फरार भनिएका रेशम चौधरीद्वारा आत्मसमर्पण
काठमाडौँ । फरार भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीले जिल्ला अदालत धनगढीमा आत्मसमर्पण गरेका छन् । हाल अदालतमा उनको बयान भइरहेको बताइएको आजको कान्तिपुरमा खबर छ ।
टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। सो घटनामा अभियुक्त चौधरीलाई दोषी देखाइएको छ। त्यस घटना यता उनी फरार अवस्थामा थिए।
कैलाली १ बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभा सदस्य चयन भए पनि उनलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र दिएको थिएन। उनले प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायरको प्रयास समेत गरेका थिए।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिएका थिए।
चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो।


