धनकुटाको नमस्ते झरना नजिकै लेउती खोलामा पर्यटकीय पुर्वाधार निर्माण
धनकुटा खबर । पूर्वको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा स्थापित धनकुटाको नमस्ते झरना नजिकै रहेको लेउती खोलामा पर्यटकीय पुर्वाधार निर्माण गरिएको छ । साँगुरीगढी गाउँपालिका वडा न. १ मा चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख लगानीमा पर्यटकीय पुर्वाधार निर्माणको काम गरिएको हो ।
प्रदेश सांसद आरसी तुम्बाको निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १० लाख र जनश्रमदान २ लाख ५७ हजार ६ सय ६२ रुपैयाँको लागतमा लेउतीमा पिकनिक स्थल, देविथान, पिकनिक स्थल जाने पदमार्ग निर्माण गरिएको लेउती जलाधार प्रकृति–सांस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलबहादुर राईले बताउनु भयो ।

यो ठाउँलाई धनकुटाको भेडेटार र नमस्ते झरना पछिको पर्यटकीय गन्तव्य बनाउने लक्षका साथ काम गरिएको उहाँले बताउनु भयो । पिकनिक स्थल, देविथान, पिकनिक स्थल जाने पदमार्गको उद्धाटन गर्दै प्रदेश सांसद आरसी तुम्बाले आफुले निर्वाचन पुर्वाधार विकास कार्यक्रम मार्फत शूरुवात गरेको र बाँकी काम स्थानीय सरकारले गर्नुपर्ने बताउनु भयो ।
लेउती खोला उत्तरतिर बगेको हुनाले उत्तरबाहिनीको महत्व धार्मिक परम्परा अनुसार रहेको हुँदा यो क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने प्रदेश सांसद तुम्बाले वताउनुभयो ।


