एभोकाडो रोप्दै प्रधानसेनापतीले शुरु गरे धनकुटामा ‘एक सिपाही, एक फलफुलको विरुवा’ अभियान
धनकुटा खबर । ‘फलफूल रोप्न बढाउ हात, जनतालाई नेपाली सेनाको हात’ भन्ने मूल लक्ष्यका साथ सुरु भएको कार्यक्रम अन्र्तगत आज नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्रथापाले धनकुटा महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा आयोजित एक कार्यक्रमको विच एभोकाडोको विरुवा वृक्षारोपण गरी अभियानको प्रारम्भ गरेका हुन् ।
सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफुलको विरुवा’ लाई सफल पार्न तथा ऐक्यवद्धता जनाउन नेपाली सेनाले पनि ‘एक सिपाही, एक फलफुलको विरुवा’ अभियानको प्रारम्भ गरेको हो ।
महालक्ष्मी नगरपालिका र धनकुटामा रहेको २ नं. वाहिनी अड्डा र वरख गणको सहभागितामा नगरपालिकाको वडा नं. १, ५, ७, ८ र ९ मा अवस्थित करिव ३ सय स्थानीय घरधुरीलाई लक्षित गरि प्रत्येक घरपरिवारको प्राङ्गणमा ४ वटा, खाली सरकारी जमिन, स्कूलको प्राङ्गण र मन्दिर ईलाकाहरुमा गरि ३ हजार १ सय ६० विभिन्न फलफुलको विरुवा वृक्षारोपण गरिने बताइएको छ ।

धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र संखुवासभामा तैनाथ सम्पूर्ण गण गुल्महरुले स्थानीय तह र सरोकारवाला निकायहरुसँग सहकार्य गरि वृक्षारोपणको व्यवस्था मिलाइएको छ । उक्त अभियान अन्र्तगत विभिन्न प्रजातीका २० हजार फलफुलको विरुवा रोपिने नेपाली सेनाले जानकारी दिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले राख्नु भएको थियो । भने श्री २ नं. बाहिनीका सहायक वाहिनीपति महासेनानी महेशकुमार थापाले वृक्षारोपण कार्यक्रमको बिषयमा संक्षिप्त प्रकाश पारेका थिए ।


