जुम्लाको धान दिवस ‘बारुवा, सोरुवाँ र विश्वाँपर्व’

कर्णाली, ‘चैताबारुवाँसम्म घर आएन भने जुम्ली म¥यो भुनि जान्नु ।’ दुई दशकअघिसम्म चैतको १२ गतेसम्म घर नपुग्दा जुम्लीको मृत्यु सुनिश्चित गरिन्थ्यो । यो कर्णालीको जनजीवनमा आधारित यथार्थ र कारुणिक कथन हो । यससँग यहाँको सामाजिक र सांस्कृतिक जीवन जोडिएको छ ।

असोज कात्तिकमा धान, कोदो, फापरलगायत बाली भण्डारण गरेर कालापहाड जाने कर्णालीवासीको जीवनशैलीसँग सम्बन्धित कथा बोकेको ऐतिहासिक महत्वको दिन हो, चैत १२ गते अर्थात् बारुवाँ । यसलाई जुम्लाले विशेष महत्वका साथ ‘मुठो रोपेर मुरी उत्पादन गर्ने’ दिनका रुपमा मनाउने गरेको छ र यस वर्ष पनि मनायो ।

कर्णाली प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर गत वर्षबाट चैत १२ लाई जुम्लाको धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । त्यहीअनुसार धान दिवसका रुपमा जुम्लाले बारुवाँ पर्वलाई सार्वजनिक बिदाका रुपमा मनाएर उक्त दिनमै कालीमार्सी धान उमार्ने बीउ छर्ने तयारी गरेको थियो ।

कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार जुम्लाले चैत महिनालाई ‘बारुवाँ, सोरुवाँ र विश्वाँ’का रुपमा मनाउँछ । सामाजिक तथा सांस्कृतिक दृष्टिले सम्पन्न मानिने यो पर्व जुम्ला र इतरका जिल्लाहरुमा अहिले पनि विद्यामान छ र नागरिकहरुले यसलाई निरन्तरता दिइरहेका छन् ।

आचार्यले खासगरी चैत १२ गते (बारुवाँ) मा जुम्ली किसानले वर्षभरि लगाउने सबै खेतबारीमा रोप्न मिल्ने आङ्कलन गरी त्यही परिमाणमा कालीमार्सी धान केलाएर पुष्ट धानलाई भाँगो वा अल्लाबाट बनेको बोरामा हालेर नजिकैको नदी वा खोलामा भिजाउने परम्परा निरन्तरता दिए ।

बारुवाँमा भिजाइएको धानलाई चार दिनपछि सोरुवाँ (चैत १६) गतेका दिन पानीबाट उतारेर किसानले घरमा ल्याउँछन् । भिजाइएको धानलाई घरको चुल्होसँग जोडिएको मैडो (समथर ठाउँ) मा राख्छन् । सल्लाको झुप्रा वा भोजपत्रले त्यसलाई ढाकेर न्यानो बनाउँछन् । आजै भिजाइएको धानको चिउरा कुट्छन् र छोरी बहिनीहरुलाई कोशेलीका रुपमा पठाउने गर्दछन् ।

मूलतः बारुवाँपर्व, चन्दननाथबाबा र लक्षालकृति पैकलोबीच अन्तरसम्बन्ध रहेको जानकार आचार्यले बताउनुभयो । “प्रदेश सरकारले बारुवाँलाई केन्द्रित गरी जुम्लामा सार्वजनिक बिदा दिएर बारुवाँ संस्कृतिको ऐतिहासिक विरासत जोगाएको छ”, उहाँले भन्नुभयो, “यसले मार्सी धान, यसको खोज र उत्पादनको इतिहासलाई स्मरण गराउँछ ।”

उहाँका अनुसार साके संवत् १५१५ मा विद्वान हरिदास आचार्यले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । पन्ध्रौँ शताब्दीतिर चन्दननाथ बाबाले आफ्नो लामो खोज, अध्ययन तथा अनुसन्धानपछि कालीमार्सी धान पत्ता लगाएको पाइन्छ ।

किंवदन्तीअनुसार तातोपानी गाउँपालिकामा जन्मेको लक्षालकृति पैकलो (शुरवीर)ले तातोपानीकै लाक्षु जिउलोको बीचमा अवस्थित गुरु फोक्टोबाट कालीमार्सी धानखेती शुरुआत गरेकोबाट जुम्लामा कालीमार्सी धानको खेती थालिएको इतिहासमा उल्लेख भएको उहाँको भनाइ छ ।

को थिए लक्षालकृति पैकेलो ?

किंवदन्तीअनुसार लक्षालकृति पैकेलो चन्दननाथ बाबाका आज्ञाकारी चेला थिए । यद्यपि, तातोपानी गोप्थडा गाउँ निवासी सन्तानविहीन बुँदे बुढा वनमा निगाला लिन जाँदा रोइरहेका बालक भेटाएपछि घरमा ल्याएर धर्म छोरो बनाएका थिए । उनी हुर्कंदै जाँदा पछि असाधारण व्यक्तिका रुपमा समाजमा देखिए ।

उनले जुम्ला भित्रकै दानुवा दह नजीकको दानसाँघु भिट्टो (डाँडो), हालको जुम्ला सदरमुकामको यावादहसँग जोडिएको खलाचौर भित्तो र लामी रहसँग जोडिएको बाँजाराउला काटेर जुम्लामा मानव बस्ती बसाल्नाका साथै धानखेती शुरु गरेका थिए ।

इतिहासकारहरुलाई उद्धृत गर्दै आचार्यले लक्षालकृति एक असाधारण, शक्तिशाली र परिश्रमी व्यक्ति भएको र उनले गरेको खेती पछि साबिकका कर्णालीका अन्य जिल्लामा पनि फैलिएको बताउनुभयो । लक्षालकृति पैकलोले धानखेती शुरु गरेको गुरु फोक्टो रहेको जिउलोको नामलाक्षु रहेकाले जुम्लाका चौधबीस, असी, सिञ्जा दरा (भेक) बाहेक पाँचसय दरामा कालीमार्सी उब्जनी गर्न थालिएको उहाँको भनाइ थियो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले सामाजिकसहित सांस्कृतिक विरासत बोकेको बारुवाँ (चैत १२) ले कर्णालीको आत्मनिर्भरतालाई समेत जोड दिँदै आएको बताउनुभयो । आत्मनिर्भर एवं स्वाभिमानी जीवन जीउन, मिहिनेत, परिश्रम गरेर खाने संस्कारलाई बढावा दिनाका साथै अर्थपूर्ण सन्देश पनि प्रवाह गर्दै आएको अध्यक्ष न्यौपानेले जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो खेती प्रणाली र पर्यावरण बचाउन हाम्रा संस्कृतिले ठूलो सहयोग पु¥याउँदै आएका छन् । यद्यपि, आधुनिकताको तीव्र विकासले मौलिक संस्कृतिहरु लोप हुँदै जाँदा परनिर्भरता बढ्दै गएको छ ।” ब्यूटाकलरको प्रयोगपछि त्यसको असर सहन नसकेको कालीमार्सी पछिल्लो समयमा लोपन्मुख अवस्थामा पुगेको भन्दै अध्यक्ष न्यौपानेले चिन्तासमेत प्रकट भयो ।

नेपाल कृषि अनुसन्धान केन्द्रले पुरानो र नयाँ प्रविधिको संयोजनबाट कालीमार्सीको साख बचाउनुपर्ने र सबै तहका सरकारहरुको संलग्नतामा यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन हुनुपर्ने उहाँले सुझाउनुभयो । अध्यक्ष न्यौपानेका अनुसार कालीमार्सीको संरक्षणसँगै यहाँका रैथानेबालीहरु कोदो, सिमी, फापर, चिनो, कागुनो, मार्से र उवाको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्न सक्छ ।

बारुवाँ र सामाजिक जीवन
बारुवाँ र सामाजिक जीवनको आफ्नै अन्तरसम्बन्ध छ । बारुवा पर्व मात्र नभई कर्णालीको समग्र खेती प्रणाली, यहाँका नागरिकको दिनचर्यालाई यथार्थ रुपमा चित्रण गर्ने सामाजिक एवं मौलिक महत्वको दिन हो ।

बारुवाँले जुम्ली घर आउने कुरासँग मात्र सम्बन्ध राख्दैन । उतिबेलादेखि आजसम्मको कर्णालीको वास्तविकता सरल रुपमा कोट्याउन उत्प्रेरित गर्दछ ।

जुम्लीको छ महिनाको कहालिलाग्दो कालापहाड यात्रा, त्यो अवधिमा भोगेका तीता क्षणहरु, परदेशीको पर्खाइमा बस्ने परिवार, मिलन, खुशी र रोदनका अवस्थालाई बारुवाँले स्मरण गराउँछ । त्यो परिवेश आजसम्म पनि कायम छ । फरक यति मात्र हो कि अहिले चैत १२ गते जुम्लीहरु गाडीमा आउँछन्, उतिबेला महिनाँै दिनको पैदल यात्रा गर्नुपथ्र्याे ।

डेढ दशकअघि सम्म साबिक कर्णाली पैदल यात्राकै भरमा जुम्ला पुग्थ्यो । आज करीब घरसम्मै मोटर पुग्छ, उतिबेला चैतको १२ गते कसैको घरमा निकै खुशियाली हुन्थ्यो भने कसैको घरमा रुवावासी । कालापहाड गएको छ महिनापछि परदेशी घर नफर्कंदा एकै छिमेकका परिवारमा कसैले आफन्त गुमाएको हुन्थ्यो ।

आफ्नो सदस्य गुमाएको परिवारको कारुणिक दृश्यले छिमेकीलाई पनि स्तब्ध बनाउँथ्यो । अघिल्लो दिन मखमली चोलो, धोती (गाबुन), पटुका, चुरापोते, चुलठी लगायतले सुन्दर पहिरनमा सजिएकी महिला क्षणभरमै फेरिएको सेतो पहिरनले विरुप बन्न विवश हुन्थिन् ।

कर्णालीको ग्रामीण संस्कार दुःखमा परेका परिवारका लागि सहयोगी बन्थ्यो । छिमेकीहरुले पीडित घरपरिवारलाई वर्षौंसम्म खेती किसानी, धारा पँधेरा, वस्त्र व्यवस्थापनलगायत सहायता गरिरहन्थे । एउटा विडम्बना त के थियो भने सेतो पहिरनकी महिलाप्रति हेर्ने सामाजिक दृष्टिकोण भने कमजोर थियो ।
तिला गाउँपालिका–४ जुम्ला निवासी वीरबहादुर सिंहले कालापहाडमा गएर आफ्नै सहपाठीहरुले अकालमा ज्यान गुमाएको तीतो अनुभव सुनाउनुभयो । “जुम्लाबाट खानाखर्च, लत्ताकपडा, भाँडाकुडासहित पैदल हिँडेर नेपालगञ्ज पुग्न महिनादिन लाग्थ्यो”, सिंहले भन्नुभयो, “भारतमा ज्यालादारी काम गरेर छ महिनापछि बारुवाँ भेटाउनै पथ्र्यो तर साथी गुमाएर घर पुगेको दिन निकै पीडादायी हुन्थ्यो ।”

हुलाकीको काम परेवाले गर्दथ्यो भन्ने किंवदन्तीअनुसार बिहान काग कराउँदा के खबर लिएर आयो भनेर निधो गर्ने संस्कारलाई आज सूचना, सञ्चार र नवीतम् प्रविधिको विकासले विस्थापित गरिदिएको छ ।

शारीरिक स्पर्शबाहेक करीब सबै कामहरु आधुनिक प्रविधिले समाधान गरिरहेको छ । त्यतिमात्र होइन सूचना र प्रविधिको तीव्र विकास यो विकसित युगमा सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता बोकेको हाम्रो मौलिक संस्कृति, संस्कार एवं सभ्यता संरक्षणमा ठूलो चुनौती बन्दै गएको छ ।

यथार्थमा मानवीय भावना र सामाजिक तथा सांस्कृतिक जनजीवनसँग जोडिएको ‘बारुवाँपर्व’ कर्णालीको मानव जीवनको एक पहिचान पनि हो । यस पर्वले समयको गतिअनुसार चल्न नसक्ने प्रवृत्ति वा चरित्रको कुनै पनि व्यक्ति वा समाजले फलको आशा गर्नु निरर्थक हुन्छ भन्ने सन्देश पनि दिएको छ । अर्कातर्फ ‘रोप्नेलाई मात्र कटनी गर्ने अधिकार छ’ भनेर पनि अथ्र्याउँछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।