ओलीलाई शक्तिशाली देशका कुटनीतिकले उच्च महत्व दिएको छनक, राजदूतदेखि समकक्षीसमेत वरिपरी (भिडियो सहित)
काठमाडौं । क्रमशः शक्तिशाली बन्दै गरेका प्रधानमन्त्री केपी ओलीको विदेश नीति स्पष्ट भइसकेको छैन । नेपालका प्रधानमन्त्रीको सफलता आन्तरिकभन्दा बाह्य कारणले निर्धारण हुन्छ भन्ने टिप्पणीको पृष्ठभूमिमा ओलीले दुई ठूला उदियमान छिमेकीबीच कसरी सन्तुलित सम्बन्ध राख्लान भन्ने चासो छ । तर, प्रारम्भिक आधारले भने ओली विदेशी सद्भाव जुटाउन पनि सफल हुन्छन् भन्ने संकेत देखाएको छ ।
प्रधानमन्त्री केपी ओलीलाई जन्मदिनदेखि फागु पूर्णिमासम्मको शुभकामना व्यक्त गर्न अमेरिकी, चिनियाँ र भारतीय राजदूत बालुवाटार पुगे । बाक्लिएको यो ओहोर–दोहोरले आवरणमा भने शक्तिशाली देशका कुटनीतिक प्रमुखले ओलीलाई उच्च महत्व दिएको छनक मिल्छ ।
बर्षैपिच्छे सरकार परिवर्तनको श्रृंखला व्यहोरेको मुलुकमा दुई तिहाई उन्मुख सरकारसँग संभवत् पाँच बर्ष सहकार्य गर्नुपर्ने बाध्यताले पनि कुटनीतिक बृत्तमा ओलीको महत्व बढाएको हुनसक्छ ।
भारतसँग चर्को कुटता रहेको पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदैछन्, त्यो पनि प्रधानमन्त्री ओलीलाई बधाई दिन । ओली पहिलो प्रधानमन्त्री हुन्, जसलाई बधाई दिन समकक्षी नै नेपाल आउन लागेका छन् । औपचारिकता एउटा पाटो भएपनि अब्बासी एक्कासी नेपाल आउन खोज्नुमा भारत ‘फ्याक्टर’ निर्णायक कारण हो ।
किनकी, दुई समकक्षीमा राष्ट्रवादी रुझान र भारतलाई हेर्ने दृष्टिकोण लगभग समान छ । अघिल्लो कार्यकालमा नाकाबन्दी खेपेर भारतसँग चिढिएका ओली र भारतलाई सनातनी दुश्मन मान्ने अब्बासीको आउँदो भेट भारतीय संस्थापनका लागि टाउको दुखाइको विषय हुनसक्छ । किनकी भारतको बुझाईमा ओली र अब्बासी नेतृत्वको सरकार चीनतर्फ बढी झुकाव राख्छन् ।
पाकिस्तानको परम्परागत दुश्मन भारत पनि नेपालसँग सम्बन्ध सुधारको प्रयासमा देखिन्छ । प्रधानमन्त्री नहुँदै विदेशमन्त्री सुस्मा स्वराजलाई भेट्न पठाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको विश्वास फर्काउने प्रयत्न गरे । मोदीले दुई–दुई पटक टेलिफोनमार्फत ओलीलाई शुभेच्छा व्यक्त गरेका छन् ।
उता, उत्तरी छिमेकी चीन अघिल्लै कार्यकालदेखि ओलीप्रति सकारात्मक छ । र, आफूले गरेका सम्झौता र सहमति ओलीले कार्यान्वयन गर्छन् भन्नेमा विश्वस्त पनि । ओली प्रधानमन्त्री बन्ने सेरोफेरोमा चीनले उपमन्त्री पठाएर वाम एकताको स्वागत मात्रै गरेन, नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता पनि जनायो ।
यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत फागुन १२ गते प्रधानमन्त्री नियुक्त भएकोमा ओलीलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै स्थिरता, सुशासन र समृद्धिको नेपाली चाहना पूरा गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । अमेरिकाको कट्टर आलोचक उत्तर कोरियाले पनि महत्व दिँदै ओलीलाई प्रधानमन्त्री भएकोमा बधाई दियो ।
कुटनीतिमा यस्ता बधाईको औपचारिकता सामान्य भएपनि बहुमत प्राप्त सरकारका प्रमुख ओलीलाई भने विश्व जगतले फरक दृष्टिले हरेको कुटनीतिक मामिलाका जानकारको भनाइ छ । आन्तरिकरुपमा शक्तिशाली बन्दै गरेका ओलीलाई ठूला देशले दिएको महत्वले उनको महत्वकांक्षा बढाउने हो कि भन्नेमा केहीको चिन्ता छ ।


