धनकुटामा सवारी चालकलाई सडक मै फुलमाला र टिका !
धनकुटा खबर, असोज १२ । सवारी चालकहरुलाई आज यसरी सडक मै फुल माला र टिका लगाईएको छ । जिल्ला प्रहरी कार्यलय धनकुटा र जिल्ला ट्रफिक प्रहरी कार्यलय धनकुटाद्धारा संयुक्त रुपमा धनकुटा १ हिले वजारमा आयोजित कार्यक्रममा उनिहरुलाई यसरी फुलमाला लगाइएको हो ।
यति मात्र होईन सवारी चालकहरुलाई फुलमाला लगाइदिदै कार्यक्रमका प्रमुख अतिथि तथा धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरे र जिल्ला प्रहरी कार्यलय धनकुटाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले शूभयात्राको कामना समेत गर्नुभयो ।

नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा हुने यात्रुहरुको वाक्लो आवागमनलाई ध्यान दिदै दूर्घटना न्यूनिकरण गर्ने लक्षका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना”विषयक कार्यक्रमको आयोजना गरी दूर्घटना न्यूनिकरणका लागि त्यसरी चालकहरुलाई त्यसरी सचेत गराईएको हो ।

साथै सवारी चलाउदा मादक पदार्थ सेवन नगर्न,यात्रुहरु सँग असल व्यवहार गर्न, गति नियन्त्रण गरी सवारी चलाउन,क्षमता भन्दा वढी यात्रु सवारीमा नचढाउन, नचढ्न सुझाव दिदै दूर्घटना न्यूनिकरण अभियानलाई सहयोग पुर्याउन सरोकारवाला सवैलाई आग्रह समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो । कार्यक्रममा स्थानिय जनप्रतिनीधि,पत्रकार,नागरिकसमाज,सवारी चालक तथा यात्रुहरुको उपस्थिती थियो ।


