चुनाव हारे पछि राजपा कार्यकर्ताले दुई बालबालिकाको हातखुट्टा भाँचिदिए
सिरहा । आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले एमाले समर्थकको घर घरमा पसेर कुटपिट गर्दा ४ बालिकासहित ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा २० वर्षीय रुखसाना खातुन, ४४ वर्षीया अमाना खातुन, १८ वर्षीया साहाना खातुन, ३५ वर्षीया नुरजा खातुन, १२ वर्षीया मैमुना खातुन र १० वर्षीया आलिया खातुन रहेका छन् । घाइतेहरुमध्ये ११ वर्षीय साहिदको खुट्टा भाँच्चिएको छ भने १२ वर्षीया सैनाद खातुनको हात भाँच्चिएको छ । घाइतेहरुको गोलवजार र मिर्चैयास्थित क्लिनिकमा उपचार भइरहेको छ ।
नरहा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमा एमालेले जितेपछि शुक्रबार दिउँसो एमालेले विजय जुलुश निकालेको थियो । वडा नंं ३ खोरिया गाउँको मुस्लिम बस्तीमा एमालेको विजय र्याली घुमेर फर्किनासाथ गाउँमा राजपा कार्यकर्ता जाइ लागेका थिए ।
राजपाका पराजित मेयरका उम्मेदवार रामनारायण यादवको आदेशमा राजपाका कार्यकर्ताहरुले घर घरमा पसेर सूर्यमा किन भोट हालिस भन्दै कुटेको घाइते अमाना खातुनले बताइन् । ‘हामी त घरमा बसिरहेका थियौँ, एक्कासी भाटा बोकेर आएका राजपाका कार्यकर्ताहरुले धमाधम कुट्न थाले’, खातुनले भनिन् । घाइतेहरुले परिवारको सुरक्षाका लागि गुहार लगाएका छन् । उनीहरुले अझै पनि आक्रमण हुने डर रहेको बताएका छन् ।

– अर्जुन थपलिया / जनतासमाचारबाट ।


