प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने
काठमाडौं, बैशाख ६ । प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भूमिसुधार मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन्।
मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।
मन्त्रिपरिषद्को सिफारिअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्यको घोषणा गर्नेछिन्।
गत फागुन ११ गते पुनःस्थापित प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो। तर यसबीचमा विधेयक पासलगायत कुनै काम संसदले गर्न नसकेपछि सरकारले अधिवेशनै अन्त्यको निर्णय गरेको हो।
आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस हुने भएकाले बर्खे अधिवेशन चाँडै आह्वान हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरे पनि त्यसविरुद्ध मुद्दा परेपछि सर्वाेच्च अदालतले संसद् पनर्स्थापनाको फैसला गरेको हो।


