के हो सकुसल सुतेको मान्छे बिहान मृत भेटिने समस्या ? कस्ता मान्छेलाई यस्तो हुनसक्छ ? के छ यसबाट बच्ने उपाय ?
आजकाल सकुसल सुतेका मानिस मृत भेटिने खबर धेरै सुन्न र पढ्न पाइन्छ । आखिर के हो त यो समस्या ?
चिकित्सकका अनुसार यस्तो अवस्था आउने धेरै कारण मध्ये श्वासप्रश्वास मुख्य हो । यसलाई चिकित्सकीय भाषामा अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम भन्ने गरिन्छ । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमकै कारण पनि सकुसल सुतेका धेरै व्यक्ति मृत भेटिने गरेको चिकित्सकको भनाइ छ ।
सुतेको बेला ठूलो आवाजसहित लगातार घुर्नु, समय–समयमा श्वास रोकिएको महसुस हुनु, निन्द्रामा छटपटिनु, निस्सासिनु, श्वास फेर्न जोड गर्नुपर्ने अवस्था आउनु र पटक–पटक शौचालय जानुपर्ने अवस्था आउनु पनि यसका लक्षण हुन ।
सुत्नेक्रममा श्वास्प्रश्वासमा अवरोध आउने वा श्वासनली ‘कोल्याप्स’ हुने र जसले गर्दा शरीरका अन्य भागमा अक्सिजन जाने प्रक्रियामा अवरोध आउँदा मानिसको मृत्यु हुने चिकित्सक बताउँछन् । अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोमका कारण हृदयघात र पक्षघात पनि हुन्सक्ने चिकित्सकहरु बताउँछन् ।
कस्ता मान्छेलाई हुनसक्छ ?
१ मोटोपना भएका
२ धूम्रपान र मद्यपान गर्ने
३ घाँटीको लम्बाइ छोटो भएका
४ नमिलेका दाँत र तलको चिउँडो सानो भएका
५ मुटु र किड्नीका बिरामी
अब्स्ट्रक्टिभ स्लिप एप्नियाबाट बच्ने उपाय
१. तौल सन्तुलित राख्ने
२. नियमित व्यायम गर्ने
३. सुत्ने कोठामा टिभि नराख्ने
४. सुत्ने र उठ्ने सन्ुलित तालिका बनाउने
५. खाना खाने बित्तिक्कै नसुत्ने
६. सुत्नुभन्दा तीन घन्टा अघि खाना खाने
७. उत्तानो परेर नसुत्ने
८. देब्रे र दाहिने कोल्टे परेर सुत्ने
८. धुम्रपान र मद्यपान नगर्ने
अब्स्ट्रक्टिभ स्लिप एप्निया भएनभएको पत्ता लगाउँन एप्निया हाइपोनिया इन्डेक्स– एएचआई जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा श्वासनली कति पटक कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ । उल्लेखीत समस्या भएकाहरुले समयमै एएचआई जाँच गराउँनु पर्ने चिकित्सकहरु सुझाव दिन्छन् । – रिया भण्डारी / न्यूज२४ ।


