थोरै लगानीमा ललिपप उद्योग खोलेर घर-व्यवहार धान्दै महिला

इलाम । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् ।

जिल्लाको पशुपतिनगर, सूर्याेदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन् ।

इलाम ललिपप उद्योग दर्ता गरेर विगत पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भन्नुभयो, “दुई–चार पैसा कमाउनबाहिर जानु पर्दैन्, सीप र जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ ।”

उद्योगमा काम गर्ने सातजना महिलालाई मासिक रु सात हजारसम्म तलब दिएर पनि दुर्गाकुमारीले मासिक रु ४० हजारदेखि रु ४५ हजार आम्दानी गर्ने गरेको बताउनुभयो ।

अधिकांश महिलाले बिहानको घरधन्दा सिध्याएर ललिपप उद्योगमा काम गर्न आउने गरेको दुर्गाकुमारीले बताउनुभयो । “म आफ्नो काम भ्याएर पनि बजार व्यवस्थापनमा साथ दिने गर्छु,” दुर्गाकुमारीका श्रीमान चन्द्र राईले भन्नुभयो, “इलाम, फिक्कल र कुटीडाँडा हाम्रो मुख्य बजार हो । टाढा पठाउन सम्भव छैन ।”

थोरै सामान पठाउँदा फाइदा नहुने र धेरै सामान पठाउँदा एकै पटक बिक्री नहुने भएकाले टाढाको बजार विस्तार गर्न नसकिएको राई बताउनुहुन्छ । उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट ललिपप बनाउन स्वीकृती लिइएको छ ।

दम्पती राईको सो उद्योग उद्योगीमाझ प्रतिस्पर्धी र उत्कृष्ट छ । पूर्वाञ्चलमा भएको खाद्यवस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो स्थान हासिल गरेको उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेशिन अनुदानमा उपलब्ध गराएको छ । रु ९० हजार पर्ने उक्त मेशिन ल्याएपछि तयारी ललिपपलाई प्याकेजिङ गर्न सजिलो भएको राईले बताउँनुभयो ।

यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पनि ‘प्याक्ट’ परियोजनाअन्र्तगत रु चार लाख ४५ हजार अनुदान सहयोग गरेको छ । ललिपप बनाउने आधुनिक मेशिन खरिदका लागि प्याक्टले सहयोग गरेको छ ।

पाँच वर्षअघि खुलेको कोसेली ललिपप उद्योगमा मुना आचार्य स्थापनाकालदेखि नै काम गर्दै आउनुभएको छ । सरकारी विद्यालयमा पढिरहेका छोराछोरीलाई ललिपप उद्योगमा कमाएको पैसाले निजी विद्यालयमा अध्ययन गराउने सुरमा उहाँ हुनुहुन्छ । सो उद्योगमा सातजना महिलाले रोजगारी पाएका छन् ।

इलाममा सहकारी संस्था खोलेर ललिपप उद्योग स्थापना गर्ने क्रम बढेको छ । सहकारी संस्थामार्फत स्थापना भएका ललिपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा बढी महिलालाई रोजगारी प्रदान गरेका छन् । एक दर्जनको सङ्ख्यामा रहेका उद्योगमा विपन्न महिलाले रोजगारी पाएका छन् ।

सहकारिताको माध्यमबाट स्थापना भएको पञ्चकन्याको उद्योगले दुई दर्जन महिलालाई रोजगारी दिएको छ । तीन वर्षअघि स्थापना भएको जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा दुई महिला कर्मचारीसहित १६ जना महिलालाई रोजगारी प्रदान गरेको छ । उद्योगमा रोजगार पाएका महिलाले मासिक रु चार हजारदेखि रु पाँच हजारसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउनुहुन्छ ।

जनहित सहकारी संस्थामा काम गर्ने कतिपय कामदार स्थानीय करफोक विद्यामन्दिरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै आएका छन् । बिहान क्याम्पसको कक्षा लिएर दिउँसो संस्थामा काम गर्न जाने गरेको स्थानीयवासी भेषराज आचार्यले बताउनुभयो । उत्पादित ललिपप धरान, दमक, विराटनगर र काठमाडौँ बिक्रीका लागि पठाउने गरिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।