पीसीआर जाँच बाजुरामै हुने
बाजुरा, जेठ २७ गते । जिल्लाको बूढीगङ्गा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख रुपियाँ बजेट विनियोजन गरिएको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र पीसीआर मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगरप्रवक्ता माया शाहले जानकारी दिनुभयो । बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको छ ।
बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको प्रवक्ता शाहको भनाइ छ ।
यस्तै बैठकले कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा १० लाख रुपियाँ क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको छ । नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ । पीसीआर जाँचमा भएको ढिलाइका कारण कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टाइनमा बसेकाहरूको रिपोर्ट सात दिन बितिसक्दा पनि आएको छैन ।रासस


