कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि महानगरपालिकाको सक्रियता

काठमाडौँ,कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि काठमाडौँ महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाडौँमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो ।

शुक्रबारदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० श्ययाको आइसोलेशन सञ्चालनमा आएको छ । आइसोलेशन सञ्चालन गर्न महानगर र अस्पतालबीच गत वैशाख २७ गते सम्झौता भएको थियो । अस्पतालको क्षमता ११८ श्ययाको हो । शुरुआतमा २५ श्ययाको एचडियु र २५ श्ययाको आइसोलेशनबाट सेवा थालिएको हो ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले महामारीमा जनताको जीवनरक्षाका लागि विकासका कामलाई रोकी स्वास्थ्य क्षेत्रमा लगानी बढाइएको बताउनुभयो । अस्पतालले आयुर्वेदतर्फ सात कन्सल्टेन्ट र आधुनिक चिकित्सातर्फ दुई कन्सल्टेन्टसहित १२ आयुर्वेद चिकित्सक, चार मेडिकल अफिसर, २२ नर्सिङ स्टाफ, दुई फिजियो थेरापिस्ट, १५ आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन पाँच र सफाइ तथा सहयोगी कर्मचारी २५ लाई आइसोलेशनका लागि खटाएको छ ।

त्यसैगरी शुक्रबारदेखि नै सामाखुशीमा रहेको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर पनि शुरु गरिएको छ । सेन्टर सञ्चालन गर्न विसं २०७७ कात्तिक १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । महानगरको आर्थिक अनुदानमा शुरु गरिएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । अहिले ८८ श्यया अक्सिजन र ९६ सामान्यबाट शुरु भएको हो । आवश्यकताका आधारमा ९६ श्ययालाई पनि अक्सिजनसहितको बनाउँदै लगिने बताइएको छ ।

महानगरपालिकाले अन्य ११ अस्पतालसँग सम्झौता गरी कोरोनाका बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण प्रदान गरिरहेको छ । महानगरको स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार गत शनिबारसम्म स्वाब सङ्कलनका लागि पाँच केन्द्र बनाएर काम गरिरहेको महानगरपालिकाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० मा पुष्टि हुने गरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । महानगरपालिकाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेका छन् । “कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ”, कुइँकेलले भन्नुभयो ।

एम्बुलेन्सको आवश्यकता पर्ने बिरामीका लागि अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था पनि महानगरपालिकाले नै गर्दै आएको छ । यसका लागि पनि बिरामीले पैसा तिर्नु पर्दैन । सो सेवा महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् ।

कोरोनाका बिरामीले मात्रै होइन अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइनमा सम्पर्क गर्नुपर्ने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।