लकडाउनमा वडाध्यक्षको उदाहरणीय काम जसले उचित मूल्यमा उपलब्ध गराए आलु, प्याज र नून
घनश्याम मिश्र, जनकपुरधाम, १३ चैत । कोरोना भाइरसको सं,क्रमण फैलिन नदिनका लागि अहिले समग्र मुलुक लकडाउनमा छ । लकडाउन भएका कारण दैनिक उपभोग्य सामानहरुको अभाव देखिएको छ ।
यति मात्र नभई भएका सामानहरु समेत चर्को मूल्यमा किन्न उपभोक्ताहरु बाध्य छन् । लकडाउनमा यी समस्याहरुलाई ध्यानमा राख्दै जनकपुरधाम उपहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले उदाहरणीय कर्म गरेर देखाउनु भएको छ । उहाँले आफ्नो वडाका वडावासीलाई उचित मूल्यमा आलु प्याज तथा नून उपलब्ध गराउनु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष साहले लकडाउनका कारण आफ्नो वडावासीलाई अभाव हुनु नदिनका लागि गोदामबाटै आलु, प्याज तथा नून उठाएर उचित मूल्यमा वडावासीलाई उपलब्ध गराउनु भएको हो ।
उहाँले आफ्नो वडाका स्थानीयलाई ५ किलो आलु, ५ किलो प्याज र एक प्याकेट नून उपलब्ध गराउनु भएको हो । ५ किलो आलु ३५ रुपैयाको दरले १ सय ७५ रुपैया, २ किलो प्याज ४५ रुपैयाको दरले ९० र नुन १ प्याकेट २० रुपैयाँमा उपलब्ध गराउनु भएको हो ।
यसबाट जनकपुरधाम वडा नम्बर ७ का लगभग १ हजार घर परिवार लाभान्वित भएका छन् । लकडाउनका कारण कालाबजारी बढिरहेको समयमा वडाध्यक्ष साहको यो कदमले वडावासी खुशी देखिएका छन् । कोरोनाको महामारी विश्वभर फैलिरहेको समयमा यसको संक्रमणबाट बच्नका लागि वडावासीलाई सहज रुपमा कमसे कम आलु प्याज उपलब्ध गराउने सोच अनुरुप आफूले यो कार्य गरेको बताउनु भयो ।
यता तरकारी लिनका लागि लामवद्ध भएकाहरु मध्ये एक अमिर दर्जीले वडाध्यक्षको यो कदमले आफूहरु लाभान्वित भएको र बजारमा भौतारिनु नपरेकोमा खुशी व्यक्त गरे ।
तरकारी उपलब्ध गराउनका लागि लगाइएको लाइनमा सामाजिक दुरीको समेत पालना गरिएको थियो । प्रत्येक व्यक्तिका लागि गोलबन्द घेरा बनाइएको थियो । ती गोलबन्द घेराको दुरी ८ फिट राखिएको थियो ।
वडाध्यक्ष साहले तरकारी लिन आउनेहरुलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन लगाउनु भएको थियो भने मास्क समेत अनिवार्य गरिएको थियोे ।


