दशगजा मिचेर भारतले धमाधम सिमा स्तम्भ गाड्न सुरु गरेपनि प्रदेश २ सरकार मौन बसेको स्थानीयवासीको आरोप
धनुषा, असोज ५ । नेपाल–भारत सीमाका विषयमा भारतले सीमास्तम्भ सार्ने गरेको घटना बेला बखतमा चर्चा भईरहदा पछिल्लो पटक दशगज्जा मिचेर भारतले धमाधम सिमा स्तम्भ पिल्लर गाड्न सुरु गरेको छ । तर, यसबारे प्रदेश २ सरकार मौन बसेको स्थानीयवासीको आरोप छ । स्थानीयहरुका अनुसार नेपाल–भारत सीमामा पर्ने पिपरौनमा तैनाथ भारतीय सिमा सुरक्षा बलका जवानहरुले पिल्लरको फोटो खिच्न समेत रोक लगाउँदै आएको ‘द नेपाल टप’ले उल्लेख गरेको छ ।
पछिल्लो पटक जनकपुर जटही सडक हुँदै भारत छिर्ने नाकाको दशगज्जामा पर्ने राजघाट खोला छेउमा रहेको धनुषाको नगराईन नगरपालिका अन्तर्गतका हाँसपटी, मरना र जटही गाउँका स्थानियहरुले २० दिन अघिबाट पुरानो पिल्लर भएको ठाउँबाट दसगज्जाको करिब १५ हात भुभाग मिचेर भारतलले पिल्लर गाड्ने काम तीव्र पारिरहेको बताएका छन् । भारतले दर्जनबढी पिल्लर गाडीसकेको स्थानीयहरुको भनाइ छ ।
भारतीय सुरक्षाबलको यस क्षेत्रमा बढ्दो दादागिरीबाट स्थानीयवासीहरु पीडित हुँदै आएका छन् । सत्तारुढ समाजवादी पार्टीका धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्या उमाशंकर अरगरियाले भारतले सिमा क्षेत्रमा नयाँ सीमास्तम्भ प्रतिस्थापन गर्ने गरेको जानकारी आफूले पटकपटक पाएको बताउनु भयो । नेपाल सरकार र प्रदेश सरकार यस विषयमा गम्भिर हुनुपर्ने उनको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी ्(नेकपा) का युवा नेता तथा प्रदेश २ धनुषाका प्रदेश सांसद रामचन्द्र मण्डल नेपाल सरकारसँग समन्वय नगरी भारतले एकपक्षीय रुपमा सिमा मिच्दै पुराना पिल्लर हटाउँदै नयाँ पिल्लर गाड्नु गलत भएको बताउनु भयो । नेपाल पक्षसगँ समन्वय नगरी सिमामा भारतले पिल्लर गाड्नु अन्तर्राष्ट्यि कानुन विपरित रहेको पनि उहाँले बताउनु भयो । प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) का धनुषा क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद परमेश्वर साह पनि भारतले नेपालसगँ समन्वय नै नगरी नयाँ सिमा स्तम्भ प्रतिस्थापन गर्नु गलत भएको बताउनु भयो ।
सिमा सुरक्षाको लागि बसेका सुुरक्षा निकायले सीमामा बसेर पैसा असुली मात्रै गर्ने गरेको बताउँदै सांसद साहले भने, ‘जानकारी नै नदिई भारतले रातारात नयाँ सिमा स्तम्भ गाड्दा सीमामा तैनाथ नेपालका सुरक्षा अधिकारीले सरकारलाई तत्काल जानकारी दिइ सरकारले यसलाई गम्भिरता पूर्वक लिनु पर्नेमा त्यसो नहुनु कमजोरी देखियो । सीमास्तम्भका विषयमा प्रदेश सांसदको बैठकमा कुरा उठाउने पनि सांसद साहले बताउनु भयो ।
तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले स्थानीयहरुले भने जसरी भारतले दशगज्जा मिचेर पिल्लर गाडेको जानकारी आफूसँग नआएको बताउँदै, गएको अविरल वर्षाको बेला खोलाले बगाएको पिल्लर पुनप्रतिस्थापन गरेको जानकारी आफूले पाएको कँडेलले बताउनु भयो । कँडेलले भन्नु भयो – ‘दशगज्जा मिचेर भारतले पिल्लर गाडेको कुरामा कुनै सत्यता छैन ।’


