नेपाली राजदूताबासको ‘नो अ,ब्जेक्सन लेटर’ किन ?

नयाँ दिल्ली । कर्णाली प्रदेशको हुम्ला जिल्लाका मानबहादुर शाही वर्षमा दुई पटक भारत जान्छन् । उनी भारत गएर आफ्नो व्यापार–व्यवसाय गरेर फर्किन्छन् । कहिलेकाही त शाहीको भारत आवतजावत वर्षमा ६ पटकसम्म चल्ने गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा थुपै्र साथीसर्कल बनाएका शाहीको दशकयताको व्यापारको केन्द्र दिल्ली नै हो ।

शाहीका अनुसार उनी चीनको सीमावर्ती बजार पनि गएका छन् । तर, पासपोर्ट नहुँदा चीनमा आवतजावत गर्न मिल्दैन । ‘भारत जान केही चाहिँदैन, कतिपटक त मैले बिना कागजात नै आवतजावत गरेको छु,’ उनले भने ।

भारतको स्वतन्त्रता दिवसकै दिन भेटिएका उनी त्यतिबेला निकै खुशी भए जतिबेला भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत प्रवेश गर्ने क्रममा उनलाई स्वागत गरे । ‘अचेल त भारतीय सुरक्षाकर्मी पनि साथीजस्तै भएका छन्, आउँदा–जाँदा धेरै सहयोग पाउने गरेको छु,’ उनले भने ।

गत वर्षको दशैंमा सीमामा प्रवेश गर्दै गर्दा चोरीको गिरोहको शिकार बन्न पुगेका शाहीको झोला, सामान र पैसा गत वर्ष एसएसबीकै सहयोगमा फिर्ता गरिएको थियो । ‘मैले नेपाल प्रहरीमा जानकारी गराएँ, गड्डाचौकीस्थित भारतीय सुरक्षाकर्मीको क्याम्पमा तत्काल जानकारी दिइयो, त्यसपछि एसएसबीले तीव्र सक्रियताका साथ सर्च अपरेशन चलाएपछि झोला र सामान फिर्ता भयो,’ शाहीले भने ।

‘अचेल त व्यापार साथीभाइको सरसहयोगमै चल्ने गरेको छ,’ कञ्चनपुरको महेन्द्रनगरबाट भारततर्फ प्रस्थान गर्दै गरेका शाहीले भने, ‘उत्तरी नाका धेरै जटिल झण्झटपूर्ण र पासपोर्ट चाहिने भएकाले पनि हाम्रो रोजाई भारत नै हुन्छ ।’

शाही मात्रै होइन सुर्खेतका रंगबहादुर परियार पनि भारत आवतजावत गरिरहन्छन् । सिम्लाको होटल भ्यूपोइन्टमा सहायक निर्देशकको जिम्मेवारीमा कार्यरत परियार नेपाल–भारत सीमा क्षेत्रमा खटिने दुवै देशका सुरक्षाकर्मीहरुलाई भगवान सरह मान्छन् । सिम्लादेखि बस र रेलको यात्रा गरेर नेपाल आउँदा उनलाई कुनै चिन्ता हुँदैन । ‘नेपालमा नेपाली सुरक्षाकर्मी भारतमा भारतीय सुरक्षाकर्मी हामीलाई कुनै चिन्ता छैन, न पासपोर्ट देखाउनुपर्छ न त असुरक्षाकै चिन्ता छ,’ परियारले भने ।

परियारका अनुसार नेपाली नागरिकता अथवा पहिचान खुल्ने कुनै कागजात भए ढुक्कले नेपाल–भारत आवतजावत गर्न सकिन्छ । परियारलाई भारत जाँदा अहिलेसम्म कहिल्यै पनि समस्या बेहोर्नुपरेको छैन । सुरक्षा चुनौती भएको समयमा र भारतमा निर्वाचन भएका बेला मात्रै नागरिकता देखाउनु परेको अनुभव उनी सुनाउँछन् । उनी भन्छन्, ‘अरु बेला कुनै समस्या हुँदैन यो नेपाल–भारत सम्बन्ध कति प्रगाढ छ भन्ने उदाहरण पनि हो।’

नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुसार भारत जाने नेपाली र नेपाल आउने भारतीयहरुले राहदानी देखाउनु पर्दैन । नेपाल भारतको सीमानामा आवतजावत गर्न त्यस्तो कुनै समस्या छैन, यो नेपाल भारतबीचको सदियौ देखिको सम्बन्धको परिणाम हो । केही समयअघि नेपाली राजदूतावासले भारत जाने नेपालीहरुलाई केही समस्या भए जानकारी गराउन आग्रह गरे पनि अहिलेसम्म त्यस्तो कुनै गुनासो नआएको दूतावास श्रोतले बतायो। भारतमा रोजगारीका लागि जाने अधिकांश नेपालीहरुलाई भारतीय सुरक्षाकर्मी र भारतीय सरकारी अधिकारीहरुले सहयोग गर्ने गरेको सर्वसाधरण बताउँछन् ।

यसैगरी, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका उच्च अधिकारीहरु पनि सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीहरुलाई कुनै समस्या नरहेको बताउँछन् । कुनै समस्या आएमा कुटनीतिक वार्तामार्फत तत्कालै समाधान निकालिने परराष्ट्रका एक अधिकारीले बताए ।

के छ नेपाल–भारत सम्झौतामा?
सन् १९५० को नेपाल–भारत मैत्री सन्धिदेखि अहिलेसम्म भएका द्विपक्षीय सम्झौताहरुमा प्रष्टसँग भनिएको छ, ‘नेपाल–भारत आवतजावत गर्ने दुवै देशका नागरिकहरुलाई भिसा लगाइने छैन ।’ नेपाल र भारतबीच भएको यो सम्झौताकै आधारमा नेपालीहरूलाई भारत जान र नेपाली आउने भारतीयहरूलाई भिसा र पासपोर्ट हुनुपर्ने कुनै प्रावधान छैन । ‘सीता जन्मिएको देश नेपाल र राम जन्मिएको भारतबीच पौराणिक युगदेखि नै द्विपक्षीय सम्बन्धलाई भिसा र पासपोर्टले रोक्नै सक्दैन,’ भारतको नयाँ दिल्लीमा कार्यरत नेपाली पत्रकार राम जोशीले भने, ‘सीमा क्षेत्रमा भारतले भिसा लगाएको भन्ने हल्ला कपोकल्पित हो, निराधार हो ।’

नेपाली राजदूताबासको ‘नो अब्जेक्सन लेटर’ किन?

भारतीय विमानस्थलमा अध्यागमन प्रक्रिया पार गरेर तोकिएका १० वटा देशबाहेक अरु मुलुकहरुमा जाने नेपाली नागरिक र सरकारी परिचयपत्र वाहक नागरिकलाई नेपाली राजदूताबासको नो अब्जेक्सन लेटर आवश्यक पर्दैन । नयाँ दिल्लीस्थित नेपाली राजदूताबासले गत असार ६ गते भारतबाट हुनसक्ने अवैधानिक मानवतस्करी नियन्त्रणको उद्देश्यसहित साउदी अरेबिया, कुवेत, युएई, ओमान, बहराइन, इराक, लेवनान र लिबियामा यात्रा गर्ने नेपाली नागरिकलाई ‘नो अब्जेक्सन लेटर’ आवश्यक पर्ने प्रष्ट पारेको थियो ।

अन्य देशमा जाने नेपालीहरुका लागि त्यो नियम लागू हुने छैन । ‘तर, चीन, मकाउ, हङङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकलाई भारतको भिसा आवश्यक पर्ने जानकारी आएको छ,’ राजदूताबासले प्रष्ट पारेको छ । अरु कुनै तेश्रो मुलुकबाट नेपाल फर्किंदा नेपाली नागरिकले भारतमा भिसा लिनु नपर्ने दूताबासले जानकारी दिएको छ । नेपाल सरकारले वैदेशिक रोजगारीका नाममा श्रम स्वीकृती नलिई अवैध बाटोबाट भारत हुँदै जाने र मानव बेचबिखनमा पर्ने नेपालीको संख्या बढेपछि दिल्लीस्थित नेपाली राजदूताबासको सिफारिशपत्र अनिवार्य गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।