कांग्रेसले ठूलो झट्का खेप्न तयार भएर बसे हुन्छ : प्रकाश कोइराला

आफ्नो एजेण्डा छोडेर माओवादीका पछि लाग्दा पार्टी सकियो

कांग्रेस संस्थापक नेता बीपी कोइरालाका ज्येष्ठपुत्र प्रकाश कोइराला कांग्रेस राजनीतिका वास्तविक उत्तराधिकारी भए पनि राजनीतिमा सक्रिय हुनुहुन्न । कांग्रेसले माओवादीसँग नजिक हुने नीति लिएदेखि नै पार्टीसँग असन्तुष्ट रहंदै आउनु भएका कोइराला संघीयता र गणतन्त्रको मुद्दा छोडेर राजतन्त्र र हिन्दु राज्यको मुद्दामा नफर्केसम्म पार्टीले पुनर्जीवन पाउन नसक्ने दावी गर्नुहुन्छ । कांग्रेस राजनीतिबारे कोइरालासँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः
नेपालमा कांगे्रस राजनीतिको इपिसेन्टर बनेको कोइराला परिवारको वरिष्ठ ब्यक्तित्व तपाईं अचेल राजनीतिमा निश्क्रिय देखिनुहुन्छ किन ?
मुल कुरा के हो भने २०६२–२०६३ सालमा जुन आन्दोलन भयो, त्यसले जे जे बढारेर गयो र जे जे लिएर आयो, म त्यो सबैको बिपक्षमा थिएँ । बामेहरुसँगको साँठगाँठ हुनुहुँदैन भन्ने मेरो धारण थियो । कांग्रेसजस्तो राजा र हिन्दु राज्य भन्ने दल, जव गणतन्त्र भन्दै मान्छे मारेर आएकाहरुको पछि लाग्यो त्यस बिन्दुपछि म निश्क्रिय भएको हुँ । त्यसले कांग्रेसलाई घाटा पुर्याउने कारणहरु पेश गर्दै म बाहिरिएको हुँ । आज त्यहि कुरा प्रमाणित भइरहेको छ ।

२०६३ पछि देशमा जनताले लेखेको संविधान बनेको छ । जनजनमा सचेतना आएको छ । स्थानीय तहको चुनाव भएको छ । जनताले चुनेका प्रतिनिधिहरु राज्यको प्रमुख पदमा हुनुहुन्छ । तपाईं भन्नुहुन्छ २०६२–०६३ को आन्दोलनले सबै बिग्रियो । यस्तो भन्न मिल्ला र ?
यो संघीयताले देशलाई माथि होइन दिन प्रतिदिन उँधोतिर लगिरहेका छ । के सोच्नु भएको छ, के यो संघीयता थेग्न सक्छ मुलुकले ? यति सानो मुलुकलाई यति बिघ्न टुक्रामा बाँड्नु नै गलत छ । अनि ९० प्रतिशत हिन्दुहरुको बसोवास भएको देशमा धर्म निरपेक्षता सुहाउने कुरा हो त्यो ? राजा राख्ने नराख्ने निर्णय पनि  गलत तरिकाले भएको थियो । अहिले राष्ट्रियताको धरोहर राजा थिए भन्ने प्रमाणित भएन र ? अनि १० बर्ष भइसक्यो खोइन त तपाईंको यो गणतन्त्रले परिर्वतन ल्याएको देशमा ? यसले त जनतामा विभाजन पो बढायो झन् । अनि तपाईं यसैलाई राम्रो भन्दै हुनुहुन्छ ?

कहिले आफ्ना एजेण्डा सबै गुमाएर माओबादीसँग पल्लो छेउ गएर मिल्छ कहिले होइन संघीयता हुन्न भने झैं पनि गर्छ । मुलुकको यति लामो इतिहास बोकेर आएको कांग्रेस किन यति अस्थिर ?
पहिलो त १० बर्ष देखि देश नै अस्थिर छ । त्यहिँको एउटा पार्टी अस्थिर नहुने कुरा भएन । १० बर्षको यो अवधीमा कुन सरकार एक बर्ष भन्दा बढी टिकेको छ ? नौ महिना नपुग्दै सरकार परिर्वतन भएका छन् । बल्ल तल्ल १० बर्षमा एउटा संविधान ल्याएका छन् । त्यसले पनि देशमा राम्रो गर्ने संकेत देखिएको छैन । मैले पहिले नै मुलुक अस्थिरतामा जान्छ भनेको थिएँ, अहिले प्रमाणित भएन त ? अहिलेसम्म जे जे बिग्रिएको छ त्यो सबै कांग्रेसले आफ्नो एजेण्डा छोडेर हो । त्यो सबै कांग्रेस अस्थिर भएर हो ।

कांग्रेसले आफ्नो नीति छोड्यो भन्ने कुरा गर्नुभयो । स्वतन्त्र न्यायलयमा हस्तक्षेप गर्ने, आफ्नो निजी स्वार्थ अनुरुप प्रहरी प्रमुख नियुक्त गर्न जेसुकै पनि गर्ने ठाउँमा त कांग्रेसलाई कसैले लगेको होइन, आफैं पुगेको हो नि ?
कांग्रेसले जहिले देखि आफ्नो नीति सिद्धान्त छोडेर अर्काको सिद्धान्त अंगाल्यो, त्यहि बेलादेखि कांग्रेस सकियो । कांग्रेसलाई अहिलेको हालतमा पुर्याउने काम गिरिजाबाबुकै पालादेखि सुरु भयो । बामेको लयमा कांग्रेसलाई गिरिजाबाबुले नै लैजानुभयो । त्यसपछि आफ्ना नीति सिद्धान्त एकातिर थन्क्याएर बामेकै साँठगाँठमा पुग्यो कांग्रेस । त्यहाँबाटै कांग्रेस सकिंदै आयो । अहिले त कुरै नगरौं,  स–सानो स्वार्थमा पार्टीका नीति छोडिदिन्छन् । देशको मायाले भन्दा पनि पार्टीमा आफू बनिरहन र त्यो भन्दा पनि सानो स्वार्थका कारण संगठनका नीति नियमहरु त्यागिन्छन् । त्यसैले कांग्रेस सकियो ।

आफ्ना एजेण्डामा काग्रेस काहाँ कहाँ चुक्यो ?
एउटा दुईटाको कुरा नगर्नुस् । पटक पटक चुकेको छ कांग्रेस । माओवादी जस्तो कम्युनिस्टमा पनि अतिवादी कम्युनिस्टसँग साँठगाँठ गर्नु नै कांग्रेस पहिलो पछारिनु हो । त्यसले कांग्रेसलाई बहुत ठूलो धक्का लाग्यो । त्यसपछि पनि गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जस्ता अनेक विषयमा उनीहरुसँग मिलेर कांग्रेस चुक्यो । त्यति मात्र होइन, अहिले आएर पनि सरकारमा जाने नाममा त्यहि अतिवादीसँग सरकारमा जानु नै गलत थियो । त्यस्ता धेरै कुरा छन्, कांग्रेसले आफ्नो धार नै विर्सिएर विपरित धारकोसँग घाँटी जोडेर आफूलाई कांग्रेस हुनबाट बञ्चित गराएको छ ।

स्थानीय तहको चुनावमा पनि दोस्रो भयो, के अब कांग्रेस साँच्चै नउठ्नेगरी ओरालो लागेको हो ?
हो, म तपाईंलाई यहि भन्न खोज्दै थिएँ । हेर्नोस् त हिजोको ७० प्रतिशत ओगटेको कांग्रेस कहाँ आइपुग्यो ? ७० प्रतिशतमा कांग्रेस हुँदा बाँकी ३० मा मात्र नेपालको कम्युनिस्ट शक्ति थिए । तर आज एमाले मात्र ६० प्रतिशतमा आयो । अझ सबै कम्युनिस्ट एक ठाउँमा ल्याएर जोड्ने हो भने कांग्रेसको हाल के हुन्छ ? यो सबै कांग्रेसले आफ्नो नीति छोडेर भएको हो ।

समयले ल्याएको एउटा ऐतिहासिक परिवर्तनमा कांग्रेस आउन जरुरी पनि थियो नि होइन र ? कांग्रेस चाहिँ एकातिर हिंडिरहेको छ । तर तपाईं केहि नेताहरु त्यसको विपक्षमा किन रहनु भएको ?
तपाईं नै भनिदिनुस् न । यो देशले १० बर्ष र त्यत्रो खर्चिंदा बल्ल संबिधान ल्यायौं भनेर घोक्रिएका छन् । तर के त्यो संघीयताले देशलाई राम्रो गरेको छ ? सबै जनता खुसी छन् ? जवरजस्ती धर्मनिरपेक्षता बनाइयो । सबै बेखुसी छन् । अनि तपाईं कसरी भन्नुहुन्छ त्यो ऐतिहासिक थियो भनेर । यसले राजनैतिक स्थिरता ल्याउनै सक्दैन । अनि देशको यो अबस्था ल्याउने यो बाटोमा हामी लाग्न सक्दैनौं हेर्नुहोला कांग्रेस मात्र हैन सबै पार्टी पछाडि फर्कने दिन आउनेछ यस्ता निर्णयबाट ।

हिजोसम्म माओवादीसँग सरकार र चुनावमा गठबन्धन बनाएको कांग्रेसले अहिले एमाले र माओवादी मिल्दा अधिनायकवादमा मुलुक जान्छ भन्न सुहाउला र ?
म त्यहि त भन्दै छु । कांग्रेसले बोल्ने कुरा नै केही बाँकी भएन । मैले हिजैदेखि यहि भन्दै आएको हो कि माओवादीसँग  कांग्रेस नजिकिनु हुँदैन । कांग्रेस र माओवादीको नीति र सिद्धान्तमा आकाश जमिनको फरक छ । हिजो माओवादीसँग मिलेर गर्न हुने नहुने सबै गरिसकेपछि कांग्रेसले एमाले र माओवादी मिले अव अधिनायकवाद आउँछ भन्न पाउँछ ? कुन मुखले भन्नु ?

माओवादी र हाम्रो एजेण्डा नै फरक हुँदा हुँदै कसरी एक ठाउँमा हुन सकिन्छ ? त्यसले जनतालाई के दिन सक्छ ? के दियो ? त्यसमा सोझै स्वार्थ बाहेक केहि देखिंदैन । गलत नीतिको सहारा लिएपछि एक न एक दिन सकिन्छ नि । अहिले हेर्नुस् त कांग्रेसको हालत । कांग्रेसले माओवादीलाई छोड्नु पर्ने, माओवादीले पो छोडेर गयो । कांग्रेस माओवादीले हामीलाई छोड्यो भनेर दुःख मनाउ गरिरहेको छ । कांग्रेस काहाँ पुगेछ त अब ? यो अवस्था आउन नदिन हिजै देखि नै कांग्रेस आफ्ना एजेण्डामा उभिनु पथ्र्यो । अब पनि नेतृत्व नसुध्रिए कांग्रेस सकिन्छ । तर अब कसरी हिंड्छ कांग्रेस हेर्नु जरुरी छ ।

पार्टीको नेतृत्वलाई तपाईंका सुझव के छन् ?
कांग्रेस यस्तो निरिह भइसक्यो कि अहिले माओवादीलाई नेपाली कांग्रेसले छोड्नु पर्ने थियो, तर माओवादीले छोडेर गयो, हेर्नुस् त ।  कांग्रेस आफ्नो नीतिबाट बिमुख नभएको थियो भने यस्तो परिस्थिति आउँदैनथ्यो । म नेतृत्वलाई के भन्छु भने अब त यी कुराको मुल्याङकन गर्नुस् । अव त आत्मसमीक्षा गर्नुस् । आफ्ना एजेण्डामा आउनुस् । यो रवैया नछोड्ने हो भने आज दोस्रो भएको कांग्रेस भोलि बिलय हुने ठाउँमा पुग्छ ।

तपाईंले कम्युनिस्टलाई मात्रै धेरै दोष दिनुभयो तर, अहिलेसम्म सबैभन्दा धेरै पटक कांग्रेस बहुमत सहित सरकारमा बस्यो । कांग्रेसले जनताको लागि या देशको लागि कति काम गर्यो भन्न सक्नुहुन्छ ?
धेरै पटक सरकारमा गएर पनि जनतालाई कांग्रेसले जति कसैले गर्न सक्दैन भन्ने बनाउन नसक्नु नै त कांग्रेसको असफलता हो । कांग्रेसले केही दिन सकेन र त आज सबैभन्दा ठूलो दल एमाले बन्यो । अव झन् सबै कम्युनिस्ट एक ठाउँमा आउँदा त कांग्रेस झन् खुम्चिएर कहाँ पुग्ला ? कांग्रेसले अब पनि यहि रबैया लियो भने त कुन ठाउँमा खुम्चिने हो भन्ने छ । तर, कांग्रेसले मात्र केही गरेन भन्न त मिल्दैन होला कि । देशमा केही भएन भने यहाँका हरेक दलको काँधमा हुन्छ त्यो जिम्मा, न कि कांग्रेसको मात्र ।

कोइराला परिवारबाट नेतृत्व बाहिरिएपछि पार्टी सकियो भन्नेहरु पनि छन्, के त्यस्तै भएको हो कांग्रेसमा ?
कस्तो कुरा गर्नुहुन्छ तपाईं ? गिरिजा कोइराला होइनन् र ? तर उनैका पालादेखि हो नि कांग्रेस सिध्याउने अध्याय सुरु भएको । उनैले हो नि माओवादीसगँ साँठगाँठ गरेर कांग्रेसलाई यहाँसम्म ल्याएको । अनि अहिले पनि छन् नि कांग्रेसमा कांग्रेसमा कोइराला । शेखर कोइराला, सुजता कोइराला, शशांक कोइराला छैनन् ? यो भन्दा अघि सुशील कोइराला थिएनन् ? सुशील कोइराला प्रधानमन्त्री नै थिए नि ।  कोइरालाको हातबाट पार्टी कहिँ गएको छैन । तर, साँचो अर्थमा भन्दा कांग्रेस नेतृत्व असफल भएको पुष्टि हो यो । त्यसमा कोइराला पनि सम्बन्धित छन् । कुरा यति हो, पार्टीले समीक्षामा नजाने हो र बाटो परिर्वतन नगर्ने हो भने अर्को चुनावमा फेरि ठूलो झट्का खेप्न तयार भएर बसेहुन्छ कांग्रेसले । चक्रपथबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।