नेपाल बन्दको देशभर आंशिक प्रभाव : मोरङमा ४ जना पक्राउ, हेटौंडामा प्रेसरकुकर बम भेटियो

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।

विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएको हो काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले सामान्य रुपमा गाडी चलिरहेको जानकारी दिएको छ । ट्राफिक प्रहरी प्रवक्ता मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म अवस्था सामान्य छ ।

अप्रिय घटना केही भएको छैन । गाडीहरु पनि चलिरहेका छन् ।’ नेकपाका नेताहरु पक्राउ परेको जिल्ला मोरङमा बन्दको प्रभाव सामान्य छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द छन् । तर, छोटो दुरीका सवारी साधनहरु भने चलिरहेका छन् ।

मोरङमा ४ जना पक्राउ

कोशी राजमार्गअन्तर्गतको टंकी सिनुवारीमा दुईवटा सवारी साधानमा ढुंगा हानेको आरोपमा विप्लवका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, विप्लवका कार्यकर्ताले सशस्त्र प्रहरीको ट्रक र अर्को एउटा बसमा ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट दुवै सवारीसाधनमा सामान्य क्षति पुगेको पुगेको छ ।

धनुषामा परेन बन्दको प्रभाव

धनुषाको जनकपुरधाममा बन्दको प्रभाव परेको छैन । यातायातका साधन चलिरहेका छन् । निजी विद्यालयहरु बन्द भए पनि सरकारी विद्यालयहरु भने खुलेका छन् । पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलिरहेका छन् । वीपी राजमार्गमा छोटो दुरीका सवारी साधन चले पनि बर्दिवासबाट काठमाडौंतर्फ आउने गाडी चलेका छैनन् ।

मकवानपुर ठप्प: राजमार्गमा सवारी गुडेनन्, हेटौंडामा बम

मकवानपुरमा भने विप्लवको बन्दको प्रभाव परेको छ । राजमार्ग क्षेत्रमा सवारी चलेका छैनन् भने हेटौंडाका उद्योग तथा कलकारखाना बन्द छन् । शैक्षिक संस्थामा पठन–पाठन भएको छैन ।

बजार क्षेत्रमा सुरक्षालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नभए पनि हेटौंडा उपमहानगरपालिका–११, नवलपुरमा प्रेसरकुकर बम फेला परेको छ । बम राखिएको सूचना पाएसँगै प्रहरीले उक्त स्थानलाई घेरा हालेर राखेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ ।

पोखरामा भने बन्दको प्रभाव छ । पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमा जोडिएको पोखरामा कुनै पनि गाडी आउजाउ गरेका छैनन् । सधैं व्यस्त रहने पर्यटकीय नगरी पोखरा मंगलबार बिहानैदेखि सुनसान छ ।

रुपन्देहीमा पनि बिहान बन्दको प्रभाव देखिएको छ । बुटवलमा साना गाडीहरु चलिरहे पनि ठूला तथा लामो दुरीका सवारी साधनहरु चलेका छैनन् । बजार, पसल, स्कुल कजेलहरु सबै बन्द छन् ।

दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । तर अप्रिय घटना भने केही भएको छैन ।

सुर्खेतमा सवारी साधन फाट्टफुट्ट चले पनि मुख्य बजार र शिक्षण संस्था खुलेका छैनन् ।

भोजपुरमा विहानैदेखि बन्दको प्रभाव छ । हिले–भोजपुर सहायक राजमार्गमा यातायातका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरू पनि खुलेका छैनन् ।

गोर्खा सदरमुकाममा पनि यातायात र बजार बन्द छ ।

यता, बाँके पनि बन्दले प्रभावित बनेको छ । यहाँ अत्यावश्यकीयबाहेकका सवारी चलेका छैनन् भने शैक्षिक संस्था पनि बन्ददेखि डराएका छन् । – अनलार्इन खवरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।