‘राष्ट्रिय गजल महोत्सव–२०७६’ आयोजना गरिने
पुस ७,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘राष्ट्रिय गजल महोत्सव’ आयोजना गरिने भएको छ । गजल विधाप्रति युवा पुस्ताको बढ्दो अभिरुचि र आकर्षणलाई ध्यानमा राखेर प्रज्ञा–प्रतिष्ठानले ६२ वर्षको इतिहासमा पहिलोपटक ‘राष्ट्रिय गजल महोेत्सव’ आयोजना गर्न लागेको हो । राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा २०७६ साल माघ १५ र १६ गते प्रज्ञा भवन कमलादीमा आयोजना गरिने गजल महोत्सवमा मुलुकका सात वटै प्रदेश, राजधानी र भारतका सिक्किम तथा दार्जिलिङबाट समेत गजलकारहरूको प्रतिनिधिमूलक सहभागिता रहने छ ।
महोत्सवको पूर्व तयारी सम्बन्धि सरोकावाला पक्षबिच छलफल गर्ने उद्देश्यले सोमबार आयोजना गरिएको विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विशेष गरी युवा पुस्तामाझ लोकप्रिय रहेको गजल विधाको थप विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । सदस्य सदस्य प्रा. उपाध्यायले भन्नुभयो– “प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गौरवका कामका साथै स्रोत र साधनले भ्याएसम्म वाङ्मयका सबै विधामा उत्तिकै महत्वका साथ काम गर्दैैआएको छ ।”
‘राष्ट्रिय गजल महोत्सव’का संयोजक तथा प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले भन्नुभयो– “दुई दिनसम्म चल्ने महोत्सवमा गजलसम्बन्धी बहस, गजल वाचन र गजल गायन समेत हुनेछ ।”
उक्त अवसरमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. उषा ठाकुर, माया ठकुरी, लक्ष्मी माली र डा. देवी नेपाल, प्राज्ञ सभा सदस्यहरू नन्दु उप्रेती र डा. गीता त्रिपाठीले गजल महोत्सवबारे आआफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
यसै गरी बैठकमा गजलकार ज्ञानुवाकर पौडेल, कवि वासुदेव अधिकारी, गजलकारहरू ललिजन रावल, वियोगी बुढाथोकी, गोपाल अश्क, रवि प्राञ्जल, रामबहादुर पहाडी, प्रा.डा. सुदन पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, करुण थापा, नारायण गैरे, डा. विन्दु शर्मा, शान्ति शर्मा, घनेन्द्र ओझा, बलराम दाहाल, प्रभाती किरण, रूपक अलङ्कार, बाबु त्रिपाठी लगायतले महोत्सव आयोजना गरिनु सुखद् कुरा भएको धारणा व्यक्त गर्दै सफलताको कामनासहित महत्वपूर्ण राय सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।


