काँग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुर मध्यावधि चुनावको पक्षमा

काठमाडौँ । सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ । तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भूमिका खेलिरहेको छ ।

ठाकुर र महतो मुद्दाका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिन्छन् । चुनावमा जाने सबालमा यो पक्षको रणनीतिक योजना प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति देउवासँग पनि मिल्छ ।

कांग्रेसले चैत २१ गते आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो । त्यस्तो निर्णय गराउने पक्षमा देउवा थिएनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबले उनी बाध्यतामा परेका हुन् । पार्टीको निर्णयपछि पनि देउवा केही दिन ढुक्कले बसे ।

सरकार निर्माणमा पहल नगरेको भनेर आलोचना भएपछि उनले शुक्रबार माओवादी केन्द्र र जसपासहितको बैठक डाके । कांग्रेस नेतृत्वमा सरकार बनाउन देउवाले औपचारिक रूपमा प्रस्ताव पनि गरे । माओवादी केन्द्रले सजिलै स्विकारे पनि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले मानेनन् । कांग्रेसका एक नेताका अनुसार ठाकुर र महतो सरकार निर्माणमा सामेल हुन्छन् भन्नेमा सुरुदेखि नै देउवालाई विश्वास थिएन । पौडेल र सिटौलाको दबाब मत्थर बनाउन मात्र उनले तीन दलको बैठक डाकेका हुन् ।

आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसबाट प्रस्ताव आएपछि पार्टीमा आन्तरिक छलफल गरेर निर्णय दिने भनी निस्केका ठाकुर र महतोले आइतबार पाँच सदस्यीय पदाधिकारी बैठकमा संसद्को एजेन्डा नबनेसम्म सरकारबारे पार्टीले औपचारिक निर्णय लिन नहुने अड्डी कसे ।

यसको अर्थ संसद्मा अविश्वासको प्रस्ताव पेस वा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै जसपाले औपचारिक निर्णय गर्छ भन्ने हो । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने तत्काल निर्णय लिनुपर्ने अडानमा थिए ।

यादव र भट्टराईले सुरुदेखि यस्तो अडान राखे पनि ठाकुर र महतोको फरक विचार तथा दृष्टिकोणका कारण जसपाले आइतबार कुनै निर्णय लिन सकेन । फेरि बैठक बस्ने भनिए पनि जसपाले सत्ता समीकरणका विषयमा तत्काल एकमतका साथ धारणा अघि सार्ने सम्भावना कम छ ।

कांग्रेसले पनि आइतबार पदाधिकारी बैठक राखेको थियो । देउवा र पौडेल दुवै अनुपस्थित बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यतालिकाका विषयमा मात्रै छलफल भयो । जसपा अनिर्णीत हुँदा वैकल्पिक सरकार बन्ने सम्भावना रहँदैन । कान्तिपुर दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।