व्यवस्थापनको जिम्मा म लिन्छु, सके जति बिजुली खपत गर्नुहोस – कुलमान घिसिङ
काठमाडौं : तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरण नेतृत्वमा आएका कुलमान घिसिङले तत्कालै लोडसेडिङको अँध्यारोबाट जनतालाई मुक्त गराएका थिए। त्यहीँदेखि चुलिएको उनको चर्चा अझैसम्म सेलाएको छैन। उनको व्यवस्थापकीय कौस लले कहिल्यै नबन्नेजस्तो देखिएका रुग्ण विद्युत् आयोजनाले समेत प्रगतिको ‘इन्डिकेटर’ देखाउन थालेका छन्।
सबस्टेसन, प्रसारणलाइन निर्माण र विस्तारले तीब्रता पाइरहेका छन्। त्यतिमात्र होइन सधैँ घाटा रहने प्राधिकरण नाफामा गएको छ। यस अर्थमा एउटा सरकारी संस्थानको कायपलट गरिदिएका छन्। विद्युत् चुहावट घटाउन देखि लोडसेडिङ हटाउनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् कुलमान घिसिङले । उनले भने हामीले लोडसेडिङ हटाएका छौं तर गर्नुपर्ने काम अझ धेरै छन्।
नेपाल खबरसँगको अन्तर्वार्तामा कुलमान घिसिङले भनेका छन् – सुरुमा लोडसेडिङ कसरी हटाउने भन्नेमा ध्यान बढी थियो। किनकि जनताहरु १४ घण्टा अँध्यारोमा बस्न बाध्य थिए। अब हाम्रो चुनौती त्यसमा छैन किनकि लोडसेडिङ नै हुँदैन । म सकेसम्म बिजुली नेपालमा सबैले प्रयोग गर्न आग्रह गर्छु। जति बिजुली खपत गरे पनि लोडसेडिङ चाहिँ गर्नुहुन्न भन्ने भनाइ हो। त्यसमा व्यवस्थापनाको जिम्माचाहिँ म लिन्छु। नेपालको विकासको लागि सकेसम्म बिजुली खपत गर्नैपर्छ।


