पाख्रीवासका महसुर राईको गोरु बलशाली, जित्यो १५ हजार नगद
धनकुटा खबर, माघ १ । आज माघे सक्रान्ति पर्व धनकुटा सहित देशभर भव्यताका साथ मनाईएको छ ।
यो पर्वको अवसरमा देशका विभिन्न स्थानमा मेला लागेका छन् भने कतिपय स्थानमा प्रतियोगितात्मक कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ । जसअनुसार माघे सक्रान्तिको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ७ मा गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ ।
स्थानिय युवाहरुको पहलमा आयोजित प्रतियोगितामा पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रेका महसुर राईको गोरु विजयी भएको प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष नविन वराईलीले जानकारी दिनुभयो । जम्मा १४ वटा गोरु सहभागी गराईएको प्रतियोगितामा १३ वटा गोरुलाई हराउदै महसुर राईको गोरु विजयी भएको हो । विजयी भएको गोरुलाई नगद १५ हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै खम्वामा चढेर भाले झार्ने प्रतियोगितामा चन्द्र वहादुर थापा विजयी हुनुभएको छ । ३० जना प्रतियोगि मध्ये २९ जनालाई हराउदै थापाले विजयी प्राप्त गर्नुभएको हो । उहाँले खम्वामा झुण्ड्ईएको साढे २ के जी को भाले नै पुरस्कार स्वरुप प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजयीहरुलाई पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राईले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिता आयोजक समितिका अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको वीच नगर प्रमुख राईले प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्नुभएको हो ।
प्रतियोगिता सञ्चालनका लागि पाख्रीवास नगरपालिकाले ४० हजार सहयोग गरेको थियो भने स्थानिय युवाहरुले ३० हजार संकलन गरेका थिए ।


