४४ पदकसहित नेपाल शीर्ष स्थानमा

काठमाडौं, मंसिर १७ । तेह्रौँ दक्षिण एशियाली खेलकुद सागमा नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म २३ स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ

यस्तै भारत १२ स्वर्ण, १२ रजत र नौ कास्य गरी कुल ३३ पदकसहित दोस्रो स्थानमा छ । श्रीलङ्का पाँच स्वर्ण, १४ रजत र २७ कास्यसहित तेस्रो, पाकिस्तान पाँच स्वर्ण, ११ रजत र नौ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, तीन रजत र २१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण जित्दै छटौँ तथा भुटान तीन कास्यसहित पदक तालिकाको सातौँ स्थानमा छ ।

सोमबार १५ स्वर्ण जितेको नेपालले आज थप आठ स्वर्ण पदक जितेको हो । नेपालले आज उसु, तेक्वान्दो र करातेमा दुई÷दुई तथा एथ्लेटिक्स र ट्रायथलनतर्फ एक÷एक स्वर्ण जितेको हो । तेक्वान्दोको ग्यारोगीतर्फ महिला ४६ किलोमुनि तौल समूहमा नेपालकी काजल श्रेष्ठले स्वर्ण पदक जितिन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयद सिद्रा बटुलालाई ५०–१४ अङ्कले पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस्तै पुरुष ६८ किलोमुनीको तौलसमूहमा नेपालका वीरबहादुर महराले पाकिस्तानका मोहम्मद फाहिमलाई ४१–३६ अङ्कले हराए । यस्तै ५७ किलोमुनिको तौल समूहमा निमा गुरुङले रजत पदक प्राप्त गरिन् । उनी भारतकी कसिका मलिकसँग पराजित भइन् ।

यस्तै उसुमा नेपालले दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा आज सम्पन्न खेलमा नेपालका विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । थाउलोको चवाङक्वाङमा विजयले ९ दशमलव ४८ अङकसहित स्वर्ण जितेका हुन् ।

उक्त स्पर्धामा बङ्गलादेशले रजत तथा भारतले कास्य पदक जित्यो । यस्तै महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलङ्काका खेलाडीलाई ९ दशमलव ४४ अङ्क जोड्दै स्वर्ण जितेकी हुन् । सो स्पर्धामा बङ्गलादेशले कास्य पदक प्राप्त ग¥यो ।

यस्तै करातेको ६७ किलो कुमुतेतर्फ नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन् । उनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ अङ्कले हराएका हुन् ।

एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । उनले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् ।

सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव चार सेकेण्डमा पूरा गरिन् । उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् । एथ्लेटिक्सकै पुरुष एक हजार पाँच सय मिटर दौडमा टङ्क कार्कीले कास्य पदक जिते ।

आजै पोखरमा सम्पन्न ट्रायथलनमा नेपालले एक स्वर्ण र दुई रजत पदक पाएको छ । ट्रायथलनअन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत प्राप्त गरे ।

महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पाइन् । यस्तै नेपालले महिला भलिबलमा आज रजत पदक प्राप्त ग¥यो । नेपाल भारतसँग ३–२ सेटमा पराजित भई रजतमै सिमित रहेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।