निर्वाचित पद्मा अर्याल भन्छिन,- राज्यशक्तिको दुरुपयोग गर्नेलाई जित्नु चुनौतीपूर्ण थियो

स्याङजा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पद्मा अर्याल एमाले केन्द्रीय सदस्य हुन् । देउवा सरकारका शक्तिसाली उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले निरन्तर जित्दै आएको क्षेत्रमा यसपटक अर्यालले श्रेष्ठलाई पराजित गरिन् । एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बन्न सफल पद्मा प्रदेश नं चारमा एकमात्र महिला सांसद हुन् ।

कांग्रेसले लामो समय एकछत्र जितेको ठाउँमा हस्ती ठानिएका गोपालमान श्रेष्ठलाई तपाईंले हराउनु भयो । आफ्नो जीतको कारण के ठान्नुहुन्छ ?
पहिलो कारण ३५ वर्षदेखि म भूगोलको राजनीति गरेर बसेँ । बहुदलीय ब्यवस्था स्थापना देखि नै हरेक खालका आन्दोलन र यहाँको स्थानीय विकासको काम मैले यहिँ बसेर नेतृत्व गरेँ । जुन कुरा स्याङजालीहरुले देखेका थिए । अर्को कुरा म पदमा हुँदा होस् या पदमा नहुँदा, यस ठाउँको विकासका लागि र सभ्य समाज बनाउने काममा लागिरहेँ । अर्काेतिर मसँग प्रतिस्पर्धा गर्नु भएका गोपालमान श्रेष्ठ सरकारमा शक्तिसाली हैसियतमा हुनुहुन्थ्यो । तर, उहाँ अत्यन्तै विवादित पात्र हुनुहुन्थ्यो । उहाँ २० वर्षसम्म त्यहाँका जनताले भोट दिएर पनि कुनै उपलब्धी दिन नसक्नु भएको नेता, म, ग्रासरुटबाट हुर्केर आएकी कलंक नालागेकी मान्छे । उहाँ उमेर ढल्केपछि पनि फेरि त्यहि पदका लागि मैदानमा हुनुहुन्थ्यो, म समाजका लागि केही गरौं भनेर आएकी । अर्काेतिर यतिखेर देशको हित गर्ने हो भने एमालेलाई चुन्नु पर्ने राष्ट्रब्यापी लहर चलेको थियो । मुलुकको समृद्धिका लागि एमालेलाई जनताले भोट नदिनु पर्ने कारणै थिएन । त्यसैले मैले जितेँ ।

गोपालमान जस्तो नेतासँग चुनावमा जितेर आउनु भयो, चुनौती चाहिँ के के थिए ?
एउटा कुरा के हो भने हाम्रो समाजमा भोटर्सको बुझाई त्यति माथि छैन कि आर्थिक र त्यस्तै खालका प्रलोभनमा नचुकोस् । तर मेरो क्षेत्रमा उठ्ने बहालवाला उपप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको अघि म बिहानको छाक घरमा खाएर बेलुकको छाक घरमै खान आइपुग्नेलाई कति गाह्रो भयो होला आफैं विचार गर्नुस् ।
उनीहरु यति निर्लज्ज ढंगले आउलान् भन्ने सोचेको थिइन । बहालवाला उपप्रधानमन्त्री भएर आचासहिंताको त धज्जी नै उडाउनुभयो । युवाहरुलाई बिटाका बिटा पैसा फ्याँकियो । सबै प्रशसन उहाँसित थियो । आचार संहिता उल्लंघन गर्दा उजुरी दियो, उजुरी नै नलाग्ने । मेरो उजुरी कसले सुनिदिने ? यस्ता अनेक चुनौति खेपियो चुनावमा । उहाँका लागि यहाँको प्रशासन सिंगै लाग्यो । मलाई हराउन कर्मचारी सबै लागे तर पनि हराउन सकेनन् । तपाईंले देख्नु नै भयो, बुथ बुथ कब्जा गरे, आक्रमणमा उत्रिए, अनेक शक्ति लगाए । तर जनताको मतको शक्तिको अघि त्यो पैसा पावर केहिले पनि काम गरेन ।

तपाईंले जीत निकालेर इतिहास रच्नुभयो, तपाईंका अवका काम के हुनेछन् स्याङ्जा विकासको लागि ?
अहिले जितेपछि मात्र होइन, यस क्षेत्रको विकास कसरी हुन्छ भनेर म हिजैदेखि समृद्ध स्याङजा बनाउन लागेकी मान्छे हुँ । अब त झन् जिम्मेवारी थपिएको छ । स्याङजालाई कसरी अगाडि बढाउन सकिन्छ भनेर खाका तयार गरेका छौं । म त्यहि अनुसार अघि बढ्छु । म प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राज्यका नीति निर्माणसँगै यस क्षेत्रको विकासको लागि लाग्नेछु । नेपाल र भातसँग भोलि राज्यले रेल्वे र सडकले सञ्जालले जोड्दा स्याङजामै त्यो मार्ग पर्छ । यसले समृद्ध स्याङजा बनाउन त्रिदेशीय करीडर बिकास गरेर अघि बढ्न सहयोग गर्छ । यो क्षेत्र भनेको जलस्रोत, कृषि र पर्यटनको प्रचुर संभावना रहेको क्षेत्र हो । त्यसैले यसैलाई आधार बनाएर एउटा समृद्ध स्याङजा बनाउनेछु । जहाँ युवा रोजगार हुनेछन्, महिला तालिमप्राप्त र आत्मनिर्भर हुनेछन्, शिक्षा र स्वाथ्य सेवा सुलभ भएको स्याङजा बन्नेछ ।

थोरै महिला प्रतिनिधिसभामा प्रतिस्पर्धामा थिए । त्यसमा पनि अझ थोरैले मात्र जिते । तपाईंले कांग्रेसका हस्ती मध्येकै एकजनालाई हराउँदै शानदार जीत निकाल्नु भो । तपाईंको जीतले के सन्देश दिन्छ ?
पहिलो कुरा त सत्ता, शक्ति र पैसा एकातिर भए पनि जनताको मनमा कोही छ भने उसको जीत निश्चित छ । मेरो जीत पनि यस्तै सन्देश हो । अर्को कुरा हाम्रो सोसाइटीले महिलालाई कमजोर रुपमा हेर्छ । चुनाव लड्नै सक्दैनन् भन्थे । पार्टी पनि महिलालाई टिकट नै दिन तयार नहुने । तर यो जितले पैसा, शक्ति र सत्तासँग पनि महिलाले लडेर जित्न सक्छन् भन्ने प्रमाणित गर्यो । त्यसैले महिलालाई जुन ठाँउमा उठाए पनि जित्न सक्ने हिम्मत राख्छन् भन्ने भन्देश हो यो जीत ।

– अर्यालको चुनावी सफलताबारे बिनु पोखरेलले गरेको कुराकानी चक्रपथ डटकम बाट साभार गरिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।