अब यसरी सरकारले सबै नेपालीलाई जग्गाधनी बनाउने
काठमाडौं, भदौ ३१ । सरकारले सबैलाई जग्गाधनी बनाउने लक्ष्यको कार्यान्वयन पक्ष अघि बढाएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिलाई स्रोत र साधन मानेर आर्थिक लक्ष्य पूरा गर्न यस्तो लक्ष्य अघि सारेको खबर आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन्।
सरकारले भू–उपयोग नीतिमार्फत जमिनलाई जनस्तरबाटै एकीकरण गरिने, जमिनको कित्ताकाट गर्न नपाइने, सहकारी मोडलमा सामूहिक खेती तथा फार्मबाट उत्पादन गर्ने, जमिन बाँझो राख्न नपाइने, खेती नगरेमा भूमि बैंकमा जग्गा राख्नुपर्नेलगायतका विषयलाई कानुनी रूपमै सुनिश्चित गरी भूमिहीनको अन्त्य गर्ने नीति लिएको हो ।
सरकारले स्थानीय तहलाई नै अधिकार दिएर भूमिसम्बन्धी समस्या समाधान गर्ने जनाएको छ । मन्त्रालयले भूमिहीनको तथ्यांक लिने कार्यसमेत छिट्टै थालिने जानकारी दिएको छ । सुकमबासीको संख्या भने झन्डै ७ लाख रहेको बताइएको छ ।
भूमि व्यवस्थामन्त्री पद्मा अर्याल लक्ष्यअनुसार सबैलाई जग्गाको स्वामित्व दिलाउन कानुनी अस्पष्टता र जटिलताको अन्त्य गर्दै बलियो कानुन निर्माणको चरणमा रहेको बताउँछिन् ।
अर्यालले भनिन्, ‘अब कोही पनि मोही हुँदैन, सबैलाई जग्गावाल बनाउने सरकारको लक्ष्य छ । लक्ष्य पूरा गर्न आवश्यक कानुनबाटै व्यवस्था गरेर सबैलाई भूमि अधिकारको सुनिश्चितताको बाध्यकारी परिस्थिति तयार पारिनेछ ।’ यसबाट वैज्ञानिक र व्यावहारिक रूपमै भूमिहीनताको अवस्था अन्त्य हुने मन्त्री अर्यालको दाबी छ।
सरकारले यसैको तयारीस्वरूप पहिलोपटक भू–उपयोग नीति ल्याएको छ ।
भूमि नीतिका आधारमा सबै प्रकारका भूमि समस्या समाधान हुने उनको जिकिर छ । नीतिमा भएका कुराको विरोध गर्ने मात्र नभई सबल पक्षलाई समेत बुझ्नु आवश्यक रहेको मन्त्री अर्यालले बताइन् ।


