चोरीको सूचना माग्दा एसपीले दिए धम्की !, भने,- म दिन्न जे गर्न सक्नुहुन्छ गर्नुस्

सूचना लुकाउने अधिकृतलाई कार्वाही हुन्छ : प्रहरी प्रवक्ता

सुशील ढुङ्गाना / धनगढी । भारतबाट चोरी गरेर ल्याएको सुन र भारतीय रुपैंयाका बारेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्दले सूचना लुकाएको विषय गम्भीर बन्दै गएको छ ।

घटना भएको करिब चार साता हुनलाग्दा समेत जिल्ला प्रहरी कार्यालयले अधिकारिक सूचना दिन मानेको छैन । विभिन्न स्रोतहरुलाई उधृत गर्दै सञ्चार माध्याममा फरक–फरक ढंगका सूचनाहरु सार्वजनिक भएपनि कैलालीका प्रहरी प्रमुख चन्दले यसको पुष्टि गर्न मान्नुभएको छैन । सुन बरामद र भारतीय रुपैंयाका बारेमा आधिकारिक सूचन माग्दा बुधवार दिउँदो झर्किँदै भन्नुभयो– म सूचना दिन्न जे गर्न सक्नुहुन्छ त्यो गर्नुस भन्दै फोन राख्नुभयो ।

यस अघि पनि सुन र रकम बरामद गरेको सूचना पाएपछि पुष्टि गर्न प्रहरी उपरिक्षक चन्दसंग जानकारी माग्दा समेत आफूलाई केही थाहा नभएको र कुनै ब्यक्ति समेत पक्राउ नगरेको भन्दै सूचना दिन अस्वीकार गर्नुभएको थियो । भारतबाट सामान चोरी गरेको आरोपमा पक्राउ गरेको २५ दिनसम्म पनि आफ्नो माथिल्लो निकायका प्रमुख एसएसपी र डिआजीलाई समेत गुमराहमा राखेको घटना खुल्न आएको छ ।

बैंगलोरको हेब्बाल भन्ने स्थानबाट ठूलो परिमाणमा सुन तथा भारतीय रुपैयाँ चोरी ल्याएको आरोपमा कैलाली प्रहरीले गत भदौ १२ गते कैलाली भन्सारबाट सुन र नगद सहित पक्राउ गरेका जयपृथ्वी नगरपालिका १ भण्डारका ३४ वर्षीय कुमार थापा सहित चार जना अहिले पनि कैलाली प्रहरीको हिरासतमा रहेका छन् । उनीसंगै चैनपुर नगरपालिका ३ रिठापाठाका २० वर्षीय उमेश धामी, मष्टा गाउँपालिका १ जिम्बाडाका ४२ वर्षीय अर्जुन खाती र सोही ठाउँका ३४ वर्षीय पूर्ण थापा प्रहरी हिरासतमै रहेकाछन् ।

स्रोतका अनुसार गौरिफन्टा नाकाबाट पक्राउ गरिएका कुमार थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भदौ २१ गते अर्जुन खाती र पूर्ण थापालाई नेपालगञ्जको एक होटलबाट र भदौ २९ गते उमेश धामीलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासनमा राखिएको छ । उनीहरुको साथबाट प्रहरीले पाँच किलो सुन र दुई करोड भारतीय रुपैयाँ बरामाद गरेको भन्ने घटनाबारे बुझ्न कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्दलाई गत शनिबार (भदौ ३१ गते) फोन गर्दा अहिलेसम्म त्यस्तो प्रकारको कुनै घटना नभएको जवाफ दिएका थिए । उनले भने “अहिले सम्म न त कतैबाट सुन समातिएको छ, न त कोही मान्छे नै समातिएका छन् । यदी तपाईलाई त्यस्तो लाग्छ भने आफ्नो किसिमले समाचार लेख्नुहोस किन प्रहरीलाई सोधीराख्नु प¥यो ?” यसै घटनाको पछिल्लो अवस्था बारे बुझ्न बुधबार फेरि एसपी चन्दसंग बुझ्न खोज्दा “तपाईलाई सूचना नै दिन्न, जे गर्न सक्नुहुन्छ गर्नुहोस्” भन्दै धम्कीपूर्ण शब्द प्रयोग गरेका छन् । पक्राउ परेकाहरुका आफन्तहरुले समेत प्रहरीले बरामद गरेको सुन र नगद सबै सार्वजनिक नगरेको बताउदै आएका छन् ।

उता सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दानसिंह बोहराले सुन तथा भारतीय रुपैयाँ बरामद सम्बन्धी घटनाको सूचना तत्काल सार्वजनिक गर्न कैलालीका प्रहरी प्रमुख चन्दलाई लिखित निर्देशन नै दिएको बताउनुभएको छ । । पत्रकारहरुबाट सूचना नपाएको गुनासो आउने विक्तिकै उक्त घटनाको जेजस्तो अवस्था छ तत्काल सूचना सार्वजनिक गर्न भन्दै निर्देशन दिएको उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जुनियर प्रहरी अधिकृतले एसपी चन्दले यो घटना सिधै माथिल्लो स्तरबाट हेरीएको भन्न लगाएको बताउँनुभयो । उता काठमाण्डौमा रहेको नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले कैलालीमा सुन र भारतीय रुपैयाँ बरामदको घटना बारे कुनै जानकारी नै नभएको बताएको छ । नेपाल प्रहरी अपराध अनुसन्धान विभाग काठमाण्डौका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बमबहादुर भण्डारीले कैलालीमा सुन र भारतीय रुपैयाँ बारमद गरिएको घटना बारे आफुलाई थाहा नभएको र अपराध अनुसन्धन विभागबाट उक्त व्यक्ति तथा सामाग्री समात्न कोही नगएको बताउनु भयो ।

यस्तै नेपाल प्रहरीको विशेष ब्युरोले समेत कैलालीको घटना बारे जानकारी नभएको बताएको छ । विशेष ब्युरोले देशका विभिन्न स्थानहरुमा हुने गरेका ठूला ठूला अपराधिक घटनाहरु मात्र हेर्ने भएकोले उक्त घटना बारे जानकारी नभएको नेपाल प्रहरी विशेष ब्युरो काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्त पालले बताउनुभयो । यस्तै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) मनोज न्यौपानेले कुनै पनि जिम्मेवार प्रहरी अधिकृतले सूचना लुकाउनु गलत रहेको बताउनु भएको छ । कुनै कारण सञ्चार माध्यम मार्फत आम नागरिकलाई सूचना दिन नमिल्ने अवस्था हो भने पनि के कारणले दिन नमिल्लने हो, स्पष्ट कारण दिनु पर्ने उहाँले बताउनु भयो । साथै कुनै जिम्मेवार प्रहरी अधिकृतले आफ्नो व्यक्तिगत कारण, नजायज फाईदा उठाउन वा कुनै अन्य कारण सूचना नदिएमा कारबाहीको सिफारीस गरिने बताउनुभयो ।

पक्राउ परेकाहरुका आफन्त र उनीहरुका नजिका साथीहरुले पाँच कलिो सुन र दुई करोड भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको दावी गर्दै आएका छन् । कैलाली प्रहरी सूचना लुकाएको सञ्चारमाध्यामा सार्वजनिक भएपछि तथा माथिल्लो निकायबाट तत्काल सूचना सार्वजनिक गर्न निर्देशन आए पश्चात केही सुनचाँदीका तयारी गरगहना, चाँदीका सिक्का, सुनका बाला, औठी, सिक्री, मंगलसुत्र लगायतका तयारी गरगहना रहेको बरामद गरेका भन्दै सार्वजनिक गरेको छ । बरामद गरिएका सुनचाँदीका गरगहनाको तौल ८ सय ४० ग्राम मात्र रहेको र उनीहरुको साथबाट ९९ हजार ५ सय नेपाली रुपैयाँ र १ थान सामसुङको ल्यापटम रहेको कैलाली प्रहरीले केही सञ्चार माध्याममा सार्वजनिक गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖