बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

प्रभात चौलाने, काठमाडौं । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै विज्ञहरुले बहुविकल्पहरु निर्माण गरेर अघि जानुपर्नेमा जोड दिएका हुन् ।

फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै विज्ञहरुले त्यसका लागि बीआरआई एक उचित अवसर बन्न सक्नेमा जोड दिए । आजको विश्वमा कुनै पनि देश एक्लै सबैथोक गर्न नसक्ने भएकोले विश्वसँग जोडिएर नेपाललाई विकासको बाटोतिर लग्नका लागि बीआरआईलाई उपयोग गर्नुपर्ने उनीहरुको भनाई थियो ।

बीआरआईमा नेपालीको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा बोल्दै रसियाका लागि नेपाली राजदुत तथा लेखक हिरन्यलाल श्रेष्ठले बीआरआई एशिया, युरोप र अफ्रिकालाई जोड्ने महापरियोजना भएको बताए । यसले संसारभर प्रभाव पारेको उल्लेख गर्दै उनले यो परियोजनालाई नेपालले एउटा राम्रो अवसरका रुपमा लिनुपर्ने बताए । तर, अहिले नेपालले पाल माग्ने खालका मात्र योजना मात्र पस्केको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । व्यापक अध्ययन छलफल गरी देशको अनुहार बदल्ने केही ठूला आयोजनाको प्रस्ताव तयार गरेर बीआरआईमा समावेश हुनुपर्ने सुझाव दिँदै कुटनीतिज्ञ श्रेष्ठले बीआरआईबाट नेपालले फाइदै फाइदा लिन सक्ने सम्भावना देखाए । उनले नेपाल पनि बीआरआईकाे पहुँचमार्गमा पर्ने भएकोले विश्वका ठूला ठूला कम्पनीहरु प्रविधि र पुँजी लिएर आफै आउने उल्लेख गरे ।

भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक हरी रोकाले विश्वको बहुचर्चित आयोजनाको रुपमा रहेको बीआरआईबाट नेपालले लिनसक्ने फाइदा र सम्भावनाहरुको चर्चा गरे । एकथरि मान्छेहरुले बीआरआईलाई अहिलेसम्म स्वीकार नगरेका कतिपय देशले के भन्लान भनेर सोच्ने गरेको भन्दै उनले त्यस्ताे परनिर्भर चेतनाले देश कहिल्यै विकास हुन नसक्ने बताए । बीआरआईलाई नेपालले आफ्नो फाइदाका लागि प्रयोग गर्नुपर्ने बताउँदै उनले याे परियाेजना चीनले प्रस्ताव गरेको भए पनि उसले यसमा कुनै पनि परियोजनाको खाका दिने नभई हरेक देश आफैले आफ्नो प्राथमिकता तय गर्नुपर्ने बताए । सन २०१७ मा नेपालले बीआरआईको पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको भए पनि अहिलेसम्म त्यसमा कुन आयोजना लाने भन्ने कुनै पनि गृहकार्य नभएको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । आफूले सबै मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको जानकारी गराउँदै अहिले भइरहेकै आयोजनालाई देखाउने वाहेक अरु नयाँ केही पनि नगरेको बताए । उनले बीआरआई विश्वसँग सहकार्यको एउटा ठूलो खोज भएको बताए ।

कार्यक्रममा बोल्दै डेनमार्कका लागि नेपालका पूर्व राजदुत डा. विजयकान्त कर्णले बीआरआईबाट नेपालले धेरै फाइदा लिन सक्ने भए पनि अहिलेसम्म ‘हाम्रा प्रोजेक्ट’ के हुन भन्ने तय नगरेको र हल्कारुपमा अगाडि सारिएका केही प्रोजेक्टहरुलाइ पनि न संसदमा न त आम जनतामाझ कतै छलफलमा नल्याएको बताए । उनले नेपालको विदेश नीति नेपालकै राष्ट्रिय हीतका आधारमा सन्तुलित रुपमा तय हुनुपर्नेमा जाेड दिए । अहिले सरकारले आम नागरिकको प्रश्न गर्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उल्लेख गर्दै उनले यो विश्वभरि स्थापित प्रजातन्त्रको मान्यता विपरित भएको बताए ।

त्यसैगरी कार्यक्रममा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र शाहले बीआरआई लामो परियोजना भएको भन्दै नेपालले भाेलिकाे परिणाम निकाल्न र पूरा हुने परियाेजनाहरुबाट फाइदा लिन अहिलेदेखि नै तयारी गर्नुपर्नेमा जोड दिए । विश्वसँगको कनेक्टिभीटी जोडिएपछि नेपालले आफूले पठाउने उत्पादन के हो भन्ने कुरा अहिलेदेखि नै तयारी गरेर त्यस्ता आयोजना देशमा अहिल्यै सुरु गरिनुपर्ने उनकाे भनाइ थियाे । आफूलाई चाहिने कुरा के हो भन्ने कुरा तय गरी आफैले योजना तयार गर्नुपर्नेमा जोड दिँदै शाहले बीआरआई नेपालले विश्वसँग सम्मानका साथ जोडिने महत्वपूर्ण परियोजना हुने बताए ।

कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालले बीआरआईसँग हस्ताक्षर गरेपछि कतिपय ठाउँबाट किन गरेको भन्ने प्रश्न उठाइएको भन्दै त्यस्ता हस्तक्षेपहरुका विरुद्ध आम जनता उभिनुपर्ने र बीआरआईमा नेपालको सम्मानजनक सहभागिता रहने बताए । विगतमा नेपालमा भएको नाकाबन्दीको असरबारे कुरा गर्दै उनले नेपालको स्वाधीनतामाथि हस्तक्षेप गर्न खोज्ने प्रवृति बीआरआईले तोड्ने पनि बताए । अहिले कतै कतै नेपालले इन्डो प्यासिफिक रणनीतिलाई समेत स्वीकार गर्न दवाव दिन थालिएको प्रसंग कोट्याउँदै त्यस्ता दवाव अस्वीकार गर्नुपर्नेमा जोड दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।