अभावका बीच सङ्क्रमितको उपचारमा महाकाली अस्पताल

शेरबहादुर सिंह/महेन्द्रनगर, २२ वैशाख (रासस)ः दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेनद्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका लागि आउने गरेका छन् । भएको जनशक्ति पनि कोरोनाको चपेटामा परेपछि पनि अस्पतालले जेनतेन सङ्क्रमितको उपचारमा भने कमी गरेको छैन ।

“चिकित्सकसहित ३३ जना अस्पतालका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन्”, महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीले भन्नुभयो, “तर पनि यहाँको स्वास्थ्यको टोलीले दिनरात नभनी बिरामीको सेवामा खटिएको छ ।”

उहाँले अस्पतालमा बिरामी राख्ने श्यया र अक्सिजन अभाव हुने गरेको बताउनुभयो । “यहाँ अक्सिजन प्लान्ट सानो छ दैनिक ६÷७ वटा सिलिन्डर मात्रै भर्न भ्याउँछ”, अध्यक्ष जोशीले भन्नुभयो, “अक्सिजन र आकस्मिकका सबै श्यया सङ्क्रमितले भरिएपछि अस्पतालको बाहिर पनि सङ्क्रमित राखेर उपचार गर्नुपरेको छ ।”

अस्पतालका अनुसार दोस्रो चरणको कोरोना कहरमा यहाँ २१ जनाको मृत्यु भइसकको छ । ६५ जना सङ्क्रमित उपचाररत रहेको अस्पतालमा पछिल्लो समय यहाँका व्यवसायी र सहयोगी दाताहरुको पहलमा अक्सिजन आयात हुँदा उपचारमा सहज भएको जोशीको भनाइ छ ।

यहाँ दुई दिनदेखि युवा व्यवसयी दिनेश मल्ल र सुशील श्रेष्ठले अस्पताललाई दैनिक ४० थानभन्दा बढी अक्सिजन सिलिन्डर निःशुल्क रुपमा उपलब्ध गराइरहेका छन् ।

त्यसैगरी, महाकाली अस्पतालका अस्पताल व्यवस्थापक दीपेन्द्रसिंह रावलले बुधबारदेखि दैनिक १५० जनाको कोरोना परीक्षण गर्ने बताउनुभयो । “हिजोअस्तिसम्म दिनमा ८० देखि एक सय जनासम्मको परीक्षण हुँदै आएको थियो ।” रावलले भन्नुभयो, “यहाँ आइसियु भरिएपछि धनगढी, डडेल्धुरा र काठमाडौँसम्म बिरामी रिफर गरिए ।”

उहाँले अस्पतालमा कोरोना परीक्षणका लागि आउने ९० प्रतिशतमा सङ्क्रमण देखिने गरेको बताउनुभयो । “एम्बुलेन्स सञ्चालकहरु पनि बिरामी ओसार्न मानिरहेको अवस्था छैन”, उहाँले भन्नुभयो, “यस्तो महामारीका बेला सबैको हातेमालो हुनु आवश्यक छ ।” यहाँ अस्पतालमा उपचाररत केही बिरामीले अक्सिजन नपाएर पनि मृत्युवरण गर्नु परेको अस्पतालको भनाइ छ ।

अस्पताललाई स्थानीय दुई वटा सप्लार्यसले अक्सिजन दिदैं आएका छन् । “अस्पतालसित र हामीसित भएका सिलिन्डरहरु नेपालगञ्जमा भरेर यहाँ अस्पतालमा दिइरहेका छौँ”, अक्सिजन बिक्रेता भवानी टे«डका सञ्चालक बिमल सिंहले भन्नुभयो, “सङ्क्रमणका बेला धेरै सिलिन्डरहरु निजी घरमा राखिँदा अस्पतालमा समस्या भएको हो ।” उहाँले कोरोना कहरमा धेरैले सिलिन्डरहरु घरघरमा राख्दा अस्पताललाई अक्सिजन पु¥याउन समस्या भएको बताउनुभयो । “नयाँ सिलिन्डर खरीद गरेर ल्याउन अहिले समस्या छ”, सिंहले भन्नुभयो, “धेरैले घरमै लुकाइदिँदा समस्या भयो ।”

अस्पताललाई यहाँको भीमदत्त नगरपालिकाले अक्सिजन र स्वास्थ्य उपकरण खरीदका लागि रु २० लाख र बेदकोट नगरपालिकाले रु १० लाख अक्सिजन खरीदका लागि प्रदान गरेको छ । त्यसका साथै यहाँका विभिन्न सहकारी र अन्य सङ्घ÷संस्थाहरुले पनि अस्पताललाई सामग्री खरीदका लागि आर्थिक सहयोग गरिरहेको अस्पतालले जनाएको छ ।

“अस्पतालमा एन्टिजेनबाट कोरोना परीक्षण गर्न सरकारले किट दिन सकेको छैन”, अस्पतालका अध्यक्ष जोशीले भन्नुभयो, “सङ्क्रमित अधिकांशलाई अक्सिजन दिनु परेको छ ।” यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक सुशील श्रेष्ठ र महेन्द्रनगरमा युवा व्यवसायी दिनेश मल्लले महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठसित पहिलो चरणमा बुधबार ४० थान सिलिन्डर अक्सिजन उपलब्ध गराएको छ । “आजै ४० देखि ५० थान सिलिन्डर भर्नका लागि नेपालगञ्ज पठाउँदैछौँ”, युवा व्यवसायी मल्लले भन्नुभयो, “अक्सिजन आपूर्तिका लागि यहाँका व्यवसायीहरु पनि आबद्ध हुँदैछन् ।” त्यसैगरी, यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव नेपाली सेनाको श्रीदल गुल्मले व्यवस्थापन गरिरहेको छ भने लकडाउन पूर्ण रुपमा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जिल्लाभर परिचालन भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।