गोरखामा बाबुराम र नारायणकाजीको भिडन्त !, बाबुरामले गरे यस्तो घोषणा…

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला गोरखाका पत्रकारहरुसँग आज भट्टराईले आफ्नो घर गोरखा २ मा पर्ने तथा सो क्षेत्रमा चुनाव लड्दा समग्र गोरखा जिल्लाकै प्रतिनिधित्व हुने भएकोले त्यहाँबाट उम्मेदवारी दिने बताए।

गोरखा २ नम्बर क्षेत्रमा विकासका कामहरु गरेकाले त्यहाँका जनताले आफूलाई विजयी गराउने विश्वास पनि उनले व्यक्त गरे।

भट्टराईको घर गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित बेलवास हो। भट्टराई ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा गोरखा २ बाटै निर्वाचन लडेर ४६ हजार भोटसहित विजयी भएका थिए। दोस्रो संविधानसभा निर्वाचन ०७० मा हितराज पाण्डेलाई सो क्षेत्र छाडेर भट्टराई गोरखा १ बाट निर्वाचन उठेर संविधानसभा सदस्य भए। भट्टराईले गोरखा क्षेत्र नं. १ विकासको मार्गचित्र बनाएको भएपनि कार्यान्वयन गर्न सकेका थिएनन्। बीचैमा सांसद पद त्यागेकाले सो क्षेत्रलाई टुहुरो बनाएको गोरखा १ का बासिन्दाले आरोप पनि लगाउँदै आएका छन् ।

भट्टराई दश वर्षपछि पुनः गोरखा २ बाट निर्वाचन लड्दैछन्। माओवादी परित्याग गरेको र स्थानीय तह निर्वाचनमा नयाँ शक्तिको उपस्थिति कमजोर रहेको धरातलमा टेकेर कसरी निर्वाचत जितिन्छ? भन्ने प्रश्नमा भट्टराईले पत्रकारहरुसंग भने, ‘म अर्थमन्त्री, प्रधानमन्त्री र हिसिलाजी भौतिक योजना मन्त्री हुँदा दरौंदीमा पुल निर्माण गर्नेदेखि सडक स्तरोन्नति र नयाँ ट्रयाक खोल्नेलगायत विकास निर्माणका थुप्रै काम भए। यो पटक चुनाव जिताएर फेरि जनताले अवसर दिनुभयो भने आर्थिक विकास र समृद्धिको बाटोमा जिल्ला र समग्र देशलाई लैजान्छु।’

गोरखा २ बाट नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई निर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेको छ। नयाँ शक्तिको तुलनामा माओवादीको संगठन राम्रो भएपनि श्रेष्ठकै पक्षमा मत आउँछ भन्न सक्ने स्थिति छैन। किनभने गत स्थानीय निर्वाचनमा श्रेष्ठ एक महिनासम्म खटेको सिरानचोक गाउँपालिकामा कांग्रेसले निर्वाचन जितेको छ। पूर्वसहकर्मी नारायणकाजी श्रेष्ठ निर्वाचनमा लड्दैछन् कसले चुनाव जित्छ? भन्ने प्रश्नमा भट्टराईले भने, ‘राम्रो प्रतिस्पर्धी निर्वाचनमा लड्यो भने थप ऊर्जा प्राप्त हुनेछ भन्ने विश्वास छ।’

केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुरामलाई हराउन निर्देशन दिएको प्रसंग निकाल्दै भट्टराईले भने, ‘बाबुराम भट्टराई कोही, कसैको नराम्रो होस् भन्ने चाहँदैन। बाबुराम हार्ने कुरा गर्दैन, बाबुरामले जित्छ। बाबुरामले हराउने भनेको गरिबीको समस्यालाई हो।’ प्रचण्डले माक्र्सवादलाई लात हान्ने बाबुरामविरुद्ध सच्चा माक्र्सवादी उम्मेदवार बनाउने बताएका थिए।

भट्टराईले संविधान अपुरो रहेको बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको व्यवस्था माओवादीले पनि अंगाल्दै आएकोमा प्रचण्डलाई धन्यवाद दिएका छन्। उनले भने, ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्छ। प्रचण्डजीले पनि प्रत्यक्ष कार्यकारी प्रमुखको एजेण्डा लिनुभएको रहेछ तर कहिलेसम्म हो? लिनुहुन्छ, छाड्नुहुन्छ उहाँको केही भर छैन।’ गोरखा १ लगायत अन्य जिल्लामा क–कसलाई निर्वाचनमा उमेद्वार बनाउने असोज २० गतेसम्म पार्टीले टुंगो लगाउने उनले बताए। – नेपालखबर बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।