आठ-आठ हजार डलर लिएर बा लबा लिका वि देश पठाउने का रोबारमा सरकार नै

काठमाडौं, २७ माघ । नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैँले २० वर्षमा २६ सय ३३ नेपाली बालबालिकालाई धर्म सन्तानका नाममा विदेशीलाई सुम्पेको छ । अझ विडम्बना सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएबापत आठ हजार डलरका दरले रकम पनि लिने गरेको छ ।

उन्नत भविष्यका लागि कुनै पनि नागरिक स्वेच्छाले बिदेसिन सक्छ । तर, आफ्नो रोजाइ तय गर्न नसक्ने १४ वर्षमुनिका अबोध बालबालिकालाई सरकारले पैसासँग साटेको हो । यसरी २० वर्षमा २६ सय ३३ बालबालिकाबाट राज्यले दुई करोड १० लाख ६४ हजार अमेरिकी डलर उठाएको छ । तर, ती बालबालिका कहाँ कुन अवस्थामा छन् भनेर सोधखोज गर्ने कुनै सरकारी निकाय छैन ।

बालबालिका अनाथ भए अभिभावकत्व दिने जिम्मेवारी राज्यको हो । तर, राज्यले अनाथलाई संरक्षण दिने होइन, धर्म सन्तानका नाममा विदेशीलाई सुम्पिने नीति नै लिएको छ । अन्तरदेशीय धर्मपुत्र तथा धर्मपुत्री विकास समिति नामै राखेर यो ‘कारोबार’ लाई सरकारले प्रवर्धन गरेको छ ।

प्रतिबालबालिकाबाट आउने आठ हजार डलरमध्ये तीन हजार यही समितिका नाममा खर्च भएको छ । पाँच हजार डलर भने सम्बन्धित बालबालिका रहेको बालगृहले लिने गरेको छ । कतिपय बालगृह यही पैसाका लागि सञ्चालन भएको बालबालिका मन्त्रालयकै जिम्मेवार अधिकारीहरू बताउँछन् ।

गत वर्ष देवानी संहिता जारी भएपछि धर्मपुत्र तथा धर्मपुत्री विकास समिति स्वतः खारेज भएको छ । त्यसैले अहिले वैधानिक कारोबार रोकिएको छ । तर, फेरि सञ्चालन गर्न मन्त्रालयले नयाँ कार्यविधि बनाएको छ । मन्त्रिपरिषद्ले विभिन्न कारण देखाउँदै फिर्ता पठाएको छ ।

बालबालिकाले आफ्नो निर्णय आफैं गर्न नसक्ने हुनाले उनीहरूलाई धर्म पुत्र–पुत्री बनाएर विदेश पठाउने प्रक्रियालाई संसद्को महिला तथा सामाजिक विकास समितिले गलत भनेको छ । गत बुधबार समितिले त्यस विषयमा छलफल गर्दै विदेशीहरूले नेपाली बालबालिकालाई धर्म सन्तान बनाएर लैजाने कार्य रोक्न मन्त्रालयलाई निर्देशन समेत दिएको थियो ।

गैरकानुनी रूपमा एवं अदृष्य मिलेमतोमा पनि नेपाली बालबालिका विदेशी नागरिकलाई बेच्ने गरिएको निष्कर्ष पनि समितिले निकालेको छ । संसदीय समितिले संघ, संस्था दर्ता ऐन, २०३४, समाजकल्याण ऐन, २०४९, राष्ट्रिय निर्देशन ऐन, २०१८ लाई सुधार र शंसोधन गर्न प्रक्रियामा लैजान पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

धर्म सन्तान हस्तान्तरणका लागि सरकारले गठन गरेको तत्कालीन समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठ केही वर्षअघिसम्म धर्म सन्तान हस्तान्तरणमा समस्या रहेको स्विकार्छन् । उनका अनुसार विदेशी नागरिकले प्रक्रिया अघि बढाउनुअघि नै बालगृहमा गएर बच्चा छान्ने र त्यही बच्चा प्राप्त गर्ने गरी प्रक्रिया चाल्ने गरेको थियो । त्यसरी विदेशी नागरिकलाई धर्म सन्तान मिलाई दिएबापत बालगृहहरूले विदेशीबाट ठूलो अंकमा पैसा असुल गर्ने गरेको विगत रहे पनि आफ्नो कार्यकालमा रोकेको श्रेष्ठ दाबी छ ।

राज्यले अनाथ बालबालिकाको हक–हित संरक्षण गर्ने उद्देश्यले केन्द्रीय बालमन्दिर ‘बालसंगठन’ खोलेको छ । र गैरसरकारी संस्थाका रूपमा बालगृहहरू खुलेका छन् । बाबु आमालगायत अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि भनेर ती संघसंस्था खोलिएका हुन् ।

धर्म सन्तान चाहने विदेशी नागरिकले नेपालस्थित सम्बन्धित देशको दूतावासमार्फत विगतमा बालमन्दीरमा निवेदन दिन्थे । बालमन्दिरले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिने र बालबालिकालाई अनाथ प्रमाणित गरेर महिला, बालबालिका मन्त्रालयको स्वीकृति लिएर धर्मसन्तान हस्तान्तरण गर्दै आएको थियो । अन्तरदेशीय धर्मपुत्र तथा धर्मपुत्री विकास समिति गठन भएपछि धर्मसन्तानका लागि निवेदन लिने, जिल्ला प्रशासन कार्यालयबाट अनाथ बालबालिका प्रमाणित गर्नेलगायतका काम समितिले गर्दै आएको थियो ।

बालगृह र बालमन्दिरको शंकास्पद भूमिका

नेपाल बालमन्दिरका बालकृष्ण डंगोल बालबालिकालाई अन्तर्राष्ट्रिय गिरोहसम्म पुर्‍याएको आरोपमा २९ साउन ०७६ मा पक्राउ परे । अनाथ, असहाय, अशक्त बालबालिकाका लागि घरका रूपमा गठन भएको बालमन्दिरका निर्देशकले नै बालबालिकालाई अन्तर्रा्ष्ट्रिय गिरोहसम्म पुर्‍याएका हुन् ।

डंगोलले करिब एक महिनाको शिशुलाई ४ लाख रुपैयाँमा बेलायती नागरिकलाई बिक्री गरेका थिए । उनले बेलायती नागरिक डोना स्मिथलाई त्यो बच्चा बेचेका थिए । ती शिशुलाई विदेश लैजान अध्यागमन विभागमा प्रक्रिया मिलाउँदै गर्दा विदेशी नागरिक स्मिथ र डंगोल पक्राउ परेका थिए ।

यसअघि ४ भदौ ०७६ मा संसद्को महिला तथा सामाजिक समितिले धर्मसन्तानको नाममा बालबालिका ओसारपसारमा सम्बन्धित संस्थाकै मिलेमतो रहेको निष्कर्ष निकालेको थियो । बालमन्दिरका निर्देशक नै बालबालिका बेचबिखनको आरोपमा पक्राउ परेपछि समितिले अन्य कर्मचारी पनि संलग्न हुन सक्ने भन्दै छानबिन गर्न निर्देशन दिएको थियो ।

त्यही निर्देशनका आधारमा सरकारले बालमन्दिर जाँचबुझ आयोग गठन गरेको छ । जाँचबुझ आयोगका सदस्य मदन धरेलले आयोगलाई बालसंगठन (बालमन्दिर) को अवस्था, त्यसको भौतिक सम्पत्ति र त्यसको अवस्था, बालसंगठनभित्र गलत काम भएको छ कि छैन, भएको भए कारबाही सिफारिस गर्ने क्षेत्राधिकार तोकिएको बताए । उनले त्यसै सेरोफेरोमा जाँचबुझ आयोगले काम गर्ने बताए ।

विदेशीलाई बालबालिका सुम्पेपछि ढुक्क सरकार

०५७ देखि हालसम्म ९१७ बालक र १७१६ बालिकालाई सरकारले धर्म सन्तानका रूपमा विदेशी नागरिकको जिम्मा लगाइसकेको छ । त्यसमध्ये स्पेनका नागरिकले ७६४ नेपाली बालबालिका लगेका छन् । यस्तै, ५८९ लाई इटाली, ३३२ लाई फ्रान्स, ३०८ लाई अमेरिका र २१० लाई जर्मनी लगिएको छ ।

नेपालबाट लगिएका ती बालबालिकाको अवस्था कस्तो छ भन्नेबारे सरकार बेखबर छ । धर्म सन्तान हस्तान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार धर्मसन्तान १८ वर्ष नहुँदासम्म त्यसरी सन्तानको रूपमा ग्रहण गर्ने व्यक्तिले बच्चा जन्मिएको देशको सम्बन्धित निकायलाई हरेक ६ महिनाको रिपोर्ट पेस गर्नुपर्छ ।

त्यस्तो रिपोर्टमा बच्चाको स्वास्थ्य रिपोर्टसहित सम्पूर्ण अवस्था समेटिएको हुनुपर्छ । तर, विदेशी नागरिकहरूले नेपालबाट बच्चा लगेपछि सुरुको ६ महिनामा रिपोर्ट पेस गर्ने र त्यसपछि रिपोर्ट बुझाउने नगरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका एक अधिकारीले बताए । यो विषयमा अनुगमन भएको छैन ।

धर्म पुत्र–पुत्री विकास समिति सञ्चालन हुँदा पनि त्यसले बालबालिकालाई विदेश पठाउने कामको मध्यस्थता मात्रै गर्दै आएको थियो । सो समितिले विदेश गएका बालबालिकाको विषयमा चासो नराखेको भनेर महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष टिप्पणी गर्दै आएको थियो । तर, सो समिति पनि अहिले खारेज भइसकेको छ । नयाँ पत्रिका दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।