सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

नारायण न्यौपाने/काठमाडौँ, १८ वैशाख (रासस) : नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

कमाण्ड मुख्यालय स्थापना र सञ्चालनका लागि काम अघि बढिसकेको छ । लामो अध्ययन, अनुसन्धान, गहन छलफल र गृहकार्यपछि सङ्गठनलाई कमाण्ड अवधारणामा अघि बढाउन सेना सफल भएको हो । सेनाको कमाण्ड अवधारणालाई सरकारले गत फागुनमा स्वीकृत गरेको थियो ।

उहाँले भन्नुभयो, “कमाण्ड प्रमुखको जिम्मेवारीसम्बन्धी जङ्गी अड्डाले सम्भावित सूचनासमेत निकालिसकेको छ । कमाण्ड मुख्यालय सञ्चालन गर्ने क्रममा यो पहिलो ठोस कदम हो ।” कमाण्ड अवधारणा शुरुआत वैशाखको पहिलो साताबाटै गरिए पनि आगामी साउनसम्ममा पूर्णरूपमा कार्यान्वयनमा लैजाने योजना रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

सेनाको चेनअफ कमाण्डलाई छिटो/छरितो तुल्याउन र तीन तहको कमाण्डलाई सु–सङ्गत गर्ने मुख्य उद्देश्यले जङगीअड्डाले कमाण्ड अवधारणा अघि बढाएको हो । यस अवधारणा अघि बढेसँगै हालको पृतनाको संरचना क्रमशः खारेज हुनेछ । उपत्यकासहित मुलुकमा हाल सेनाका आठ पृतना छन् । पृतनाको प्रशासनिक संरचनाको प्रभावकारिता अभिवृद्धि गर्न कमाण्डसम्बन्धी संरचना ल्याइएको हो । कमाण्ड अवधारणाले ‘अप्रेशन, टयाक्टिकल र स्टाटेजी’ लाई व्यवस्थित गर्नेछ । कोशी, गण्डकी र कर्णाली नदीका आधारमा उत्तर–दक्षिण भूगोललाई समेटिएका तीन र रणनीतिक महत्व बोकेको उपत्यकालाई बेग्लै उपत्यका कमाण्ड खडा गरिएको छ ।

पूर्वी कमाण्डमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही जिल्ला पर्छ भने उपत्यका कमाण्डमा काठमाडौँ, भक्तपुर र ललितपुर समेटिएको छ । पश्चिम कमाण्डमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्ला समेटिनेछन् भने मध्य कमाण्डअन्तर्गत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही जिल्ला पर्छन् ।

सेनामा निकै अघिदेखिको साङ्गठनिक संरचना कस्तो हुनुपर्छ भनी आन्तरिक बहसको विषय बन्दै आएको कमाण्ड अवधारणाका विषय व्यापक छलफलपछि परिमार्जनसहित आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले बताउनुभयो ।

पूर्वी कमाण्ड हिले वा धनकुटा, उपत्यका कमाण्ड काठमाडौँ, मध्य कमाण्ड पोखरा र पश्चिम कमाण्डको सुर्खेतमा मुख्यालय रहने गरी प्रारम्भिक प्रस्ताव गरिएको छ । नेपाली सेनाका हालका १८ वटा बाहिनीमध्ये कुनैमा पाँच वटासम्म बाहिनी रहने अवस्था हुनेछ । उपरथी दर्जाले नेतृत्व गर्ने कमाण्ड अवधारणामा जाँदा सेनामा विशिष्ट श्रेणीको कुनै पनि दरबन्दी थप हुनेछैन ।

नयाँ आवधारणा अघि बढेसँगै सैनिक मुख्यालयका कतिपय निर्देशनालय र विभागको स्तरोन्नति गरिने बताइएको छ । कमाण्ड संरचनामा प्रवेश गरेसँगै बाहिनी, गण र गुल्मले ट्याक्टिकल, कमाण्डले अप्रेशनल तहको योजना निर्माण, कार्यान्वयन र अनुगमन तथा जङ्गीअड्डाले रणनीति र राज्य तहका विषयमा ध्यान केन्द्रित गर्नेछ । नेपाली सेनासँग भएको स्रोत साधनको सन्तुलित वितरण र व्यवस्थापन हुनेछ ।

कमाण्डसम्बन्धी अवधारणा अघि बढाउँदा सरकारलाई कुनै आर्थिक भार नपर्ने सेनाले जनाएको छ । यद्यपि, समायोजनका क्रममा हुने पुनःसंरचनामा प्रमुख सेनानी र महासेनानीको दरबन्दी भने केही बढ्न सक्ने अनुमान गरिएको छ । धेरै पहिलेदेखि सैनिक व्यक्तिले बौद्धिकरूपमा छलफल गर्दा आवश्यक पर्छ भनेको विषयका रूपमा रहेको कमाण्ड अवधारण सेनाको सङ्गठनलाई युग सुहाउँदो तुल्याउने सन्दर्भमा ऐतिहासिक कदमका रूपमा लिइएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।