नमस्ते झरनाको विकासले फड्को मारेसँगै फस्टाऊँदै व्यापार !, व्यापारी भन्छन,- घर खर्च टार्न सहज भएको छ (भिडियो सहित)
धनकुटा खबर । साँच्चै प्राकृतीक श्रोतहरुको उचित संरक्षण र प्रवद्र्धन गर्ने हो भने, यहाँका हरेक चीज मानिसका लागि उपयोगि र लाभदायक छन् । यसको उदाहरणको रुपमा धनकुटाको सागुरीढी गाउँपालिकाको नमस्ते झरनालाई लिन सकिन्छ । यहाँ यस झरनाको विकासले फड्को मारेसँगै एका तर्फ पर्यटन व्यवसाय फस्टाउदो छ भने अर्को तर्फ यहाँका स्थानियले व्यापार व्यवसाय गर्ने ठाउँ पाएकाछन् ।
यहाँ अहिले सागुरीगढी ६ को विभिन्न गाउँमा उत्पादित तरकारी तथा फलफुहरु व्यापार गर्नका लागि स्थानियले ठाउँ पाएकाछन् । त्यस्तै मध्येका एक स्थानिय हुनुहुन्छ छत्र याम्फु । उहाँ आफैले उत्पादन गरेको धनियाँ, सुन्तला, सिमी, खुर्शानी लगायतका सामाग्री यो सिजनमा वेच्नका लागि ल्याउनुहुन्छ । उहाँले हप्ताको शूक्रवार र शनिवार व्यापार वढी हुने वताउनुभयो ।
खासगरी झरनामा वढी पर्यटकहरु आएको दिन ६ हजार सम्म हुने गरेको याम्फुले वताउनुभयो । आफुले फलाएको फलफुल नमस्ते झरना वाहेक धरान कृषी वजार सम्म विक्रिका लागि पुर्याउने गर्नुभएको स्थानिय याम्फुले धरानमा भन्दा नमस्ते झरना क्षेत्रमा व्यापार गर्न सहज हुनेगरेको वताउनुभयो ।
त्यस्तै सिमसाग खरिद गरी पीङडाँडाका रामकुमार वान्तावा राईले पनि व्यापारका लागि ल्याउने गर्नुभएको छ । यो व्यापार वाहेक घर कै काममा समय वित्ने वताउनु हुने उहाँले व्यापारवाट आएको पैसाले नानीहरुलाई पढाउन र घर खर्च गर्न उपयोग गर्ने गरेको वताउनुभयो । व्यापारले त्यसरी थोरै भएपनि घरको कतिपय आवश्यकता पूरा गर्न पाउदा खुशी लागेको उहाँको पनि भनाई छ ।
त्यस्तै वेलवोटेकी पारु लिम्वुले पनि त्यहाँ व्यापार गर्न पाउदा आफुहरुलाई सजिलो हुनेगरेको वताउनुभयो । झण्डै २२ रोपनीमा सिमी खेती गर्दै आयनुभएको पारुले आफुले उत्पादन गरेको सिमी धरान कृषी वजार र नमस्ते झरना क्षेत्रमा ल्याएर विक्रि गर्ने गर्नुभएको छ । धरानमा पुर्याउनु भन्दा नमस्ते झरनामा ल्याउन समय कम लाग्ने र वाँकी समयमा अन्य काम गर्न सहज हुने उहाँको भनाई छ । यता गुर्धुमवाट अमला र सुन्तला व्यापारका लागि आउनुभएकी धनकुमारी राई लिम्वुले पनि अन्य ठाउमा व्यापार गर्न जाँदा र नमस्ते झरनामा ल्याउदा समय कम खर्च हुने वताउनुभयो ।
यहाँ सुन्तला १ सय देखी १ सय ५० रुपयाँ, सिमसाग ४० देखी ५० रुपयाँ, सिमी ५० रुपयाँ प्रति किलो र अमला २० देखी २५ रुपयाँ प्रति माना विक्रि हुने गरेको छ ।


