सांसदद्वारा नयाँ नक्सा बनाउने सरकारी निर्णयको स्वागत
काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल सरकारको आगामी आबको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्दै सांसदहरुले तत्कालै नक्सा सार्वजनिक गर्न माग गरेका छन् । यसका लागि सरकारलाई संसद् र राजनीतिक दलले पूर्ण सहयोग गर्नेसमेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । सांसदहरुले कोभिड–१९ को असर कम गर्न र सङ्क्रमण रोक्नका लागि आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेका छन् ।
कालापानी लिम्पियाधुरा लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयको स्वागत गर्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने, ‘सडक उद्घाटन गरेपछि मात्रै थाहा हुने अवस्था किन आयो ? कसका त्रुटिले हो ? जवाफ चाहियो ।’ उनले कूटनीतिकरूपमा छिमेकी देशसँग छलफल कति भयो जानकारी भन्दै जानकारी माग गरे । उनले कोभिड–१९ को सङ्क्रमण रोक्न पछिल्लो समयमा भइरहेको गतिविधिबारे जानकारी दिनसमेत माग गरे ।
नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गर्दै उक्त विषयमा विभिन्न आशङ्का उब्जिरहेको बताए । उनले नक्साको कदापि दुरुपयोग नहुने विश्वास व्यक्त गरे ।
सांसद प्रेम सुवालले सरकारले स्वीकृत गरेको नक्सा सार्वजनिक किन नगरेको भन्दै प्रश्न उठाए । उनले नयाँ नक्साअनुसार काँडेतार लगाउनसमेत सरकारलाई सुझाव दिए । अर्का सांसद डा.अमरेशकुमार सिंहले प्रदेश नं २ मा कोरोना प्रभावित र मजदुरको अवस्था दयनीय भएकाले तत्कालै व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । उनले कर्णाली र प्रदेश नं २ लाई नीति तथा कार्यक्रममा सरकारले सम्बोधन नगरेको भन्दै चिन्ता प्रकट गरे ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीको चपेटामा परेका विपन्नका लागि राहत प्याकेज ल्याउन माग गरे । राहत प्याकेजबारे उनले प्रधानमन्त्रीको धारणा माग गरे । उनले साना, मझौला उद्यमी, पर्यटन व्यवसायी तथा नीजि क्षेत्रको आत्मविश्वास अभिवृद्धिका लागि सरकारले अघि सारेको योजनाबारे जानकारी दिन आग्रह गरे ।रासस


