दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला रोग प्रतिरोधी क्षमता बढाउन गुर्जोसहित ४५ जडीबुटी निःशुल्क वितरण

काठमाडौँ,नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ ।

गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरु गर्नुभएको हो । धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालासँग सल्लाह लिएर तयार पारिएको हो । सयजनाभन्दा बढी नयाँ भेरियन्टसहितको कोरोना पोजेटिभ भएकालाई यो औषधि मङ्गलबार वितरण गरिएको छ ।

औषधी रोग प्रतिरोधी क्षमता बढाउनाका साथै रुघा, खोकी, ज्वरो, फ्लु, ग्याष्ट्रिक, रक्तचाप, मधुमेहलगायत उपयोग गर्न सकिन्छ । न्यून रक्तचाप हुनेले बिरे नुन मिसाएर यो औषधि सेवन गर्न सकिने आयुर्वेद चिकित्सकको सल्लाह छ । समस्याको गम्भीरताका आधारमा आयुर्वेद चिकित्सकसँग सम्पर्क गरेर पनि यो औषधि सेवन गर्न सकिनेछ ।

औषधिमा गुर्जो, तुलसी, असुरो, ज्वानो, दालचिनी, ल्वाङ, हर्रो, बर्रो, अमला, मरिच, पिपला, सुठो, निम, चिराइतो, जेठीमधु, रुधिलो, तीतेपाती, कालोजिरा, बेसार, जङ्गे हर्रो, लेमनग्रास, अम्बापातलगायत ४५ को मिश्रण रहेको उहाँले जानकारी दिनुभयो । दिनमा तीन पटकसम्म मनतातो पानीमा मिसाएर धुलो औषधि सेवन गर्न सकिने जनाइएको छ । गर्भवती महिला र आठ वर्षमुनिका बालबालिकाकालाई यो औषधि सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

गुर्जो चिया एक लिटर पानीमा एक चम्चा राखेर उमालेर नछानी खान सकिन्छ । धेरै जडीबुटी मिश्रणसँगै मिसाइएका जडीबुटीको नामका साथै सेवन गर्ने विधिका बारेमा जानकारीसहित प्याकेजिङ गरी वितरण शुरु भएको हो ।

गुर्जोको काँडा र चिया निर्माणमा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादव र डा लेखनाथ ढकालको सल्लाह लिइएको अभियानकर्मी राजलवटको भनाइ छ । गुर्जो चिया रोग प्रतिरोधी क्षमता बढाउन चाहने सबैलाई उपलब्ध गराइने छ । धुलो औषधि भने विशेषगरी कोरोना पोजेटिभ भएकालाई नै उपलब्ध गराइनेछ । काठमाडौँ उपत्यकामा २५ वटा केन्द्र बनाएर औषधि र चियाको धुलो वितरण शुरु गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुखसमेत रहनुभएका राजलवटले महामारीका बेला समस्यामा परेका मानिसलाई निःशुल्क औषधि सेवा उपलब्ध गराउन थाल्नुभएको छ । उहाँको यो अभियान गत वर्षदेखि नै जारी छ ।

राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधि र चिया निःशुल्क वितरण गर्दै आउनुभएको छ । यसअघि राजश्व कार्यालय लहानको प्रमुख रहनुभएका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गर्नुभएको हो । यस वर्ष पनि गुर्जोको बिरुवा तयार पारी रोप्नका लागि वितरण गर्ने तयारीसमेत भइरहेकोे पनि अभियानकर्मी राजलवटले सुनाउनुभयो । कोरोनाको महामारी तीव्र भएसँगै गुर्जो र यसबाट परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।

हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उहाँले सुनाउनुभयो । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिकस्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करीब दुई लाखभन्दा बढी मानिसलाई खुवाइएको राजलवट बताउनुहुन्छ । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं फुर्तिलोसमेत बनाउने सेवनकर्ताको अनुभव छ ।

यस्तै महत्वको औषधि भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । गुर्जोसँगै औषधिजन्य जडीबुटी पनि घरघरमा रोपेर आयुर्वेदको प्रवद्र्धन गर्न उहाँको सुझाव छ ।

आयुर्वेदशास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता औषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने आयुर्वेद चिकित्सक आचार्यले बताउनुभयो । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी–निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सराकोर भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ । सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह गुर्जो चिया, तुलसी चिया, सिलाजित, च्यवनप्रास, अश्वगन्ध तेल, अविपत्तिकर चूर्ण लगायतको माग बढिरहेको बताउनुहुन्छ । माग बढेकाले कतिपय औषधिको उत्पादनसमेत बढाइएको उहाँले जानकारी दिनुभयोे।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।