सभामुख ओनसरीले निर्लज्जताको हद पार गरिन, निरंकुश शैलीमा कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियोसहित)

सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा अा अाफ्नो मन्तव्य राखे।

दोस्रो बैठक सुरु भएको १ घन्टा २५ मिनेटसम्म सांसदहरुले विधेयकमाथि आ-आफ्नो राय प्रस्तुत गरे। बोल्ने अधिकांश सांसदहरुले देवानी संहिता विधेयक बौद्धिकता र अनुभवहरुबाट हाँसिल निचोडहरुको दस्तावेज भएको भन्दै प्रशंसा गरे। सांसदहरुको बोल्ने क्रम सकिएपछि सभामुख घर्तीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन समय दिइन्। उनले करिब ६ मिनेटमा आफ्नो जवाफ सक्काउँदै भने, ‘देवानी संहिता एउटा अन्तरार्ष्ट्रिय स्तरको कानुन हुनेछ।’ उनले विधेयक पारित गरिदिन आग्रह गर्छन्।

मन्त्रीको जवाफ सकिएपछि सभामुखले भनिन्, ‘अब म देवानी कार्यविधि संहिता विधेयक २०७१ का सम्बन्धमा विधायन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ४३६ देखि पूरक प्रतिवेदनको क्रम संख्या १ देखि १२ सम्म उल्लिखित संशोधनहरुलाई निर्णार्थ प्रस्तुत गर्दछु।’ टाउको तल हेरेर पढ्दै बोलिरहेकी उनले टाउको ठाडो पारेर हलतर्फ हेरिन्। त्यहाँ बायाँ कुना एक जना सांसद हात उठाएर केही भन्न खोजिरहेका हुन्छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा गणपूरक संख्या नपुगेकाले यस्तो अवस्थामा विधेयक पारित हुन सक्दैन भनिरहेका थिए।

‘के भो माननीय सदस्य?’, सभामुखले भनिन्।

‘विधेयक निर्णयार्थ प्रस्तुत गर्नु अगाडि गणपूरक संख्या यकिन गर्न आग्रह गर्दछु’, उनले जवाफ दिए।

विधेयकमाथिको छलफल सुरु भएको करिब एक घन्टा ३० मिनेटमा सुवालले गणपूरक संख्यामा शंका जनाउँछन्। त्यतिबेला संसदको हल लगभग खाली नै हुन्छ। अझ सत्ता पक्षको कुर्सीमा पातलो संख्यामा मात्र सांसद उपस्थित हुन्छन्।

सांसद सुवालको माग बमोजिम सभामुख ओनसारी घर्तीले संविधानको धारा ९४ अनुसार तीन मिनेटसम्म घन्टी बजाएर सांसदहरुको उपस्थिति संख्या गणना गर्न आदेश दिन्छिन्। लगातार तीन मिनेटको घन्टी सुनेर बाहिर भएका केही सांसदहरु भित्र फर्किन्छन्। अन्तिम परिणाम अाउँछ संसद हलमा १५१ जना सांसद छन्। यो तथ्यांक त्यतिबेलाको हो जतिबेला संसदको दोस्रो बैठक सुरु भएको एक घन्टा ३५ मिनेट बितेको हुन्छ। गणपूरक संख्या १४८ हुनुपर्नेमा १५१ जना देखिएपछि सभामुखले मुलुकी देवानी संहिता विधेयक २०७४ निर्णयार्थ सदनमा पेश गर्छिन्। करिब ७ मिनेटमा विधेयक बहुमतले पारित हुन्छ।

त्यसपछि उनले विधेयकका दफामा छलफलका लागि आह्वान गर्छिन्। यही बेला केही सांसदहरु हल छोडेर बाहिर निस्किन थाल्छन्। त्यो दृश्य सभामुखले पनि देखिरहेकी हुन्छिन्। दोस्रो बैठक सञ्चालन भएको एक घन्टा ५५ मिनेटसम्म दुई दर्जनभन्दा बढी सांसद संसदको हल छोडेर बाहिर जान्छन्। विधेयक पारितकै क्रममा सभामुखले देवानी कार्यविधि संहिता २०७१ विधयान समितिको प्रतिवेदन क्रम संख्या १ देखि १८२ सम्म र पूरक प्रतिवेदनको क्रम संख्या १ देखि १० सम्म संशोधनहरुलाई निर्णार्थ प्रस्तुत गर्छिन्। दोस्रो बैठकको १ घन्टा ५८ मिनेटमा बितेको हुन्छ भने सांसद गणना गरेको २८ मिनेट बितेको हुन्छ।

सो समयमा संसदको हलमा सांसदहरुको उपस्थिति संख्या जम्मा १२१ मात्र हुन्छ। संसदले गणपूरक संख्या (१४८) गुमाएको थाहा पाएका नेमकिपाका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा मगरले सो अलोकतान्त्रिक पद्धति रोक्न प्रयास गर्छन्। उनीहरु केही बोल्न खोज्छन् तर सभामुख ओनसारी घर्ती त्यसलाई बेवास्ता गर्दै निरंकुश रुपमा संसद बैठक अगाडि बढाउँछिन्। र गणपूरक संख्या गुमाएको संसद बैठकले ती संशोधनहरुलाई पारित भएको घोषणा गर्छिन्। जानी-जानी संसदमा गणपूरक संख्या नभएको अवस्थामा सभामुखले विधेयक पारित गराएको नेपालको इतिहासमा यो पहिलो घटना हो। हेर्नुहोस् भिडियो 

– नागरिकन्युजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖