मिचाहा प्रवृत्ति देखाऊदै भारत !, नेपालको सहमति बिना नै महाकाली नदीमा भारतले यसरी बनायो चार पुल

दार्चुला, १६ फागुन । भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।

भारतीय पक्षले नेपालको सहमति बिना महाकाली नदीमा बनाएको काठे पुल । तस्वीरः किरण धामी, दार्चुला, रासस

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् ।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो ।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरिसकेको छ । भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनवटा डोजर आफ्नो भूमि लगेको छ । डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ । नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीप सिंह बुढाथोकीले जानकारी दिनुभयो ।

भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्नेभएको थियो ।

काठेपुल निर्माण गरे÷नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो । “सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनै पनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन, प्रजिअ गौतमले भन्नुभयो ।

पुल निर्माण नेपालको मानव बस्तीभन्दा माथि छ । दुम्लिङभन्दा माथि पुल लगाइएका कारण नेपालीले भने पुल प्रयोग गर्न पाएका छैनन् । व्यासको वडा नम्बर २ को दुम्लिङ बस्तीभन्दा माथि निर्माण गरिएको पुलले नेपालीलाई फाइदा नपुग्ने भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी नेतृत्वको टोलीले आफूहरुले समेत प्रयोग गर्नेगरी काठे पुल लगाउनुपर्ने माग गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।