मन्त्री योगेश भट्टराई किन भए आलोचित?
काठमाडौं, भदौ ३१ । डेढ महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई तथा शुभकामनाको ओइरो लागेको थियो। सामाजिक सञ्जाल र सञ्चारमाध्यम उनका प्रशंसाले रंगिएका थिए। कतिपयले त प्रधानमन्त्री नियुक्तिभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे।
तर, तीनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको ढेड महिनामै आलोचनाका स्वर चर्किन थालेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। किन यस्तो अवस्था आयो? यसको पछाडि उनले गरेका केही प्रतिनिधिमूलक काम जिम्मेबार छन्। उनले गरेको पशुपतिमा गंगा आरतीमा राष्ट्रियगान बजाउने निर्णय निकै आलोचित छ।
राष्ट्रियता जगेर्ना गर्ने नाममा आर्यघाट नजिक हुने आरतीमा राष्ट्रियगान कति अनिवार्य हो? प्रश्न उठेको छ। डेढ महिनाअघि उनीप्रति निकै अपेक्षा गर्नेहरु विस्तारै आलोचनातर्फ मोडिएका छन्। राष्ट्रियगान प्रकरणले आलोचना बढिरहेका बेला मन्त्री भट्टराईकै कारण शनिबार नेपालगञ्जमा जहाज उडान ढिलाई भएको घटना बाहिर आयो।
धनगढीबाट फर्किंदै गर्दा मन्त्री केही ढिलो भएका कारण केहीबेर जहाज रोकिएको थियो। यसलाई ज्ञानेन्द्र शाही लगायत व्यक्तिले विमानभित्रै विरोध गरे। यो प्रकरणमा मन्त्री भट्टराई र एयरलाइन्सले स्पष्टीकरण दिइसकेका छन्।
मन्त्री भट्टराईले आइतबार बिहानै ट्वीटमार्फत् क्षमा मागिसकेका थिए। तर, उनले क्षमा मागेको विषय भन्दा जहाज रोकेको विषय सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो।
यस प्रकरणमा मन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तीको भाषा पनि विवादमा परेको छ। विज्ञप्तीमा आलोचना गर्नेहरुलाई मण्डलेका रुपमा चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा मन्त्रीप्रति थप प्रश्न आएका छन्। अन्य मन्त्रीकै शैलीमा पपुलिस्ट कुरा आउँदा भट्टराईप्रति आलोचना गर्नेलाई बल मिलेको छ।


