फ लाम उ त्खनन प्र क्रिया शु रू
पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ र ६ मा रहेको फलामखानी उत्खनन प्रक्रिया शुरू भएको छ । ७ दशकदेखि बन्द रहेको धाउखानी जंगलस्थित फलामखानी उत्खननका लागि खानी तथा भूगर्भ विभागले सर्वेक्षण शुरू गरेको हो ।
विभागका वरिष्ठ भूगर्भविद् ठाकुर कँडेलले ईआरटी (इलेक्ट्रिकल रेसिस्टिभिटी टेक्नोलोजी)को माध्यमबाट खानीको अध्ययन अनुसन्धान भइरहेको जानकारी दिए । ‘प्रारम्भिक सर्वेक्षणबाट हाल ठाउँमा सतहमै फलाम रहेको पाइएको छ,’ कँडेलले भने, ‘कुनै स्थानमा जमीनमुनि भेटिएको छ । फलामको गुणस्तरबारे पनि अध्ययन गरिन्छ ।’ २ देखि ८ मिटरसम्म खानी रहेको अध्ययनले देखाएको उनले बताए । रोशन तिवारीले आजको आर्थिक अभियानमा लेखेका छन् ।
विभागको मापदण्ड अनुसारको प्रतिवेदन आएमा फलामखानी उत्खनन गरिने कँडेलले जानकारी दिए । यस वर्ष विस्तृत सर्भे गरिने र प्रतिवेदन सकारात्मक आए अर्को आर्थिक वर्षदेखि उत्खननको काम शुरू हुने उनले सुनाए । नेपाल सरकारले बन्द रहेका फलामखानीको उत्खनन गर्ने चालू वर्षको नीति तथा कार्यक्रममै उद्घोष गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा पर्वतको फलामखानी र नवलपरासीको धौवादीमा रहेको फलामखानी अध्ययन गर्ने विषय समावेश थियो ।
सरकारले नै चासो दिएकाले यहाँको फलामखानी उत्खनन हुने आशा गरिएको महाशिलाका गाउँपालिका अध्यक्ष राजप्रसाद पौडेलले बताए । ‘२०१८ सालसम्म स्थानीय बासिन्दाले मौलिक शैलीबाट यहाँको फलाम उत्खनन गरेर बजार पठाउँथे,’ अध्यक्ष पौडेलले भने, ‘वन मासिएको भन्दै तत्कालीन सरकारले बन्द गराएको हो । हालसम्म खानी उत्खननको ठूलो प्रयास भए पनि उत्खननको प्रक्रिया शुरू भएको थिएन ।’ सरकारले नै चासो देखाएपछि बन्द रहेको फलामखानीबाट पुनः फलाम उत्खनन हुने सम्भावना बढेको पौडेलले बताए ।
स्थानीय ७८ वर्षीय परमदास सुनारका अनुसार खानी सञ्चालन हुँदा गाउँका अधिकांशले खानीबाट निकालेको फलाम विक्री गरेर गर्जो टार्ने गरेका थिए । सरकारले खानी बन्द गर्न लगाएपछि करीब ४ सय परिवारको रोजीरोटी गुमेको थियो । खानी विभागले अध्ययनको काम थालेकाले फेरि खानी सञ्चालन हुने आशाले खुशी भएको सुनारले बताए । ‘गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी राखिएको हो,’ सुनारले भने, ‘अहिले पनि खेतका कान्ला र डहरहरूमा फलामका टुक्रा भेटिन्छन् ।’
वडाध्यक्ष रामबहादुर सुनारका अनुसार तत्कालीन जिल्ला विकास समितिको पहलमा २०६० को दशकमा केन्द्र सरकार र विभिन्न खानी तथा भूगर्भशास्त्रीहरूसँग यहाँको खानी उत्खनन गर्न विभिन्न प्रयास गरे पनि सम्भव भएको थिएन ।


