नरेन्द्र मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना !, के छ मोदीको सन्देशमा ?

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् ।

संविधान जारी भएलगत्तै नेपालमाथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामना दिएको हो । पहिलोपटक भारतीय नेतृत्वले शुभकामना दिएर नेपाल नीति बदलेको सन्देश दिएको छ ।

भारतले संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाउँदा नेपालमा अन्तर्राष्ट्रिय समुदाय विभाजित भएको थियो । ३ असोज २०७२ मा संविधान जारी हुनु दुई दिनअघि भारतीय प्रधानमन्त्री मोदीले विदेशसचिव एस जयशंकरलाई विशेष दूतका रूपमा नेपाल पठाएर संविधान स्थगित गर्न दबाब दिएका थिए । भारतको दबाब अस्वीकार गरी प्रमुख दल कांग्रेस, एमाले र माओवादीको सहमतिमा संविधान जारी भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

भारतको सन्देश ‘अर्थपूर्ण’
भारतको शुभकामना सन्देशलाई नेपाल सरकारले अर्थपूर्ण रूपमा लिएको छ । ‘संविधान दिवसका अवसरमा मित्रराष्ट्र भारतका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीज्यूबाट आएको शुभकामना सन्देशले ठूलो अर्थ राखेको छ, यसलाई हामीले महत्वपूर्ण मानेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले नयाँ पत्रिकासँग भने, ‘दुई देशबीच समझदारी बढिरहेको अर्थमा यसलाई बुझ्नुपर्छ ।’

अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक मामिला जानकार गेजा शर्मा वाग्लेले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशलाई संविधानसभामार्फत नेपालले जारी गरेको संविधानको अनुमोदन र स्वागत गरेको अर्थमा बुझ्नुपर्ने बताए । ‘यसरी स्वागत गरेपछि संविधान जारीसँगै नेपाल र भारतबीच रहेको अविश्वासको मात्र अन्त्य भएको छैन, विकास, स्थिरता र शान्तिका लागि भारतले दिएको शुभकामनाले नेपाल–भारत सम्बन्ध पनि थप प्रगाढ र घनिष्ठ भएको छ,’ वाग्लेले भने ।

मोदीको सन्देशमा के छ ?
भारतका प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई पठाएको सन्देशमा शान्ति, स्थायित्व र विकासको राष्ट्रिय प्रयास प्राप्त गर्ने नेपाली जनताको चाहनालाई समर्थन गर्न भारत दृढ रहेको उल्लेख छ । उनले दुई देशबीच जनस्तरको सम्बन्धद्वारा निर्देशित मित्रता रहेको पनि जनाएका छन् । मोदीले प्रधानमन्त्री देउवाको पछिल्लो भारत भ्रमणले दुई देशबीच सम्बन्ध थप मजबुत भएको तथा बहुआयामिक द्विपक्षीय साझेदारी थप मजबुत पारेको उल्लेख गरेका छन् ।

‘निकटको छिमेकी र मित्रका रूपमा भारत नेपाल सरकार र नेपाली जनताको शान्ति, स्थायित्व र विकास प्राप्तिको राष्ट्रिय प्रयासमा सहयोग गर्न दृढ रहेको म उल्लेख गर्न चाहन्छु,’ मोदीको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय राष्ट्रपति कोविन्दले सन्देशमा नेपाल–भारत सम्बन्ध पुरानो, अद्वितीय र बहुआयामिक रहेको भन्दै आपसी लाभका लागि नयाँ र विविध क्षेत्रमा द्विपक्षीय साझेदारी वृद्धि भएको पनि उल्लेख गरेका छन् । ‘भारत नेपाली जनता र नेपाल सरकारसँग मिलेर दुई देशका जनताको हित प्रवद्र्धन तथा मित्रवत् र निकट सम्बन्ध अभिवृद्धिका लागि काम गर्न प्रतिबद्ध छ,’ राष्ट्रपति कोविन्दले भनेका छन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको बेग्लै सन्देश
चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछियाङले नेपाली समकक्षीहरूलाई बेग्लाबेग्लै सन्देश पठाएर शुभकामना दिएका छन् । ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशमा नेपाल–चीन सम्बन्धको विकासक्रम र दुई देशबीच विभिन्न क्षेत्रमा गहिरिएको साझेदारीसहितको निरन्तरतालाई उच्च महत्व दिइएको उल्लेख छ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, जापानका सम्राट् अकिहितोले राष्ट्रपति भण्डारीलाई पठाएको सन्देशमा नेपाली जनता र सरकारलाई बधाई दिइएको छ । उनले नेपाली जनताको समुन्नति र खुसीका लागि सन्देशमा शुभकामना व्यक्त गरेको पनि परराष्ट्रले जनाएको छ ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गैयुमले शुभकामना पठाउँदै दुई देशबीचको बलियो सम्बन्धले नेपाली जनता र समग्र सार्क क्षेत्र लाभान्वित हुने उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।