पहिचान र धनकुटाको कोसेली बन्दै धनकुटाको विस्कुट !

धनकुटा खबर । खाजाको समयमा चियामा चोबेर खान होस या कोसेली लैजान । धनकुटे नरिवल विस्कुट धनकुटाको एक पहिचान बनेको छ । घरेलु प्रबिधीबाट बनाईएका स्थानीय उत्पादन मिठो भएकाले धनकुटे विस्कुटको नाम सुन्ने वित्तिकै सवैको मुखमा पानी रसाउने गर्छ ।

चिया पसल देखि ठुला होटलमा धनकुटे विस्कुटको प्रयोग बढेको छ । कार्यक्रम आयोजना गर्नेहरु र सहभागी हुनेहरुले नै माग गर्ने भएकाले चिया संग धनकुटे विस्कुट दिने गरेको होटल सुरभीका सञ्चालक दीपक श्रेष्ठले बताए ।

त्यसो त धनकुटो विस्कुट धनकुटाकै कोसेली बनेको छ । आफन्त भेटघाटमा जानेहरुले र धनकुटा धुम्न आउने पर्यटकहरुले यो विस्कुट धेरै किन्ने गरेका छन् ।

ठुला कम्पनीमा उत्पादन हुने विस्कुटले राम्रो छु भनेर विज्ञापन गर्छ । तर धनकुटे विस्कुटको कुनै प्रचार छैन । तर पनि राम्रो बजार पाईरहेको अनुभव धनकुटामा जागिरे जीवन विताईरहेका विराटनगरका निलेस श्रेष्ठले बताए ।

हरेक हप्ता विदामा घर जाँदा उद्योगमै पुगेर विस्कुट किनेर लैजाने गरेको उनले बताए । कोसेली लैजानेहरुले बजारमा किन्न नपाए उद्योगमै आएर किन्ने गरेका छन् ।

मोहन विस्कुट उद्योगका प्रोपाईटर मोहन श्रेष्ठको भनाईमा बजारमा दैनिक विक्रीको लागि पठाउने विस्कुट संगै घरमै पनि राम्रो विक्री हुने गरेको छ । सिमित स्रोत र साधानबाट उत्पादन भईरहेकाले वजारको माग अनुसार माग अनुसारको विस्कुट आपुर्ति गर्न समेत उद्योगहरुलाई धौधौ पर्छ । आज उत्पादन ग¥यो आजै सकिन्छ । उत्पादित विस्कुट एकदिन पनि वासी नरहने श्रेष्ठले बताए ।

राम्रो बजार संगै नाम र दाम कमाउन थाले पछि धनकुटे विस्कुट उत्पादन तर्फ यहाँका उद्यमीहरुको आर्कषण वढ्दै गएको छ । धनकुटाको पहिचान वन्दै गएको धनकुटे नरिवल विस्कुट धनकुटाको मौलिक उत्पादन हो ।

वजारको अभाव नहुनु, धेरै लगानी गर्न नपर्ने र कामदार समेत अन्यत्रवाट ल्याउन नपर्ने भएका कारण पनि विस्कुट उद्योगतर्फ धेरैको आर्कषण वढेको हो ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख उद्योग अधिकृत सुरेन्द्रवहादुर थापामगरको भनाईमा धनकुटे विस्कुट उत्पादकहरुले अहिले सम्म वजार पाईएन भनेर गुनासो नगरेको बताए ।

अन्य उद्योगहरुले बजार खोजी दिनु प¥यो भन्दै कार्यालयमा अनुरोध गर्छन । तर यहाँको मौलिक उत्पादन र लोकप्रिय भएका कारण विस्कुटको वजार राम्रो भएको उनको ठम्याई छ ।

करिव ६३ वर्ष अघिवाट उत्पादन शुरु भएको धनकुटे नरिवल विस्कुटका पहिलो उत्पादक एवं सृजनाकार स्व. विश्वेश्वर श्रेष्ठले गरेका थिए । उनकै प्रयासमा धनकुटामा नरिवल विस्कुट उत्पादन सुरु भएको हो ।

स्व. श्रेष्ठले उत्पादन सुरु गरेको धनकुटे विस्कुट अहिले धनकुटाको परिचय बनेको छ । उनकै उद्योगमा काम गर्ने मजदुरहरुले अन्य उद्योगहरु समेत स्थापना गरेर सञ्चालन गरिरहेका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको रेकर्ड अनुसार जिल्लामा १३ वटा विस्कुट उद्योगहरु दर्ता भई सञ्चालनमा रहेका छन् । ती उद्योगहरुमा करीब एक करोड लगानी रहेको छ ।

ती उद्योगहरुले धनकुटे नरिवल विस्कुट, दुनट, खास्ता, फूल केक, चारपाटे केक, कोको, पाउरोटी र खाजा विस्कुट उत्पादन गर्दै आएका छन् । धनकुटे विस्कुटले दैनिक ४ लाख भन्दा बढीको कारोबार गरिरहेको उद्योग सञ्चालकहरुले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।