमाडौं उपत्यकावासीले झनै अकल्पनीय भयाभहको अवस्थाको सामना गर्नुपर्नेछ । यसको अर्थ हो हामी अहिलेको पुस्ता मात्र होईन आउदो पुस्तालाई समेत अन्धकारतर्फ धकेलिरहेका छौं, प्रस्तावमा भनिएको छ।
यस्तो छ प्रस्ताव


