२ नम्बर प्रदेशमा भोट गनिरहँदा राजपाले भन्यो,- अझै संविधान मानेका छैनौं
काठमाडौं, असोज ४ । दुई नम्बर प्रदेशमा संविधानअनुसार स्थानीय तह चुनावको मतगणना भइरहँदा राष्ट्रिय जनता पार्टी (राजपा) ले भने अझै संविधान स्वीकार नगरेको बताएको उज्ज्यालो अनलाईनमा खबर छ ।
सोमबार दुई नम्बर प्रदेशमा भएको तेस्रो चरणको स्थानीय तहको चुनावमा आफ्ना उम्मेदवार खडा गरेर मत गणनामा व्यस्त रहे पनि राजपाले संविधान नमानेको जिकिर गरेको हो । नेपालको संविधान घोषणा भएको अवसरमा नेपाल कानुन समाजले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष महन्थ ठाकुरले संविधानले मधेसीमाथि गरेको विभेद अन्त्य नगरेको भन्दै चुनावमा भाग लिए पनि संविधान नमानेको बताउनुभयो ।
ठाकुरले भन्नुभयो, ‘संविधानले मधेसमाथि विभेद गरेको छ । चुनावमा भाग लिए पनि हामीले संविधान मानेका छैनौँ, संघर्ष जारी छ ।’ ठाकुरले राज्यसँग गला मिलाउन खोजे पनि हातसमेत नदिएको गुनासो गर्नुभयो । निकै भावुक रुपमा प्रस्तुत हुनुभएका अध्यक्ष ठाकुरले भन्नुभयो, ‘हाम्रो आवाजलाई कसैले सुनेन । संविधानले पीडाबाहेक केही दिएको छैन । यो संविधान असफल हुन्छ । त्यसको दोष पनि हामीमाथि नै लगाइनेछ ।’
तीन दलको एउटै बोली
तीन दलले भने संविधानको स्वीकार्यता र कार्यान्वयन एक साथ अघि बढेको जनाएका छन् । तीनै दलका शीर्ष नेताले संविधान जारी भएको वर्षमा कार्यान्वय पक्ष सन्तोषजनक रुपमा अघि बढिरहेको निष्कर्ष निकालेका छन् । कार्यक्रममा तीन ठूला दलका नेताहरुले संविधान कार्यान्वयनको अवस्था ठीक ढंगले अघि बढिरहेको जनाएका हुन् । कार्यक्रममा संविधानसभाका तत्कालीन अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनको अवस्था ठीकै ढंगले अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका लागि दलहरुले देखाउनु पर्ने बुद्धि, विवेक र क्षमता देखाइ रहेको बताउनुभयो । तर सत्तापक्षले आफ्नो स्वार्थ हेरेर काम गरिरहेको उहाँको आरोप थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युद्ध स्तरमा काम हुनुपर्ने भए पनि केही विषयमा अलमल भएको स्वीकार गर्नुभयो । उहाँले नेपालको संविधान कार्यान्वयन नभए फेरि पनि देश अनिश्चयतको भुमरीमा फस्ने चेतावनी दिनुभयो । नेता पौडेलले माओवादी अध्यक्ष प्रचण्डले कार्यकारी प्रमुखको पक्षमा व्यक्त गरेको विचारलाई ‘वाइयात’ भन्दै संविधानको अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संविधानको स्वीकार्यता दिन दिनै बढ्दै गएको दाबी गर्नुभयो । पहिलो चरणमा भन्दो दोस्रो चरणमा र दोस्रो चरणमा भन्दा संविधानप्रति असन्तुष्टि बढी देखिएको २ नम्बर प्रदेशमा स्थानीय चुनावमा धेरै मतदाताले भाग लिएकाले स्वीकार्यता बढेको उहाँको भनाइ थियो । पहिलो चरणमा चुनाव भएको ३, ४ र ६ नम्बर प्रदेशमा ७१ प्रतिशत, दोस्रो चरणमा चुनाव भएको १, ५ र ७ नम्बर प्रदेशमा ७३ प्रतिशत र २ नम्बरमा ७७ प्रतिशत मतदान भएको छ ।


