सांसद राजेन्द्र राईको पहल – धनकुटाकै अग्लो ‘पटेक डाँडा’मा पूर्वाधार बिकाससंगै पर्यटकको भीड लाग्न थाल्यो
नारायण कुमार राई, धनकुटा खबर । धनकुटाका माननिय सांसद राजेन्द्र राईको पहलमा जिल्लाकै अग्लो पटेक डाँडामा पर्यटन पूर्वाधार निर्माणका कामहरु भईरहेका छन् ।
जिल्लाको छथर जोरपाटी गाउँपालिका,महहालक्ष्मी नगरपालिका र छथर गाउँपालिका तेह्रथुमको सिमानामा रहेको यस डाँडाको उचाई समुद्री सतहबाट २,७०२ मिटरको उचाई रहेको छ ।
तेह्रथुम र २ स्थानिय तहबाट आ–आफ्नो सिमा क्षेत्रबाट ३ तर्फबाट भईरहेको पूर्वाधार बिकाशमा धनकुटाका तर्फबाट माननिय राईले पटेक डाँडाको बिकासका लागि पहल गर्नुभएको हो ।
उहाँको पहलमा २०७५ सालबाट हाल सम्म छथर जोरपाटी गाउँपालिका क्षेत्रमा मात्र १ करोड ५७ लाख लगानी भएको गाउँपालिकाका योजना अधिकृत दुर्गा बहादुर राणाले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्रबाट २०७५ सालमा हलहले पटेक डाँडा प्रारम्भिक बाटो निर्माणका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १० लाखलगानीबाट गाउँपालिकाले काम शुरु गरेको थियाृ ।
त्यसपछि सांसद राईकै पहलमा आर्थिक बर्ष ०७५÷०७६ मा स्थानिय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २० लाख,आर्थिक बर्ष ०७५÷०७६ मा पर्यटन मन्त्रालय प्रदेश सरकारको २० लाख लगानी भएको थियो ।
आर्थिक बर्ष ०७५÷०७६ र गत आर्थिक बर्ष ०७६÷०७७ मा सांसद राईकै पहलमा पुनः पर्यटन मन्त्रालय केन्द्रिय कार्यालयको बार्षिक ५० लाख गरी १ करोड लगानी भएको थियो ।
उक्त योजना सुधारका लागि हलहले पटेक डांडामा गाउँपालिकाले बिभिन्न मर्मत सम्हारका काममा ७ लाख लगानी गरिसकेको गाउँपालका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो । चालू आर्थिक बर्षमा भने कोरोनाका कारण लगानी हुन नसकेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

हाल सम्म सिंधुवा बजारको हलहलेबाट ११८ मिटर कच्ची सडक,२२७ मिटर सिंढी र ४६३ मिटर रेलिङ निर्माण गरिएको योजना अधिकृत रानाले जानकारी दिनुभयो ।
मकालु,कनचनजंघा लगाएत बिभिन्न हिमश्रखला र आसपासका मनमोहक दृष्य हेर्न सकिने भएकाले पटेक क्षेत्रमा हरेक दिन पर्यटकहरुको भीड लाग्न थालेको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
“पूवार्धार बिकाश भएपछि उक्त क्षेत्रमा आन्तरीक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।”–उहाँले धनकुटा खबरलाई भन्नुभयो । उक्त स्थानबाट ईलामको अन्तुडाँडा जस्तै सूयोदयको दृष्य र प्रदेश नं.१ का १४ जिल्लाका बिभिन्न स्थानहरुको अवलोकन गर्न सकिने लिम्बूले जानकारी दिनुभयो ।
पटेक डाँडाको पर्यटन बिकासमा तेह्रथुम जिल्लाको छथर गाउँपालिका र महालक्ष्मी नगरपालिका धनकुटाले पनि आफ्ना क्षेत्रबाट पूर्वाधार बिकासका कार्यक्रमहरु गरिरहेका छन् ।


