बृहत बाम एकताले दिल्लीमा छट्पटी, मोदी नआउन्जेल पर्खन सन्देश बाँड्दै अमरेशकुमार सिंह !
मोदीको नेपाल भ्रमण प्रभावित हुन सक्ने
काठमाडौं । नेकपा एमाले र माओवादीबीच चुनावी सहकार्य हुँदै पार्टी एकतासम्मको समझदारी बनेको देखिएपछि दिल्लीमा तनाव बढेको छ । बृहत बाम एकता र त्यसमा बाबुराम भट्टराई तथा उपेन्द्र यादव समेत मिसिने भएपछि नेपालमा आफ्ना प्रमुख विश्वास पात्र शेरबहादुर देउवा एक्लिन सक्ने त्रास दिल्लीमा देखिएको हो ।

हिजै मात्र राजपाबाट विद्रोह गरी नेता हृदयेश त्रिपाठी लगायत ५ जनाले एमालेको सूर्य चिन्ह लिएर एमाले कमजोर भएको भनिएका क्षेत्रमा चुनाव लड्ने सहमति भएको छ । यसले पनि दिल्लीको तनाव बढाएको हो । आगामी चुनावमा कांग्रेस, माओवादी र राजपाको गठबन्धन बनाएर एमाले र खासगरी त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याउने योजना यसअघि नै भारतीय सरकारी सञ्चार माध्यम राज्यसभा टेलिभिजनले सार्वजनिक गरेको थियो । नेपालमा केपी ओली फेरि प्रधानमन्त्री भए त्यो दिल्लीका लागि ‘डिजाष्टर’ हुने समेत उसले वताएको थियो ।
नेपालमा बामपन्थी र देशभक्त गठबन्धनको समझदारी बाहिर नआउँदै दिल्लीले त्यसलाई रोक्न आफ्ना दूत खटाएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका मुख्य सहयोगी एवं वर्तमान सत्ता गठबन्धनका सुत्राधार समेत रहनु भएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भारतीय विदेश मन्त्रालयस्थित रिसर्च एण्ड एनालिसिस विङ(रअ)का प्रमुख अनीलकुमार धस्मानाले सोमबार लामो परामर्श गर्नुभएको बुझिएको छ । उहाँहरुबीच भारतीय विदेश मन्त्रालयमै वार्ता भएको हो भन्ने प्रश्नको जवाफमा दिल्लीस्थित समाचार स्रोतले चक्रपथ डटकमसँग भन्यो– ‘भेट भए नभएको किन चाहियो ? वार्ता जहाँ पनि हुन सक्छ ।’ रअका प्रमुखलाई भारतीय विदेश मन्त्रालयमा अनुसन्धान सचिव भनिए पनि उहाँको दर्जा अन्य सचिव भन्दा माथि हुन्छ र उहाँ सिधै प्रधानमन्त्री कार्यालयबाट सञ्चालित हुने ब्यवस्था छ । धस्माना र उपाध्याय बीचको कुराकानी भारतीय प्रधानमन्त्री मोदीको सम्भावित नेपाल भ्रमणका बारेमा भएको अनुमान गरिए पनि उक्त भेटकै पृष्ठभूमिमा काठमाडौंस्थित भारतीय दूतावासका रअ स्टेशन म्यानेजरले प्र्रधानमन्त्री देउवासँग सोमबारै कुरा गर्नु र त्यसपछि लगत्तै देउवा–दाहाल वार्ता हुनुले बाम गठबन्धन रोक्ने प्रयास सुरु भएको जनाउ दिएको छ ।
कांग्रेस भित्र भारतीय विश्वासपात्र मानिएका अमरेश सिंह समेत अहिले बालुवाटार र लाजिम्पाट आउजाउ गरिरहनु भएको छ । सिंह लगायत विभिन्न च्यानल मार्फत माओवादी नेताहरुलाई भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणसम्म हतार नगर्न सुझाव दिइएको बुझिएको छ । यसको अर्थ गठबन्धन रोक्न नसके समय लिने र रात लम्याउँदै अग्राख पलाउने रणनीति दिल्लीले लिएको हुनजान्छ । सम्भवतः आज भोलि नै नेपाली राजदूत उपाध्याय दिल्लीबाट काठमाडौं आउनुहुनेछ । एमाले र माओवादीबीच आज भोलि नै सहमति नभएमा उपाध्यायले ल्याउने सन्देशलाई माओवादी नेताहरुले पर्खिएको सन्देश जानेछ । दिल्ली कुनै पनि मुल्यमा केपी ओलीलाई रोक्न नै चाहन्छ र उसको त्यो नीतिमा अहिलेसम्म परिवर्तन आएको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले भारतीय नाकाबन्दीको सामना गर्दै चीनसँग पारवहन लगायतका दीर्घकालीन सम्झौता गरेपछि भारतीय अग्रसरतामै कांग्रेस माओवादीबीच गठबन्धन बनेको थियो । यस कुराको पुष्टि भारतीय संस्थापन निकट सञ्चार माध्यमहरुले गरिसकेका छन् ।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मात्र होइन, बृहत बाम एकताकै तयारीमा माओवादीले साथ दिएपछि गठबन्धन गर्दा भएको गल्ती माओवादीले सच्याउन चाहेको देखिएको छ । यसको प्रतिफल स्वरुप देउवा–दाहाल गठबन्धनका योजनाकारहरु दिल्लीमा छटपटाउन थालेका हुन् । चक्रपथबाट


