सांसद श्रेष्ठद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण
दमौली,सांसद कृष्णकुमार श्रेष्ठले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच÷पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो ।
दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताउनुभयो । पुरनडिही अस्पतालका डा सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो ।
यो पनि पढ्नुहोस्..
काठमाडौँ, स्पेन सरकारले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री र उपकरण हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता निकायका निर्देशक म्यागडी मटिनेज सोलिमनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री त्रिपाठीले जीवनरक्षा सामग्री प्रदान गरेकामा स्पेन सरकारप्रति आभार प्रकट गर्नुभयो । स्पेनद्वारा आज हस्तान्तरण गरिएका सामग्रीमा १५ थान भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्ट्रेटर, एक लाख ४४ हजार एन्टिजेन टेष्ट किट, एक लाख ४४ हजार एफएफपीटू मास्क र ६० थान सिलिण्डर छन् ।
आजै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र निर्देशक सोलिमनबीच मन्त्रालयमा भेटवार्ता भयो । त्यसक्रममा उहाँहरूबीच नेपाल–स्पेन सम्बन्ध, अन्तर्राष्ट्रिय सहायता, महामारीपछिको आर्थिक पुनरुत्थानबारे विचार आदानप्रदान भएको थियो । कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा स्पेनको ऐक्यबद्धता प्रकट गर्दै निर्देशक सोलिमनले महामारीबाट प्रभावित भएकाहरूको उपचारमा प्राप्त सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
यसैबीच परराष्ट्र मन्त्रालयले क्यानडा सरकारलाई एस्ट्राजेनका खोप उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना क्यानाडेली समकक्षीलाई पत्राचार गर्दै खोपका निम्ति अनुरोध गर्नुभएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राससलाई जानकारी दिनुभयो।


